ad ad

राजनीति


अन्तर्राष्ट्रिय उदाहरण दिँदै पोखरेलले प्रचण्डलाई भने- निकटकै भ्रष्ट रहेछन् भने पनि नछाड्नूस्

अन्तर्राष्ट्रिय उदाहरण दिँदै पोखरेलले प्रचण्डलाई भने- निकटकै भ्रष्ट रहेछन् भने पनि नछाड्नूस्

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८० शनिबार २१:२७, काठमाडौँ

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानलाई नयाँ वर्ग संघर्षको संज्ञा दिएका छन्। 

काठमाडौंमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पोखरेलले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानको प्रशंसा गर्दै त्यसलाई नयाँ वर्ग संघर्षको संज्ञा दिएका हुन्।

‘भ्रष्टाचारविरुद्ध प्रचण्ड र प्रकाशले सुरु गरेको अभियान नयाँ वर्ग संघर्ष हो,’ बैठकमा उनले भने, ‘हाम्रो पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नयाँ ढंगले वर्ग संघर्ष सुरु गरेको छ। यसलाई थप विस्तार गर्नु जरुरी छ।’ 

भ्रष्टाचारविरुद्ध सरकारले सुरु गरेको कामले जनतामा आशा जगाउने र साहस भर्ने काम गरेको पोखरेलले बताए। ‘अहिले सरकारले गरेको कामले जनतामा आशा जगाउने र साहस भर्ने काम गरेको छ,’ उनले भने।

भ्रष्टाचारको निर्मुलीकरण माथिल्लो नेतृत्वबाटै सुरु गर्नुपर्नेमा पनि उनले जोड दिए। ‘एउटा चिनियाँ भनाई छ, भ्रष्टाचार र भर्याङलाई माथिबाटै बडार्नुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध माथिबाटै अभियान सुरु गरेर सरकारले पार्टीभित्र र बाहिर अहिले सकारात्मक तरंग सिर्जना गरेको छ।’
 

उनले आफ्नै पार्टीभित्र पनि भ्रष्ट नेता रहेछन् भने उनीहरुलाई छुट नदिन प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गरे।

‘माओले चीनमा तीनवटा ठूला क्रान्ति गरेपछि ‘क्रान्तिको पहिलो निसाना आफैँलाई बनाउँ’ भनेका थिए,’ पोखरेलले भने, ‘क्युवाका प्रधानमन्त्री फिडेल क्यास्ट्रोले भ्रष्टाचारमा संलग्न मेजर जनरलसहित आफू नजिकका चारजना व्यक्तिलाई मृत्युदण्ड नै दिएका थिए।’

उनले भ्रष्टचारविरुद्ध सरकारले सुरु गरेको अभियान राजनीतिको अपराधिकरण र भ्रष्टाचारमा आधारित जीवनशैलीविरुद्ध पनि लक्षित रहेको पनि बताए। 

अहिलेको निर्वाचन प्रणालीले राजनीतिकर्मीहरुलाई भ्रष्ट र दिग्भ्रमित पारेको भन्दै उनले निर्वाचन प्रणाली नै परिवर्तन गर्नुर्नेमा पनि जोड दिए।

‘हामीले अवलम्वन गरिहेको निर्वाचन प्रणालीले भ्रष्टाचार बढाइरहेको छ,’ पोखरेलले भने, ‘भ्रष्टाचारमुक्त शासन प्रणालीको विकास गर्न प्रगतिशील निर्वाचन प्रणाली अवलम्बन गर्नेवारे पनि हामीले बहस प्रारम्भ गर्नुपर्छ।’

कृषिमा परनिर्भता बढिरहेको अहिलेको अवस्थामा भारत लगायतका मुलुकले खाद्य नीति परिवर्तन गरिहेकोतर्फ ध्यान दिन जरुरी रहेको बताए।

‘भारतले चामल जस्ता बस्तुमा निर्यात प्रतिवन्ध लगाएको सन्दर्भमा हामीले पनि खाद्य आत्मनिर्भरता अभियान सञ्चालन गर्नु अपरिहार्य भएको छ,’ उनले भने।

उनले पूँजीवादी पार्टीले समाजवादी क्रान्ति गर्न नसक्ने भन्दै पार्टी नीतिमा परिवर्तन आवश्यक रहेको बताए।

राजनीतिक पार्टी, विज्ञ र गैरआवसिय नेपालीहरुको प्रतिनिधित्व हुने गरी विकास प्रधिकरण गठन गर्न उनले सरकारलाई आग्रह गरे। 

मुलुकको विकास र समृद्धिको अभियानमा गैरआवासीय नेपालीहरुलाई पनि समावेश गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .