ad ad

राजनीति


माओवादी केन्द्रीय समितिको बैठक आजदेखि, त्यसअघि स्थायी समिति

माओवादी केन्द्रीय समितिको बैठक आजदेखि, त्यसअघि स्थायी समिति

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार ७:१२, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक एक वर्षभन्दा बढी समयपछि आज (बुधबार) बस्दै छ।  

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार केन्द्रीय समितिको बैठक काठमाडौंस्थित प्रज्ञा भवनमा बिहान ११ बजे सुरु गर्ने तयारी छ। 

त्यसअघि बिहान ८ बजे स्थायी कमिटीको बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ। 

पार्टी मुख्यालय (पेरिसडाँडा) मा बस्ने स्थायी समितिको बैठकमा केन्द्रीय समितिको बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल’ गर्नेछ। 

स्थायी समितिको बैठकपछि बिहान ११ बजे सुरु हुने केन्द्रीय समितिको बैठकमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन्। त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

केन्द्रीय समिति बैठकका लागि गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ।

जसअनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेन्डा छन्। 

बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १३ महिनापछि आज बस्न लागेको हो।

यसअघि २०७८ पुसमा भएको महाधिवेशनपछि २०७९ असारमा पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको थियो। जसले पार्टी महासचिवमा देव गुरुङलाई चयन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .