ad ad

राजनीति


कोशीमा एक महिनामै दोस्रो पटक सरकार बनाउन उद्धव थापाको दाबी

सभामुखको राजीनामा गराएर पुर्‍याइयो बहुमत
कोशीमा एक महिनामै दोस्रो पटक सरकार बनाउन उद्धव थापाको दाबी

नेपालखबर
साउन १६, २०८० मंगलबार १६:५९, काठमाडौँ

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट मंगलबार नै सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमसहित ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन्।

साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरिदिएपछि प्रदेश प्रमुखले मंगलबार ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी राख्न आव्हान गरेका थिए।

प्रदेश प्रमुख खापुङको आह्वान अनुसार प्रदेशसभामा आवश्यक बहुमत ४७ पुर्‍याएर थापाले दाबी गरेका हुन्। 

असार २१ गते पनि थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेका थिए।

तर सर्वोच्च अदालतले सभामुखको उक्त कदम संविधानविपरीत भएको ठहर गरेपछि थापा सरकार रद्द भएको थियो। 

तर मंगलबार माओवादीबाट निर्वाचित सभामुख गौतमलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी गरेको हो।

मंगलबार मात्रै काठमाडौंबाट विराटनगर आएर गौतमले उपसभामुख सिर्जना दनुवारसमक्ष सभामुख पदबाट राजीनामा दिएका हुन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ।

गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन्। प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .