सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बुधबार बिहान ११ बजे सुरु गरिने भएको छ।
केन्द्रीय समितिको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
त्यसअघि बुधबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालयमा स्थायी समितिको बैठक बस्ने उनले बताए। उक्त बैठकले केन्द्रीय समितिमा छलफल गर्ने एजेन्डा तय गर्नेलगायत निर्णय गर्नेछ।
त्यसो त सोमबार बसेको पदाधिकारी बैठकले पनि बुधबार सुरु हुने केन्द्रीय समिति बैठकका लागि विभिन्न एजेन्डा तय गरेको छ। जसअनुसार आगामी मंसिरमा विधान सम्मेलन गर्ने, चैतभित्र विशेष महाधिवेशन गर्ने प्रस्ताव छन्।
यस्तै पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन, देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा जानेछ।
केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तथा महासचिव देव गुरुङले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।
Shares

प्रतिक्रिया