नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करीमा आफू दोषी ठहरिए जस्तोसुकै कारबाही भोग्नका लागि तयार भएको बताएका छन्।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूससँग कुराकानी गर्दै पुनले ८ वर्ष पहिलेको पारिवारिक फोटो सार्वजनिक गरेर जनता र शुभचिन्तकमा भ्रम छर्न खोजिएको बताए।
‘८ वर्ष पहिलेको पारिवारिक खालको फोटो राखेर अहिले संगै खाएको जस्तो देखाएको छ। त्यसमा मेरो आपत्ति छ। मैले सार्वजनिक रुपमा पनि बोलेको छु,’ पुनले भने, ‘म आम जनसमुदाय र शुभचिन्तकमा भावनात्मक चोट पुगेको छ। नेताहरूपनि यसरी बेठिक मान्छेसँग संगत गर्दा रहेछन् भन्ने परेको छ। यसमा म माफी चाहन्छु।’
भिडिओ:
आगामी दिनमा कस्ता मान्छेसँग संगत गर्ने भन्ने कुराको पाठ यो प्रकरणबाट आफूलाई मिलेको पनि उनले बताए।
‘आगामी दिनमा हामी कोहीपनि नेतृत्व सुसुचित हुन सजिलो छ। आगामी दिनमा प्राइभेट जीवनमा कस्ता मान्छेसँग संगत गर्ने नगर्ने भन्नेबारेमा राम्रो शिक्षा दिएको छ,’ उनले भने, ‘जुन प्रचार भएको छ, राज्यको कुन निकायले मेरोमाथि छानबिन गर्ने हो गरोस्, म त्यसका लागि तयार छु। दोषी ठहरिएको खण्डमा म जे सजाय भोग्नपनि तयार छु।’
उनले राज्यको जुनसुकै निकायबाट अनुसन्धान भएपनि आफू उभिन तयार रहेको पनि प्रष्ट पारे।
‘चरित्र हत्या गनेभन्दा पनि तथ्यमा पुगेर राज्यको कुनै निकाय, अहिलेका हाम्रा अपराध अनुसन्धान गर्ने निकायले गर्ने भए त्यसले गरोस्, होइन संसदीय समितिबाट प्रभावकारी हुन्छ भने म त्यहाँ उभिन तयार। अझ विश्वासिलो न्यायिक समिति बन्छ भने पनि म तयार छु,’ पुनले भने।
भ्रम दिनेजस्तो काम कसैबाट पनि हुन नहुने भन्दै अनुसन्धान प्रक्रियामा जोडिएको खण्डमा माओवादीकै नेता भनेको कारणले कसैलाई पनि छुट हुन नहुने उनले बताए।
‘हो हो जस्तो गरेर चरित्र हत्या गरेर भ्रम दिनेजस्तो कसैको नहोस्। यसमा प्रत्यक्ष संलग्नता छ भने वा लाभ लिएको छ भने यो माओवादीको नेता भनेर छाडिनुहुँदैन,’ पुनले भने, ‘म प्रष्ट भन्छु, मैले आज पार्टीको बैठकमा उठाएँ, यस्तो कुरा छानबिन होस भनेको छु। अरु पनि तयार हुनुपर्छ भनेँ। प्रधानमन्त्रीले यो अभियान हो, यो रोकिँदैन। पार्टीभित्र वा बाहिर कसैलाई लक्षित गरेर गरिएको होइन।’
Shares

प्रतिक्रिया