सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहेको बताएकी छन्।
इन्टिच्यूट फर इन्टेग्रेटेड डेभलपमेन्ट स्टडिजले गरेको नेपालमा सूचना प्रविधिको बृद्धिसम्बन्धी राष्ट्रिय प्रसार सम्मेलनलाई सम्बोधन गर्दै उनले यसो भनेकी हुन्।
कार्यक्रममा नेपालमा सूचना प्रविधिको समग्र अवस्था र सेवा निर्यातसम्बन्धी प्रतिवेदन सार्वजनक गरिएको थियो।
प्रतिवेदनलाई उद्धृत गर्दै मन्त्री शर्माले सन् २०२२ सम्म १०६ वटा कम्पनी र ६६ हजार पाँच सय ९ जना फ्रिलान्सरले नेपालमै बसेर सूचना प्रविधि सेवा निर्यात गरेको तथ्य सार्वजनिक हुनु महत्वपूर्ण पक्ष भएको बताइन्।
‘यसरी पाँच सय पन्ध्र मिलियन अमेरिकी डलर बराबरको सेवा निर्यात गरी नेपालको कूल गार्हस्थ उत्पादनमा १ दशमलव ४ प्रतिशत योगदान गरेको जुन तथ्य प्राप्त भएको छ। यसबाट विदेशी मुद्रा सञ्चितिमा साढे पाँच प्रतिशत योगदान पुगेको छ’, उनले भनिन्, ‘नेपालका लागि यो निकै सुखद र महत्वपूर्ण जानकारी हो। सूचना प्रविधिको सेवा निर्यात गर्ने जनशक्तिमध्ये ८३.५ प्रतिशत २० देखि २९ वर्ष उमेर समूहका युवाहरु सक्रिय रहेको जुन तथ्य सार्वजनिक भएको छ, नेपालको समग्र विकास र यसमा युवा सहभागिताको दृष्टिले पनि यो निकै महत्वपूर्ण प्रगति हो।’
सरकारले चालु आर्थिक वर्षमा सूचना प्रविधिमा विजनेश प्रोसेस आउट सोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छूट दिने व्यवस्था मिलाएको उनले बताइन्।
Shares

प्रतिक्रिया