ad ad

राजनीति


दोस्रो दिन पनि प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा वार्ता

दोस्रो दिन पनि प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा वार्ता

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार १२:४२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दोस्रो दिन पनि वार्ता भएको छ।

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओली सोमाबर बिहान पनि प्रधानमन्त्रीसँग वार्ताका लागि बालुवाटार पुगेका थिए। उनीहरुबीच करिब एक घण्टा वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ।

दुई नेताहरुबीच सुन तस्करी प्रकरण, कोशी प्रदेशको राजनीतिक जटिलता र प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार बस्न लागेको संवैधानिक परिषद्को बैठकबारे कुरा भएको बताइएको छ।

हरिकृष्ण कार्की अवकासमा जाने भएपछि सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो।

त्यसकै लागि प्रधानमन्त्री प्रचण्डले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाइसकेका छन्। मंगलबारको परिषद् बैठकले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ।

उता कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नियुक्ति बदर भएर राजनीतिक संकट छ। गत असार २१ गते भएको मुख्यमन्त्रीको नियुक्ति सर्वोच्च अदालतबाट रद्द भएसँगै कोशीमा सरकारविहीनताको अवस्था छ।

सर्वोच्चको अदालतको आदेशपछि थापाको नियुक्ति मुख्यमन्त्रीको कार्यालयमा फोटो नराख्ने गरी रद्ध भइसकेको छ।

उता यसअघि असार १५ देखि कामचलाउ बनेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई पनि प्रदेश प्रमुख परशुराम खापुङले कामचलाउको मान्यता दिएका छैनन्।

कोशीमा एमालेले यसअघि नै संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकारमा दाबी गरेको थियो।

तर उता गठबन्धनले सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जुटाएर बहुमतसहित सरकार बनाएको थियो। जुन सरकार २२ दिनमै खारेजीमा परिसकेको छ।

यस्तोमा कोशीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रिझाएर बहुमत जुटाउने प्रयासमा छ।

तर प्रचण्डले राप्रपासँग गरेको छलफलले गठबन्धनको पक्षमा बहुमत जुट्ने देखिएको छैन। यस्तोमा कांग्रेसले सभामुख गौतमको राजीनामा गराएर बहुमत जुटाउन प्रस्ताव गरेको छ। तर माओवादी त्यसमा सहमत भइसकेको छैन। 

आइतबार राप्रपाका नेताहरुसँग छलफल भए पनि उसले कांग्रेस-माओवादी गठबन्धनलाई साथ नदिने बताइसकेको छ। 

कोशीमा मंगलबारसम्म दुई वा दुईभन्दा धेरै दलको सरकार बनाइसक्नुपर्ने छ। यदि प्रदेश प्रमुख खापुङले दिएको समयमा पनि सरकार नबने उपाधारा ३ मा गएर एमालेको सरकार बन्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .