ad ad

राजनीति


माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेकोमा खुसी लागेको छ : विप्लव

‘नारायणकाजी गृहमन्त्री भएको भए हामीलाई प्रतिबन्ध लाग्दैन थियो’
माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेकोमा खुसी लागेको छ : विप्लव

नेपालखबर
साउन ८, २०८० सोमबार १५:२९, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताएका छन्। 

माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुसीको कुरा भएको बताए। 

‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ। खुसी पनि लागेको छ। नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र) को नेतृत्वमा सरकार छ। र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ,’ उनले भने, ‘अरु समाजवादी पार्टीहरू पनि सबै हुनुहुन्छ। र, एउटा लडाईं जस्तो पनि देखिएको छ। यो राम्रो कुरा हो। हामीले भनेका छौं–सरकारले त्यो लडाईं लड्नुपर्छ।’

भ्रष्टाचारविरोधी लडाईंमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी गरे। 

श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत उनले बताए। 

‘सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ। र, हामीले दिएका पनि छौं। यो सही कुरा हो। र, यो स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए सायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भइरहेको छ,’ उनले भने।

महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकीर समेत गरे। 

यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उनको बुझाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .