ad ad

राजनीति


कांग्रेस महामन्त्रीहरुबारे प्रकाश स्‍नेहीको कटाक्ष : विचराहरू चरी जेलैमा

कांग्रेस महामन्त्रीहरुबारे प्रकाश स्‍नेहीको कटाक्ष : विचराहरू चरी जेलैमा

नेपालखबर
साउन ४, २०८० बिहिबार १३:९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले  ११ महिनासम्म बैठक राख्न नसक्ने पार्टीले जनताका मुद्दा सम्बोधन गर्न नसक्ने बताएका छन्। 

सानेपामा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्ने क्रममा उनले आफूहरु टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए। 

‘११ महिनासम्म बैठक राख्न नसक्ने पार्टीले कसरी जनअपेक्षा सम्बोधन गर्छ?’, उनले भने, ‘हामी केन्द्रीय सदस्य कहिले बैठक बस्ला भनेर टुलुटुलु हेरेर कुर्न बाध्य भएका छौँ।’

उनले कांग्रेसभित्रको चरम गुटबन्दीले पार्टी झन् संकटमा पर्ने बताए।‘पार्टीभित्र चरम गुटबन्दी छ। ८ लाख ६६ हजार कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौँ कि अरु जनताबारेमा पनि सोचेका छौँ’, उनले भने,‘अमेरिका बस्ने र दुबईमा बस्ने युवाले हाम्रोबारे सामाजिक सञ्जालमा के कमेन्ट गरेको छ हेरेका छौँ हामीले?’  

उनले २०६३/६३ को दोस्रो जनआन्दोलनमा जन्मिएको बच्च बालिग भए युरोप र अमेरिका जान्छु भन्दा तिनका लागि दलहरुले कुनै योजना ल्याउन नसकेको पनि बताए।

‘नेपाली कांग्रेस ३० वर्षयता सत्तामा छ। बीपीसँग समय थियो, सत्ता थिएन भन्नु हुन्छ महामन्त्रीजीले’, उनले भने, ‘महामन्त्रीले यो बैठकमा कार्ययोजना प्रस्तुत गर्नु भएको छ। तर त्यसमा सामाजिक न्याय र महिला हिंसा किन समेटिएको छैन? दलितलाई पनि बेवास्ता गरिरहेका छौँ अनि कसरी पार्टी जीवन्त हुन्छ।’ 

उनले सम्बोधनका क्रममा कांग्रेसले भ्रष्टाचार भन्नेबित्तिकै मुख थुन्छ, कानमा रुवा हाल्छ भन्ने धारणा जनतामाझ बनेको पनि बताए।

‘जनतामाझ रहेको यस्तो धारणा चिर्न एक साता भ्रष्टाचारविरोधी अभियान चलाउनुपर्छ’, उनले भने, ‘तपाईंहरु काम दिनुस्, हामी २०८४ मा पहिलो मात्रै होइन, कांग्रेसलाई २०१५ को हैसियतामा लैजान्छौँ।’

रसाइलीले अहिले महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई कुनै अधिकार नदिएर विचरा बनाइएको टिप्पणी गरे।

‘महामन्त्रीहरु विचरा बबुरा चरी जेलैमा, सबै अधिकार सभापतिलाई हुने रहेछ’, उनले भने, ‘अनि केही कुरा हुँदैन, त्यही भएर सबै कुरा बाहिर आउँछ। सभापतिले पनि महामन्त्रीलाई सघाउनुपर्छ।’

पार्टीलाई बलियो बनाउन डा. शेखर कोइरालाले नेतृत्वलाई निरन्तर साथ दिइरहेको पनि उनले बताए। 

तर कांग्रेसले जनताका एजेन्डा नै भुलेर रूमल्लिरहेको पनि उनले बताए। 

‘२१ औँ शताब्दीमा मुद्दाले राजनीति गर्ने हो। खै त ५० लाख नेपालीहरुको मुद्दा कांग्रेसले उठाएको?’, उनले भने, ‘हरेक दिन सात सय नेपाली विदेश जान्छन्, सातजना नेपालीको लाश आउँछ, तिनका आमा छोराछोरी रोइरहेका छन्। त्यसको दायित्व कांग्रेसको हो कि होइन?’

उनले अहिले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले कामको कुनै प्रगति देखाउन नसकेको पनि उनले बताए। 

‘संघका मन्त्रीहरुले एक महिना मैले के काम गरेँ भन्नु पर्दैन?’, उनले भने, ‘स्थानीय  तहमा आधाआधीभन्दा नेतृत्व छ तर तिनीहरुको मूल्यांकन कसले गर्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .