हिमाली जिल्ला मनाङका पशुमा लम्पीस्किनको सङ्क्रमण फैलिँदै गएको छ।
जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो। जिल्लाका पशुमा हालसम्म लम्पीस्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए। सुरुमा अन्य पशुलाई देखिएको यो रोग पछिल्लो समय याक र चौरीमा पनि देखिएको छ।
कुसुमका अनुसार ८९ गाई, ९६ गोरुमा लम्की स्किन देखिएको छ। ५१ वटा याक, नाक (झोपा) र चाैँरी पनि लम्पीस्किनबाट संक्रमित भएको उनले बताए।
भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उनले बताए। चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ।
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पीस्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिए।
रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ। पशुमा लम्पीस्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिङ्गाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र सङ्क्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उनले जानकारी दिए।
Shares
प्रतिक्रिया