ad ad

राजनीति


जब केन्द्रीय सदस्य बुढाथोकीले नेताहरुलाई बैठकमै भने : हु आर यु? नन्सेन्स! टुलुटुलु हेरेर बस्ने?

जब केन्द्रीय सदस्य बुढाथोकीले नेताहरुलाई बैठकमै भने : हु आर यु? नन्सेन्स! टुलुटुलु हेरेर बस्ने?

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८० बुधबार १७:५३, काठमाडौँ

नेपाली कांग्रेसका एकजना केन्द्रीय सदस्य केशव बुढाथोकी बुधबार सानेपामा फरक शैलीमा प्रस्तुत भए।

मंगलबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो बोल्ने पालो आएपछि बुढाथोकीले कोशीमा कांग्रेस नेताहरु गाउँ छिर्नै नसक्ने अवस्था आएको कुरा राखे।

उनले राखेको त्यो कुरा थियो २०७९ फागुन १६ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएपछि उत्पन्न जटिल राजनीतिक परिस्थिति।

माझ किरात, वल्लो किरात, पल्लो किरात र लिम्बुवानको भूगोलमा प्रदेश १ को नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लहैलहैमा लागेर कोशी राखिएको भन्दै बुढाथोकीले आक्रोश पोखे।

पहिचानलाई भुलेर कोशी नाम राखिएपछि अहिले कांग्रेस नेताहरु गाउँ छिर्नै नसक्ने अवस्था रहेको कुरा पनि उनले बैठकमा सुनाए। 

‘कोशीमा अहिले कांग्रेस नेताहरु गाउँ छिर्नै नसक्ने अवस्था छ। नामाकरण गर्दा केपी ओलीजीले कोशी प्रदेश राखेपछि हामी पनि त्यही लहैलहैमा कुद्यौँ’, उनले भने, ‘जनताले त्यो कुरालाई स्वीकार गरेका छैनन्। आज कोशी प्रदेशका गाउँमा कांग्रेस पस्नै सकेको छैन। कोही पनि नेता गाउँ जान सकेका छैनन्। यस विषयमा अब हामी के गर्छौँ?’ 

कोशीको समस्याबारे महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको प्रतिवेदनमा कहीँ केही उल्लेख नभएकोमा उनले आपत्ति जनाए। 

‘कोशीमा देखिएको जटिलताका विषयमा पार्टी कहिले र कहाँ बोल्छ? यहाँ हामी बोलेका छौँ?’, उनले भने,  ‘महामन्त्रीजी खै यहाँ प्रतिवेदनमा त्यो कुरा छ? सभापतिजीको के कुरा छ? हामी यतिकै झमेलामा बसिराख्छौँ? कि केही न केही बोल्छौँ।’

उनले कोशी प्रदेश धेरै जातजातिसहितको समावेशी भूगोल भएको बताउँदै नाम राख्दा माझ किरातदेखि अन्य भूगोल र जातिलाई बेवास्ता गरिएको बताए। 

‘हाम्रै झापा पनि समावेशी भएको जिल्ला हो। पूर्वकिरात, माझ किरात जस्ता पहिचान हाम्रो प्रदेशमा छन्’, उनले भने, ‘समावेशी र पहिचानलाई भुल्दा कांग्रेसको काम पनि छैन, भोट पनि पाउँदैन भन्ने भएको छ। यसलाई गम्भीरतापूर्वक लिनुस्।’

उनले आफ्नो जिल्लाको कांग्रेसको विकृतिबारे बोल्दै केन्द्रीय सदस्यका सातनजा छोराछोरी र पिएलाई तरुण दलको नेता बनाइएको पनि खुलाए। 

उनी झापा कांग्रेसको प्रसंग ल्याउँदा महामन्त्री शर्माप्रति खनिए। नेता कृष्ण सिटौलानिकट मानिने बुढाथोकीले जिल्ला कांग्रेस लथालिङ्ग हुँदा पनि शर्मा रमिते बनेको बताए। 

‘हाम्रो जिल्लामा सयजनाको जिल्ला कमिटी बनाएका छन्। ५३ जना त सल्लाहकार नै राखेका छन्। विधान एकातिर छ नेताको मनोमानी अर्कातिर चलेको छ’, उनले बैठक हलको मञ्चमा बसेका महामन्त्री शर्मातिर लक्षित गर्दै भने, ‘तपाईं हाम्रो जिल्लाको नेता हो। तपाईं महामन्त्री के हेरेर बसेको हो? यस्तो अनैतिक हुँदा पनि चुप्पो लागेर बस्ने? यो तरिका हो संगठन बनाउने?’

उनले झापामा सयजनाको कमिटी जिल्लाले बनाउँदा केन्द्रमा सभापति शेरबहादुर देउवालेले ४ सय जनाको बनाए भयो नि! भनेर कटाक्ष गरे। झापाको समस्याप्रति शर्मामाथि खनिएका बुढाथोकीले अन्तिममा भने, ‘हु आर यु? के गर्दै हुनुहुन्छ तपाईंहरु? नन्सेन्स!’

बुढाथोकीले आक्रोश पोखिरहँदा मञ्चामा रहेका महामन्त्री शर्मा भने मुसुमुसु हाँसिरहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .