नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको दोस्रो दिन नेताहरुको आक्रोशको केन्द्र महामन्त्रीद्वय गगनकुमार थापा विश्वप्रकाश शर्मा भएका छन्।
बुधबार बसेको दोस्रो दिनको बैठकमा बोलेका ४८ जनाले केन्द्रीय सदस्यमध्ये धेरैले महामन्त्रीद्वयमाथि आफ्नो आक्रोश पोखेका थिए।
उनीहरुले महामन्त्रीद्वयको भूमिका चित्त बुझ्दो नभएको बताउँदै उनीहरु गुट बैठक, मिडिया र सामाजिक सञ्जालमा रमाएर बसिरहेको टिप्पणी गरेका थिए।
बैठकमा बोल्दै नेता रामजनम चौधरीले अन्तरवार्ता दिने महामन्त्रीहरूले कार्यकर्तालाई निराश बनाउने काम गरेको बताए। उनले महामन्त्रीहरूले कार्यकर्ताको हौसला बढाउने गरी बोल्नुपर्ने भन्दै पार्टी हितबारे सोच्न आग्रह गरे।
बुधबारको बैठकमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले दुवै महामन्त्री पार्टी संगठनको काममा भन्दा मिडिया केन्द्रित भएर आत्मरतिमा रमाइरहेको भन्दै आक्रोश व्यक्त गरे।
'महामन्त्रीद्वयको भूमिका के हो? उहाँहरु दुवैजना मिडिया केन्द्रित भए रमाउनु भएको छ। ट्विटर र फेसबुकका मात्रै व्यस्त हुनुहुन्छ', रिजालले बैठकमा भने, 'उहाँहरु आत्मकेन्द्रित प्रचारमा रमाएर बस्नु भयो, आफ्नो भूमिकालाई गौण बनाउनु भयो।'
अर्का केन्द्रीय सदस्य केशव बुढाथोकीले पनि बैठकमा बोल्ने क्रममा खास गरी एकजना महामन्त्री शर्मामाथि आक्रोश पोखे।
उनले पार्टीमा पुरानै गुटको रोग मौलाएको भन्दै नेता डा. शेखर कोइरालाहरुलाई उनीहरुको बैठक होटलमा नभएर पार्टी कार्यालयमै गर्न सुझाव दिए।
'शेखर कोइरालाहरुलाई बैठकका लागि यहीँ ठाउँ दिऊँ', उनले भने, 'बाहिर होटल होटलमा बैठक गरेर कार्यकर्तामाझ एकदमै गलत सन्देश गयो।'
उनले महामन्त्रीहरू नै गुट भेलामा गएको भन्दै आपत्ति जनाए। खासगरी शेखर समूहमा रहेका गगन थापा उक्त समूहको बैठकमा सहभागी हुने गरेका छन्।
'महामन्त्रीहरू गुट भेलामा जानु भएन। यदि यस्तै गतिविधि गर्ने हो भने हामी दुवै महामन्त्रीलाई बहिष्कार गर्छौँ', बुढाथोकीले भने, 'महामन्त्रीहरूको भूमिका चित्त बुझ्दो हुँदै भएन।'
उनले बैठकमा कुरा राख्दै पार्टीका शीर्ष नेताहरु नै गुटबन्दी र अलग अलग बैठकमा लाग्दा नराम्रो सन्देश गएको गुनासो गरेका छन्।
'पार्टीमा गुटगत बैठक हुनुभएन। नेताहरूले छुट्टाछुट्टै बैठक गर्न थाल्नु भयो भने तलका कार्यकर्ता पनि विभाजित हुन्छन्', उनले भने, 'चुनावको सम्मुखमा पार्टीका पदाधिकारीले नै गुटगत बैठक गर्ने कुरा राम्रो भएन। पार्टीलाई मिलाएर जाने कुरामा पदाधिकारी जिम्मेवार हुनुपर्यो।'
बैठकमा बुढाथोकीले शर्माको भूमिकालाई लिएर पनि प्रश्न उठाएका छन्। विश्वप्रकाशले गृहजिल्ला झापामा नेता कार्यकर्ता मिलाउन नसक्दा कांग्रेसले स्थानीय निर्वाचनमा क्षति ब्यहोरेको पनि उनले बताए। बाँडिसकेको टिकट पनि शर्माले खोसेको भन्दै बुढाथोकीले गुनासो गरे।
'महामन्त्री विश्वप्रकाश शर्माजीले जिल्ला (झापा) मिलाउनुपर्छ। हामीले टिकट (स्थानीय तह निर्वाचनको) दिएको पनि खोसिदिनु भयो', उनले भने, 'उहाँलाई हामीले हिरो मानेको हो। तर उहाँका कारण झापामा पार्टीमा द्वन्द्व छ।'
बैठकमा बोल्दै नेता प्रकाशमान सिंहले पनि पार्टी नेतृत्व र सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए।
उनले जनतालाई असन्तोष हुने काम सरकारले गर्न नहुने बताए। स्थानीय तह निर्वाचनमा पनि चर्को अन्तर्घात भएको भन्दै उनले जनताको घरमा जाने बेला अर्को समस्या आइलागेको बताए।
'कांग्रेसले कांग्रेसकै घर जाने अवस्था आयो', उनले भने, 'स्थानीय चुनावमा धेरै अन्तर्घात भयो। त्यसैले अब जनताको घर जाने बेला कांग्रेसले कांग्रेसलाई फकाउन कांग्रेसकै घर जाने अवस्था छ।'
बैठकमा सहभागी अन्य नेताहरुले महामन्त्रीद्वय र शेरबहादुर देउवा नेतृत्वको सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए।
धेरैजसो नेताले पार्टी नेतृत्व र सरकारको चर्को आलोचना गरेपछि सभापति देउवा पनि आक्रोशित भएका थिए।
उनले आफूलाई धेरै नजिस्क्याउन भन्दै परिआए कांग्रेसको विधान नै संशोधन गरिदिएर तेस्रो पटक सभापति बनिदिने चेतावनी बैठकमा दिए।
Shares

प्रतिक्रिया