नेपाली कांग्रेसको दुई दिनदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले आफ्ना भनाइ राख्ने क्रम जारी छ।
बुधबार सानेपामा बसिरहेको बैठकमा झापास्थित कांग्रेसका केन्द्रीय सदस्य केशव बुढाथोकीले आफ्ना भनाइ राखेका छन्।
उनले बैठकमा कुरा राख्दै पार्टीका शीर्ष नेताहरु नै गुटबन्दी र अलग अलग बैठकमा लाग्दा नराम्रो सन्देश गएको गुनासो गरेका छन्।
'पार्टीमा गुटगत बैठक हुनुभएन। नेताहरूले छुट्टाछुट्टै बैठक गर्न थाल्नु भयो भने तलका कार्यकर्ता पनि विभाजित हुन्छन्', उनले भने, 'चुनावको सम्मुखमा पार्टीका पदाधिकारीले नै गुटगत बैठक गर्ने कुरा राम्रो भएन। पार्टीलाई मिलाएर जाने कुरामा पदाधिकारी जिम्मेवार हुनुपर्यो।'
बैठकमा कुरा राख्ने क्रममा बुढाथोकीले एकजना महामन्त्री विश्वप्रकाश शर्माको भूमिकालाई लिएर पनि प्रश्न उठाएका छन्।
विश्वप्रकाशले गृहजिल्ला झापामा नेता कार्यकर्ता मिलाउन नसक्दा कांग्रेसले स्थानीय निर्वाचनमा क्षति ब्यहोरेको पनि उनले बताए। बाँडिसकेको टिकट पनि शर्माले खोसेको भन्दै बुढाथोकीले गुनासो गरे।
'महामन्त्री विश्वप्रकाश शर्माजीले जिल्ला (झापा) मिलाउनुपर्छ। हामीले टिकट (स्थानीय तह निर्वाचनको) दिएको पनि खोसिदिनु भयो', उनले भने, 'उहाँलाई हामीले हिरो मानेको हो। तर उहाँका कारण झापामा पार्टीमा द्वन्द्व छ।'
बुढाथोकीले महामन्त्री शर्माले पहिले झापाको विवादलाई मिलाएर कांग्रेसका नेता कार्यकर्तालाई एक बनाएर लैजानुपर्ने पनि कुरा बैठकमा राखेका छन्।
Shares

प्रतिक्रिया