राजनीति


आरजुले फेरि भनिन् : नक्कली शरणार्थी प्रकरणमा म संलग्न छैन, अडिओ पनि ‘फेक’ हो

आरजुले फेरि भनिन् : नक्कली शरणार्थी प्रकरणमा म संलग्न छैन, अडिओ पनि ‘फेक’ हो

फाइल तस्बिर


रासस
असार २५, २०८० सोमबार १५:४४, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडिओ झुटो भएको दाबी गरेकी छन्। 

उक्त अडिओको अनुसन्धान गर्न प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि उक्त कुरा प्रमाणित भएको उनले जिकिर गरेकी छन्। 

उक्त अडिओ संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए। त्यो आवाज हाल अनुसन्धानमा रहेर केन्द्रीय कारागार सुन्धारामा थुनिएका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  

उक्त अडिओ छानविन गर्न कांग्रेस सांसद् पनि रहेकी राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्। 

आफूलाई जोडेर ‘फेक अडिओ’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भन्दै त्यो कसले बनाएको र सामाजिक सञ्जालमा कसले राखेको अनुसन्धान गरी दोषीमाथि कारबाही माग्दै उनले गत वैशाख २७ मा उजुरी दिएकी थिइन्। 

त्यही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले उक्त आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको जानकारी आइतबार गराएको थियो।

त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडिओ टिकटकमा कसले पहिलो पटक राखेकोबारे टिकटक सिङ्गापुरसँग जानकारी मागिएको प्रहरीले जनाएको छ। तर उक्त जानकारी प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए। 

थुनमा रहेका अभियुक्त शर्माले गत वैशाख ४ गते नेपाल प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ। 

तर आरजु राणाको नाम लिइएको अडिओ उक्त बयानपछि मात्रै सार्वजनिक भएको थियो। त्यसपछि राणाले अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएको बताइन्। 

उक्त निवेदनबारेको अनुसन्धानमा सीआईबीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिएअनुसार आफूलाई अनुकूल हुनेगरी मात्रै नाम लिएको तर डा. राणालाई आफूले नचिनेको र यो काण्डमा उनको सम्बन्धबारे थाहा नभएको बताएका थिए।  

अभियुक्त सन्देश शर्माले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा पैसा लिएका मानिसका कारण आफू समस्यामा परेकाले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आरजु तथा बालकृष्ण खाँड र मञ्जु खाँडकोसमेत नाम लिएको बयान दिएका थिउ।

उनले आफूले रकम बुझाएको हो भन्नु भनेअनुसार नै उनीहरुको नाम लिएको बताए पनि आफूहरुले यस प्रकरणमा आरजु र मञ्जुलाईलाई नचिन्ने बयान दिएका थिए।  

प्रहरी अनुसन्धानबाट उक्त आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनबारे केही थाहा नभएको भन्दै सांसद राणाले उक्त अडिओ नै बद्नियतपूर्ण यो मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भनेकी छन्। 

‘पहिले नै ती व्यक्तिले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा आरजुलाई नचिनेको भनेका छन्’, राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उनले भनेकी छन्, ‘नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्ट बाहिर आइसकेकाले यो अडिओ जसले बनाएको वा सामाजिक सञ्जालमा राखे पनि मलाई विवादमा ल्याउन रचिएको हो, मेरो संलग्नता छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .