ad ad

राजनीति


सभामुख घिमिरेले भने : विवाद समाधान नभएसम्म संसद् अघि बढ्न सक्दैन

सभामुख घिमिरेले भने : विवाद समाधान नभएसम्म संसद् अघि बढ्न सक्दैन

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८० शनिबार १९:२४, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उनले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताएका हुन्। 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भुमिका आफूले निभाइरहेको बताए। 

‘सभामुखलाई सबैले आफ्नो पक्षमा ल्याउन खोज्छन्। सभामुखको भूमिका प्रधानमन्त्रीलाई बोल्न दिनेतर्फ भए चल्थ्यो। सत्ता पक्षले टेर्दै नटेर्ने अनि हामीले उसका कुरा सुनेको भरमा सदन चलाउन दिने भनेको कसैको इच्छाअनुसार नियन्त्रणमा चल्न दिए जस्तै हो,’ सभामुख घिमिरेले भने, ‘यस्तो पनि सभामुखले गर्न हुन्छ र? अर्कोले भन्छ। त्यसैले यो के हो भने खेलाडीहरुले मेरो पक्षमा एम्पायरले निर्णय दिनुपर्‍यो भनेर आग्रह गरेजस्तो हो। त्यस्तो हुँदैन, इस्युमा विवाद भइसकेपछि त्यसलाई टुंग्याउन मेरो निष्पक्ष भूमिका हुन्छ।’

उनले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्षीहरुसँग वार्ता पहल गरी समस्या समाधान गर्दै संसद् सुचारु गर्न आग्रह गरेको बताए। 

प्रमुख प्रतिपक्षी र नेताहरुलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारण के हो भनेर प्रश्न गरेको पनि बताए। 

जवाफमा प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीले सरकारले यो विषयलाई गम्भीरताका साथ नलिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताएको पनि जानकारी दिए। 

‘त्यो भूमिकाका लागि मैले सक्दो कोशिस गरिरहेको छु। अब यो इस्यू उठेर नमिलेपछि टुंग्याउने विधि, बाटो र तरिकाबाट समाधान गर्नुपर्ने काममा जाऊँ भन्ने गरी समझदारी हुनुपर्छ,’ उनले भने, ‘समझदारी गर्न नेता, पार्टीहरु पार्टीबीच यी कुरा गराउन राजनीतिक पार्टीले नै जिम्मेवारी निर्वाह गर्नेगरी सोच्नुपर्छ। दोस्रो कुरा मैले सहजीकरण, मध्यस्थताका रुपबाट उहाँहरुसँग छलफल गरौँ भनेर कोशिसमा छु।’

उनले प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री दाहाललाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसदको गतिरोध हट्ने विश्वासमा आफू रहेको पनि बताए।

उनले सभामुखको भूमिका संसदमा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने स्थान संसद बन्न नदिने बताए।

उनले ‘इस्यु’ (मुद्दा) उठिसकेपछि त्यसको समाधान गरेर नै संसदका काम अघि बढाउन आफूले चाहेको र सोही अनुसार पहल गरिरहेको उल्लेख गरे।

‘मैले दलका नेताहरुलाई सम्पर्क गरिरहेको छु, प्रधानमन्त्रीसँग सम्पर्क गरेर तपाईँले प्रतिपक्षी नेताहरुलाई बोलाउनुस्, तर पहल तपाईले गर्नुपर्ने देखेँ मैले भनेर उहाँलाई भनेको छु, प्रमुख प्रतिपक्षी नेतालाई पनि अब तपाईँ बोलाइएको ठाउँमा जान्न भन्ने, नजाने, बसेर समस्याको समाधान खोज्ने भन्दा पनि राजीनामा माग गर्नुहुन्छ के हो? भनेर कुरा गरेको छु,’ सभामुख घिमिरेले भने, ‘उहाँले सत्ताले यसको गम्भीरता नै लिएको छैन, गम्भीरता नलिएपछि हामी त नबोलाएपछि यसविरुद्ध लाग्ने हाम्रो कर्तव्य हो, हामी लाग्छौँ भन्ने उहाँको कुरा छ, यो कुरा प्रधानमन्त्रीलाई सुनाइदिएको छु।’

प्रधानमन्त्री दाहालले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले कहिले दिल्ली र कहिले नेपालकै दलहरुसँग धाएको भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै आएका छन्।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्नै नसक्ने बताउँदै संसद अवरोध गर्दा संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरिरहेको छ।

यता, सत्ता गठबन्धन भने प्रधानमन्त्रीको अभिव्यक्ति गलत नभएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेर बसेको छ भने प्रतिपक्ष दलहरु प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभएको भन्दै विरोध गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .