राजनीति


बजेट त पास गरौंला, वर्षभरीका काम सदाझैं पूरा नहुने होलान : सांसद मिश्र

बजेट त पास गरौंला, वर्षभरीका काम सदाझैं पूरा नहुने होलान : सांसद मिश्र

नेपालखबर
असार १८, २०८० सोमबार १७:८, काठमाडौँ

राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले देशमुखि बजेट बनाउन आवश्यक रहेको बताएका छन्। बजेट पहुँचवालामुखि भएको भन्दै उनले सो आवश्यक्ता औंल्याएका हुन्। 

सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटको कार्यान्वयन र सदूपयोग गर्नेतर्फ विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराए। 

‘देशमुखि बजेट बनाउनतिर ध्यान दिन आवश्यक छ। मत समर्थनमै छु। मेरो तर्फबाट त बजेट पास हुन्छ। राष्ट्रियसभाले बजेट पास गर्छ नै। नगरेपनि प्रतिनिधिसभाले बजेट पास गरिसकेको छ। जति पास गरेपनि वर्षभरी गर्ने भनिएका काम सदाझैं यस वर्ष पनि पूरा नहोला नै,’ उनले भने, ‘तसर्थ, विनियोजन बजेटको समयमा कार्यान्वयन गर्ने, भए/नभएको रेखदेख र नियन्त्रण गर्ने, कार्यान्वयन गर्ने व्यक्ति र संस्थालाई पुरस्कार र दण्डको व्यवस्था गर्न आवश्यक छ। तसर्थ, विनियोजन बजेटको कसरी सदुपयोग हुन्छ भन्नेतिर मन्त्रालय, विभाग, जिल्लाका कार्यालयहरु समेत, प्रदेश र गाउँपालिकका कार्यालयहरु समेत उचित निर्देशन जाओस्।’

संघीय सरकारले बजेटको सदुपयोग गर्नका लागि प्रदेश र स्थानीय तहलाई पनि आवश्यक्ता अनुसार निर्देशन दिनुपर्ने सांसद मिश्रको भनाई थियो। उनले बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र नगर्ने निकायलाई दण्डको आवश्यक व्यवस्था गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए। 

सांसद मिश्रले सहरी विकास मन्त्रालयको आवश्यक्ता नरहेको जिकीर समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad