सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।
सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरु रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका हुन्।
प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरु पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकीर गर्दै उनले त्यसलाई पनि छायामा पर्न दिन नहुने बताए।
सांसद राणाले ललिता निवास प्रकरणको छानबिनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरुलाई पनि सरकारले अघि बढाउनुपर्ने बताए।
उनले भने, ‘त्यो लडाकुको विषयमा पनि समस्याहरु अहिले देखिएको छ। त्यो फाइल पनि खोल्न म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह पनि गर्न चाहन्छु। ललिता निवासको फाइल खोलिएको छ। त्यो ठिकै छ। कारबाही हुनुपर्छ’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीका आफ्नै पार्टीका मान्छेहरुको नाम आएको छ। त्यस्ता मुद्दाहरु पनि छायामा नपरोस् भन्ने मेरो आग्रह छ। यो हामी सबै नेपालीको माग हो।’
Shares

प्रतिक्रिया