ad ad

राजनीति


रवि लामिछानेको दाबी- ०८४ मा पहिलो पार्टी बन्न रास्वपालाई कसैले रोक्न सक्दैन

रवि लामिछानेको दाबी- ०८४ मा पहिलो पार्टी बन्न रास्वपालाई कसैले रोक्न सक्दैन

नेपालखबर
असार ९, २०८० शनिबार १६:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन्। 

‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिईरहेको पद र जिम्मेवारी उसलाई दिएर म ऊसको सहयोगी हुन सक्छु कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन,’ सभापति लामिछानेले भने, ‘तर तपाई हामीहरुले असल मान्छेका लागि बस्ने ठाउँ ओगटेर बसिदियौं भने निष्ठा र इमान्दारिताका साथ काम गरि दिएनौं भने अन्तमा हामी त चुनावमै जानुपर्ने हुन्छ।’

सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए। 

‘म त पहिल्यै देखि बसेको हुँ भनेर जनताले पत्याउनेवाला छैन। जनता त त्यस्तो मानिस खोजिरहेका छन जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस्,’ लामिछानेले भने, ‘त्यस अर्थमा अहिले जति पनि साथीहरुले जिम्मेवारी लिइरहनु भएको छ। मेरो विनम्रतापूर्वक अनुरोध छ–त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाका लागि म त फलानो पार्टीको यो सदस्य हो नि।’

‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने उनको तर्क थियो। 

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकीर समेत गरे।

‘लडे आफ्नै गोडामा अल्झिएर लडने हो’ भन्दै उनले त्यस्तो हुन नदिनेगरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्। 

सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए। 

‘पद यो हो नि भनेर एउटा भिजिटिङ कार्डमा गज्जव पद लेख्ने लोभमा पार्टीको पद ओगट्ने होइन कि साँच्चै नै त्यो पदको गरिमा बढाउनका निमित्त मुलुकको परिवर्तनको निमित्त यो अभियान सुरु भएको छ। म त्यो अभियानको एउटा सिपाई हुँ,’ उनले भने, ‘म सिपाई भएर काम गर्न सक्छु, पद मेरो लागि ठूलो कुरा होइन। पदमा त्यही आउँछ, जो जान्दछ। जान्नेलाई छान्ने भन्नु भयो भने बस पुगिहाल्छ। मैले बारम्बार भन्ने गरेको छु साथीहरुलाई लेखेर पनि राख्नुस है ठूलो अक्षरमा बिर्सेला भनेर हिजो अस्ती पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं।’

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सचेत गराए। इमानमा रहेका दिनसम्म मात्रै नेताहरुको बचाउमा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन। असाध्यै धेरै गालीगलौैज गर्छन भनेर आरोप लागेको छ। अब त्यो आरोप खपेर बस्न मिल्दैन। एउटा राजनीतिक दलका रुपमा समर्थकहरुले जे मन लाग्यो, त्यही भनिरहँदाखेरी त्यो दलको नेताहरुलाई त्यसको असर पर्छ,,’ उनले भने, ‘यो माया गर्नुहुने, समर्थन गर्नुहुने तपाई साथीहरुका अगाडि नभने मैले कसका अगाडि भन्ने? मैले तपाईहरुलाई यति बिन्ती नगरे कसलाई गर्ने?’

सभ्य र शिष्ट ढंगले विपक्षहरुको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटकपटक दोहो¥याएका छन्।

‘पार्टी सभापतिको हैसियतले मैले फेरी पनि तपाईहरुलाई भन्न चाहन्छु–आएका गाली, आलोचनाहरुलाई त्यो भन्दा तल गएर गाली गर्नु हुँदैन। हो, आफ्नो नेतालाई बचाउनु पर्छ। सबैले आफ्नो नेतालाई बचाउँछन्। आफ्नो नेता इमानमा रहेका दिनसम्म बचाउने हो। इमान छोडेको दिन कसैले बचाउनु पर्दैन। म यो पनि तपाईहरुलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनु पर्छ,’ उनले भने, ‘मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाई दिनु भयो भने ओहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन। पहिला त कस्तो थिए। अहिले त कति राम्रा भएछन? आलोचना त गर्छन, सुन्छन। तर कति सभ्य र शिष्ट ढंगले गर्छन भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनु पर्नेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .