धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वाचा पूरा नगरेको भन्दै आफूलाई ‘गफाडी’को संज्ञा दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जवाफ दिएका छन्।
श्रम–संस्कृति पदमार्ग निर्माण गर्छु भनेर काम नगरेको भनी मेयर साम्पाङले बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीको आलोचना गरेका हुन्।
साम्पाङले लेखेका छन्, ‘सुदन किराँती पनि गफाडी रैछन्, श्रम-संस्कृति पदमार्ग निर्माणको वाचा गरेका थिए, पुराएनन्। बोलेको पूरा गर्नु है। बिरुवा रोप्नचाहिँ आउँदा हुन्छ। वेलकम छ। बधाई छ, जे होस्। जय पितापुर्खा।’
यसमा मन्त्री किराँतीले भने बडो भद्र जवाफ दिएका छन्।
उनले लेखेका छन्, ‘मेयर साब नमस्कार, फुस्रेबाट साँगुरी भन्ज्याङ–भेडेटार पदमार्ग निर्माणको लागि रु ५० लाख विनियोजन भएको जानकारी गराउँदछु। हुन त हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौँ। सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला।’
यस क्रममा उनले उक्त पदमार्गको नाम ‘तराई मधेश एकता पदमार्ग’ राख्न प्रस्ताव पनि गरेका छन्।
मन्त्री किराँतीले भनेका छन्, ‘अझ मलाई त यो पदमार्गको नाम तराई-मधेश एकता पदमार्ग राख्न मन थियो, किनकि पुर्खाले जीवनको लागि नुनतेल ढाकर बोक्दा पसिना बगाएका थिए।’
Shares
प्रतिक्रिया