ad ad

कारोबार


९० प्रतिशत किसानले कुखुरा पाल्न छाडे, देशभर मासु अभाव भयो - पोल्ट्री महासंघ

९० प्रतिशत किसानले कुखुरा पाल्न छाडे, देशभर मासु अभाव भयो - पोल्ट्री महासंघ

रासस
असार ७, २०८० बिहिबार १३:३५, काठमाडौँ

नेपाल पोल्ट्री महासंघले देशभर ब्रोइलर कुखुराको मासु अभाव भएको बताएको छ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेको बताए। उनका अनुसार किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो।

बैंकले किसानलाई ऋण नदिँदा किसानले चल्ला र दाना किनेर कुखुरा पाल्न सक्ने अवस्था नरहेको उपाध्यक्ष पोखरेल बताए। उनले भने, 'किसानले गरेको उत्पादनको मूल्य राम्रो छ, तर किसानले चल्ला हाल्नसक्ने अवस्था छैन। तीन चार वर्ष घाटा खाएका किसान फेरि घाटामा परिन्छ कि भन्ने डरले कुखुरा पाल्न सकेका छैनन्।'

बजारको माग अनुसारको उत्पादन नहुँदा देशभर कुखुराको मासुको अभाव भएको उनले बताए। 'ह्चारी र दाना उद्योगबाट किसानले एक दुई महिनाका लागि उद्यारो पाउने गर्थ्यो,' उनले भने, 'अहिले नगद बिना कारोबार हुनै छाड्यो, त्यस कारण पनि किसानले कुखुरा पाल्न सक्ने अवस्था छैन।'

अहिले व्यावसायिक रुपमा स्थापना गरिएको ठूला फर्मले मात्र कुखुरा पालेको उपाध्यक्ष पोखरेल बताउँछन्।

उनले सरकारले किसानको मनोवल उच्च बनाउने योजना र कार्यक्रम ल्याउन नसके पोल्ट्री क्षेत्र थप धरासायी बन्ने बताए।

यसैगरी आर्थिक मन्दिलगायतका कारणले नेपालमा कुखुराको मासु उत्पादन र खपत दुवै घटेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालको भनाइ छ।

दैनिक १० लाख केजी कुखुराको मासु उत्पादन हुने गरेको नेपालमा अहिले घटेर दैनिक ६ लाख केजी मात्र उत्पादन हुने गरेको दाबी उनी गर्छन्। नेपालमा मासुको उत्पादनसँगै खपत पनि घटेको उनले बताए।

अहिले कुखुरा पाल्ने ३० हजार किसानमध्ये आधा घटेको जानकारी उनले दिए।

'साना/ठूला सबै फर्म धरासायी छन्, यो अवस्थामा कहिलेसम्म धानिने हो,' उनले भने। नेपाल कुखुरा बजार व्यवसायी संघका अध्यक्ष कृष्णहरि लोहनीले देशभर मासु अभाव रहेको उनको भनाइ छ। चालीस दिनमा दुई किलोदेखि दुई किलो पाँच सय ग्रामसम्म हुने कुखुरा अहिले एक किलो पाँच सय ग्राम मात्र हुने गरेको भनाइ उनले राखे। '

गर्मीका कारण पनि यो समयमा कुखुराको वजन राम्रो हुँदैन। वजन राम्रो नहुँदा किसानलाई घाटापर्छ। त्यसकारण पनि किसानले कुखुरा पालेका छैनन्,' उनले भने।

नेपालमा भारतबाट पनि लुकाइछुपाइ कुखुरा ल्याउने गरिएको छ। अहिले सिमा क्षेत्रमा कडाइ गरिएका कारण पनि त्यसरी ल्याइने कुखुरा नआएको लोहनीको भनाइ छ।

अहिले ब्रोइलर कुखुराको किसानको खोर मूल्य रु दुई सय ८० देखि तीन सय रहेको छ। बजारमा उपभोक्ताले किन्दा चार सय ८० देखि पाँच सयसम्म पर्ने गरेको छ। काठमाडौँ, पोखरालगायतका बजारमा ब्रोइलर कुखुरा खपत गर्ने चितवनलाई आफ्नै जिल्लाको उत्पादनले पुगिरहेको छैन। यहाँ पनि अन्य जिल्लाबाट कुखुरा ल्याउन थालिएको छ। भरतपुरको सिनर्जी मिट सप्लायर्सका सञ्चालक सुमन जोशी एक महिनादेखि कुखुराको अभवा भए पनि पछिल्लो एक सातदेखि झन् धेरै अभाव भएको बताए।

ब्रोइलर कुखुरा नपाउँदा आफूले बिहान पसल खोलेर बेलुका बन्द गर्नुपरेको उनको भनाइ छ। 'दैनिक रुपमा ग्राहक फर्किनुपरेको छ,' उनले भने, 'होटल रेष्टुराँमा पनि मासु पुर्‍याउन धौधौ भइरहेको छ।' उहाँले गर्मीको समयमा उत्पादन कम, कुखुराको वजन कम र मृत्युदर बढी हुने गरेको जानकारी दिए।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी अण्डा अभाव नभए पनि उत्पादनमा भने कमी आएको बताउँछन्। उनले लेयर्स कुखुरा पाल्ने धेरै किसान विस्थापित भएको जनाउँदै राज्यले ठोस नीति ल्याउन नसके अझै धेरै किसानका व्यवसाय बन्द हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .