राजनीति


एमालेका आधासरो कार्यकर्ताले किन गरेनन् सदस्यता नवीकरण?

एमालेका आधासरो कार्यकर्ताले किन गरेनन् सदस्यता नवीकरण?

सागर न्यौपाने
असार ६, २०८० बुधबार २१:३२, काठमाडौँ

नेकपा एमालेले संगठन सुदृढीकरण र विस्तार गर्न भन्दै फागुन ५ देखि वैशाख ९ गतेसम्म दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्‍यो। निष्क्रिय कार्यकर्तालाई जगाउन अभियानमा विभिन्न तहका नेताहरु परिचालन भएका थिए। 

सो क्रममा एक लाख १९ हजार ९६ जनाले सदस्य बन्न आवेदन दिएको एमालेले तल्लो तहमा पठाएको अन्तर पार्टी निर्देशनमा उल्लेख छ। यसहिसाबले एमालेको सदस्य संख्या बढ्नुपर्ने हो।

तर, एमालेको सदस्य संख्यामा भारी गिरावट आएको छ। किनभने पार्टी सदस्य रहेकामध्ये झण्डै आधाजसोले नवीकरणमा चासो दिएका छैनन्।

अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर तल्लो कमिटीमा पठाएको अपानिअनुसार एमालेमा रहेका कुल सदस्यमध्ये जम्मा ४० प्रतिशतले मात्र नवीकरण गरेका छन्।

यसमा कुल कति संख्या थियो, खुलाइएको छैन। तर, चितवनमा दसौँ राष्ट्रिय महाधिवेशन हुनुअघि २०७८ कात्तिक २५ गते सार्वजनिक तथ्यांक अनुसार एमालेका संगठित सदस्य ८ लाख ५ हजार थिए। 

‘यसक्रममा ४० प्रतिशत हाराहारीमा सदस्यता नवीकरण भइसकेको र आगामी असारसम्म अन्तिम विवरण तयार हुँदा यो संख्या थप वृद्धि हुने अपेक्षा गरिएको छ,’ सातौँ अपानिमा भनिएको छ, ‘मिसनको महत्वपूर्ण उदेश्यका रुपमा रहेको पार्टी सदस्यता नवीकरण, मृत्यु भएका, दोहोरिएका, निष्क्रिय अवस्थामा रहेका या पार्टी परित्याग गरेका व्यक्तिहरुको नाम विवरणबाट हटाएर अभिलेख सच्याउने तथा नयाँ सदस्यता आवेदन लिनेक्रम अभियानकै रुपमा अगाडि बढेको छ।’

तर, असारको पहिलो हप्तासम्म पनि नवीकरण संख्या निकै कम छ। एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नवीकरण संख्या घटेको स्वीकार गरे।

‘माओवादी केन्द्र र एमालेबीच एकता हुँदा ८ लाख सदस्य पुगेको थियो, त्यसबेला माओवादीले उसको संख्या बढाएर ल्याएको हुनसक्छ,’ गौतमले नेपालखबरसँग भने, ‘त्यही भएर अहिले नवीकरण घटेको देखियो।’

उनका अनुसार त्यसबेला एमालेको ५ लाख र माओवादीको ३ लाख मानेर ८ लाख सदस्य कायम गरिएको थियो।

‘६० र ४० को आधारमा मर्ज भएको थियो,’ गौतमले थपे, ‘माओवादी अलग भएपछि स्वतः घट्यो।’

उसोभए, एमालेको दसौँ महाधिवेशनमा ८ लाख सदस्य संख्या किन देखाएको थियो त भन्ने प्रश्नमा गौतमले प्रष्ट जवाफ दिन सकेनन्।

उनले एकीकरण हुँदा दलबाट प्रस्तुत गरेको संख्या एउटा र नवीकरण अर्काे भएको मात्र बताए। 

२०७७ फागुन २३ मा नेकपा भंग भएको थियो। एमालेको राष्ट्रिय महाधिवेशन २०७८ मंसिर ११ देखि १८ सम्म चितवनमा भएको थियो।

‘पार्टीमा संख्या बढाएरभन्दा पनि गुणस्तर संख्या हुनुपर्छ, त्यसो गर्दा सदस्य संख्या आधाले घट्छ,’ प्रचार विभाग प्रमुख गौतमले भने।

गौतमकै भनाइलाई आधार मान्ने हो भने एमालेको सदस्य संख्या ५ लाख मात्र थियो। दुई महिने ग्रासरुट अभियानमा आवेदन परेको १ लाख १९ हजार थपिए पनि आधाजति पुराना सदस्यले सदस्यता नवीकरण नगर्दा सो संख्या ह्वात्तै घटेको देखिन्छ। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ असार १५ गतेसम्म संख्या बढ्ने दाबी गर्छन्। 

‘अहिलेसम्म ५६ प्रतिशत हाराहारीमा नवीकरण भएको छ,’ तामाङले भने, ‘असार १५ सम्मको समय राखेर नवीकरण गर्न नेताहरुलाई खटाइएको छ, थप बढ्छ।’

‘विगतमा एकै व्यक्तिले सबैको सूची बुझाएपछि नवीकरण गर्ने प्रावधान हटाएर अहिले स्वयं उपस्थित हुनुपर्ने बनाइएको छ,’ तामाङले नवीकरण घट्नुको कारण दिए, ‘महाधिवेशनको मुखमा प्रतिनिधि बनाउनकै लागि पनि यति संख्या छ भनेर भनिन्थ्यो, अहिले त्यो रोकेपछि संख्या ह्वात्तै घटेको देखियो।’

एमालेका एक पदाधिकारी भने अहिलेसम्म आधा मात्रै नवीकरण भएको बताउँछन्।

‘पचास प्रतिशत हाराहारी नवीकरण भएको हुनुपर्छ,’ ती पदाधिकारीले भने, ‘तल्लो तहमा प्रभाव पार्ने कार्यक्रम लैजान सकिएको छैन। सत्तामा नहुँदा पार्टीप्रति आकर्षण उतिसारो बढेको देखिँदैन।’

स्थायी कमिटी सदस्य तामाङ पनि राजनीतिक मनोविज्ञानले प्रभाव पार्ने बताउँछन्।

‘सत्ता कसले बनाएको छ, मान्छेलाई आकर्षण गर्‍यो कि गरेन भन्ने कुराले अर्थ राख्दो रहेछ,’ तामाङले भने।
 
गत मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमाले संगठन सुदृढीकरणमा लागेको छ। उसले नेताहरुलाई पूर्णकालीन बनाएर अन्तर जिल्ला र गैरभूगोल क्षेत्रमा खटाएको छ। 

नवीकरणमा कमी आउनुमा विभिन्न कारण दिइएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी संख्या घटाउने योजनामै रहेको दाबी गरे।

‘संख्या बढाएर भन्दापनि विचार सहितको गुणस्तरीय संख्या राख्न खोजिएको हो,’ उनले भने, पार्टीमा सक्रिय रहेका व्यक्तिहरुको वर्गीकरण हुन्छ।’

मंसिरको चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा गएकाहरुले एमाले सदस्यता नवीकरण नगरेको चर्चा पनि छ।

‘जाँदै गएनन् भन्ने होइन, कहीँ कतै गएका पनि छन्,’ स्थायी कमिटी सदस्य तामाङले भने, ‘हामीलाई असर परेन भन्न त मिलेन। तर, एमालेको संगठित सदस्यमा फरक पर्दैन, रास्वपा मास बेस्ड पार्टी हो, एमालेको चरित्र फरक हो।’

चितवन, तनहुँ, काठमाडौं, ललितपुर लगायतका केही जिल्लाबाट एमालेकै नेता कार्यकर्ता रास्वपातिर खुलेका छन्। 

नवीकरण नगर्नेको नाम सुरक्षित राखिने
नयाँ दल, स्वतन्त्रको दबाब कति छ भन्ने कुरा एमालेले पछिल्ला दिन नेताहरुलाई जिल्ला खटाएबाटै देखिन्छ। 

उसले यो वर्ष नवीकरण नगर्नेको नाम तत्काल हटाउने छैन। 

‘यो वर्ष नवीकरण नगरेपनि अर्काे वर्ष गरिहाल्छन्, उनीहरुको नाम काटिँदँन,’ तामाङले थपे, ‘वर्षाैँसम्म नवीकरण गराउँछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .