नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनेर सरकारलाई प्रश्न गरेका छन्।
भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत् 'सीता भारतकी छोरी हुन्' भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन उनले आग्रह गरे। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलबस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्शांकन गर्ने जस्ता गलत काम गरेको भन्दै भारतप्रति आक्रोश व्यक्त गरे।
‘आदिपुरुष सिनेमाको नाममा सीता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तरर्वार्तामार्फत अभिव्यक्ति दिइराखेका छन्,' उनले भने, 'सरकार के गर्दैछ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो?'
नेपाल भारतकै अंग हो भन्ने खालको अभिव्यक्ति आदिपुरुषका संवाद लेखक मनोज मुंतशिरले अन्तर्वार्तामार्फत् दिएको भन्दै आपत्ति जनाए।
उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एक इन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको बताए।
Shares

प्रतिक्रिया