राजनीति


६ दलको समाजवादी मोर्चा यसैसाता घोषणा हुने, स्थानीय तहसम्म संयन्त्र

६ दलको समाजवादी मोर्चा यसैसाता घोषणा हुने, स्थानीय तहसम्म संयन्त्र

फाइल तस्बिर


सागर न्यौपाने
असार १, २०८० शुक्रबार २२:३, काठमाडौँ

स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी ६ दलको संयुक्त मोर्चा यसै हप्ता घोषणा हुने भएको छ। प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ। 

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले दुईतीन दिनभित्र मोर्चा घोषणा हुने जानकारी दिए। उनी मोर्चा गठनको वार्तामा छन्। 

मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरु सहमत भएपछि यसको घोषणा गर्न लागिएको हो। माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिस्ट पार्टी मोर्चा बनाउन तयार भइसकेका छन्। 

वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान नेपाललाई समेत मोर्चामा समेट्ने प्रयास भइरहेको छ। शुक्रबारको छलफलमा सहमति जुटे मोर्चामा रहने दलको संख्या ६ पुग्नेछ। 

संवादमा रहेका नेताहरुले तयार पारेको प्रारम्भिक मस्यौदामा सबै तयार भएपछि मोर्चा घोषणा गर्न लागिएको नेताहरु बताउँछन्।  

अहिले केन्द्रमा मात्र रहनेगरी १५ बुँदे कार्यविधि र नीतिगत प्रतिबद्धता बनाइएको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताए। 

‘पाँच दल सहमत भइसकेका छौँ,’ उनले नेपालखबरसँग भने, मस्यौदा अध्ययनका लागि दिइएको छ।’

दलहरुले आआफ्ना बैठक राखेर छलफल गरेपछि सबैको सुझाव समेटेर मस्यौदालाई पूर्णता दिने अनि बृहत् कार्यक्रम राखेर घोषणा गरिने एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। 

‘बढीमा पाँच गतेभित्र समाजवादी मोर्चा नेपाल घोषणा भइसक्छ,’ उनले नेपालखबरसँग भने, ‘मस्यौदा तयार भइसकेको छ, अब दलभित्र आन्तरिक छलफल गरेर फाइनल गर्छौँ।’

मोर्चामा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गौतमको राष्ट्रिय एकता अभियान चाहिँ संसदमा छैन। डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा माओवादीसँग एकताकै प्रयासमा छ।

मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उसले माओवादीकै चुनाव चिह्नमा लडेको हो। उसका १ सांसद छन्। 

संसदमा रहेकामध्ये उपेन्द्र यादव नेतृत्वको जसपाका १२ र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका १० सांसद छन्। सबै दल समेटिँदा मोर्चामा ५४ सांसद हुनेछन् र यो संसदको तेस्रो ठूलो शक्ति हुनेछ। 

यस्तो छ समाजवादी मोर्चा नेपालको प्रस्तावित संरचना 
नेताहरुका अनुसार मस्यौदामा समाजवादी मोर्चा नेपाललाई अंग्रेजीमा ‘सोसलिस्ट फ्रन्ट नेपाल’ भनिएको छ।

आलोपालो अध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ। तोकिएको व्यक्ति र तोकिएको संख्या रहने उल्लेख गरिएको छ। दलहरुका सदस्यताका आधारमा सो संख्या राखिएको छ। ७५३ वटै स्थानीय तहसम्म पुग्नेगरी मोर्चाको संयन्त्र बनाइएको छ। 

‘यही मस्यौदालाई दलहरुले दिएको फिडब्याक समेटेर निर्णयार्थ पेस गरिनेछ,’ जसपा नेता श्रेष्ठले भने, ‘यसका लागि बढीमा दुई दिन लाग्छ होला।’

सुरुमा मोर्चा घोषणा गरेर बाँकी काम गर्ने उनले बताए। 

‘प्रदेश र स्थानीय तहसम्मको संयन्त्र लगायतका अरु थुप्रै काम पछि गर्दै जान्छौँ,’ उनले थपे, ‘आलोपालो व्यवस्थाबारे पनि मापदण्ड बनाउँछौँ। 

शुक्रबार यही विषयमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भएको छ। 

देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान मोर्चा बनाउनुपरेको भट्टराईले बताए।

‘बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी छ,’ भट्टराईले भने।

शुक्रबार नै एकीकृत समाजवादीको सचिवालय बैठकले मोर्चा बनाउन प्रस्ताव गरिएको १५ बुँदे मस्यौदामाथि छलफल गरेर सुझावसहित अघि बढ्ने निर्णय गरेको छ।

अब शीर्ष नेताहरुको बैठक बसेर घोषणा मिति तोक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

‘यसैहप्ता मोर्चा घोषणा गर्न अब एकपटक शीर्ष नेताहरुको बैठक बसेर मिति तोक्नुहुन्छ,’ उनले भने। 

संसदमा बलियो शक्ति बन्ने, संघीयताको पक्षमा बलियो ढंगले उभिन सकिने भएकैले एकैठाउँमा उभिन परेको जसपाका वरिष्ठ नेता श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .