राजनीति


हेपिएको महसुस गरेपछि गोरखा पुगेर संगठन विस्तारमा लागे बाबुराम

हेपिएको महसुस गरेपछि गोरखा पुगेर संगठन विस्तारमा लागे बाबुराम

सागर न्यौपाने
जेठ ३१, २०८० बुधबार २२:५१, काठमाडौँ

पूर्वमाओवादी घटक र विचार मिल्ने केही कम्युनिस्ट दललाई एकै ठाउँमा उभ्याउने योजनासहित ‘समाजवादी मोर्चा’ गठन तयारी भइरहेका बेला नेपाल समाजवादी पार्टी संगठन विस्तारमा लागेको छ। नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखा पुगेर ६ महिने संगठन अभियान सुरुवात गरेका छन्।

उनी दुई दिनमा जिल्लाको क्षेत्र नम्बर २ का प्रायः सबै वडा पुगे। भट्टराईको सचिवालयका अनुसार आगामी मंसिरसम्मका लागि नयाँ संगठन बनाउने र विस्तार गर्ने कार्य अघि बढाइएको छ।

गोरखा डा. भट्टराईको जन्मस्थान पनि हो। उनले सो क्षेत्रबाट २ पटक संविधान सभा चुनाव र संविधान जारी भएपछि १ पटक प्रतिनिधि सभाको चुनाव जितेका छन्। 

यसपटक ४ मंसिरको चुनावमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडिदिए। माओवादीसँग एकता नै गर्नेगरी उनले तयारी गरेका थिए। साेहीअनुसार तीनपटक जितेको क्षेत्रमा प्रचण्डलाई लगेर जिताएका थिए। प्रचण्डलाई असहज देखिएको चितवन- ३ बाट ढुक्क रहेको गाेरखा-२ लैजानुको उद्देश्य एकता नै थियो। 

सोही योजनाअनुरुप डा. भट्टराईले एकता गर्ने आधारसहितकाे १९ बुँदे प्रस्ताव तयार पारे। सो अध्ययनका लागि प्रचण्डलाई दिइयो। तर ३ महिना भइसक्दा पनि कुनै जवाफ नआउँदा भट्टराई विकल्पको खोजीमा लागेका हुन्।

अहिले उनी गोरखा पुगेर पार्टीको संगठन विस्तारमा केन्द्रित भएका छन्। गोरखाबाट उनी माओवादीलाई दबाब दिन चाहन्छन्। 

माओवादीका नेताहरुको व्यवहारका कारण बलियो बन्नुपर्ने अवस्था आएको नेसपाका नेता बताउँछन्। एकले अर्कालाई सम्मान गर्नुको साटो बलियो र निर्धा ठानेर व्यवहार गरिएको उनीहरुको गुनासो छ। 

‘माओवादीका नेताहरुले हेप्ने, अपमान गर्ने, घेराबन्दी गर्ने, तारबन्दी गरे,’ नेसपाका एक नेताले नेपालखबरसँग भने, ‘उनीहरुमा अझै दम्भ घटेको छैन। संख्याको हिसाब गरेर खिसीट्युरी गर्न थालेपछि बलियो बन्ने प्रयासमा जुटेका हौं। माओवादी केन्द्र र नेसपालाई रुपान्तरण गर्दै नयाँ शिराबाट अघि बढ्ने सहमति समेत पालना भएन।’

हदै भएपछि पार्टी बलियो बनाउनु नै एक मात्र विकल्प रहेको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए। प्रचण्डले निर्वाचन क्षेत्रमा गएर जनतालाई नभेटेको गुनासो मतदाताबाट आएको उनको भनाइ छ।

‘२ नम्बर क्षेत्रका मानिसले प्रचण्डलाई भेट्न नपाएपछि असन्तुष्ट रहेछन्,’ पोखरेलले भने, ‘डा.साबको आफ्नै क्षेत्र भएकोले उहाँलाई खोज्ने नै भए। डा. साबले प्रत्येक महिना गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने नीति नै बनाउनुभएको छ।’

‘२ नम्बर निर्वाचन क्षेत्रका जति मानिस भेट्यौँ, उहाँहरुले हामी अभिभावकविहीन भयौँ भनेर गुनासो गर्नुभयो,’ पोखरेलले थपे, ‘त्यही भएर यसपटक सबैतिर पुग्ने कोसिस भयो। वर्षाका कारण बारपाक–सुलिकोट पुग्न सकिएन। फेरि अभियान लिएर जान्छौं।’

नेसपाका नेताहरु माओवादीले नजरअन्दाज गरेकोप्रति असन्तुष्ट छन्। देशभर सानो पार्टी, कम नेता रहेको भन्दै क्षमताको सम्मान नगरेकोप्रति उनीहरु गुनासो पोख्छन्। 

दुई दिन गोरखा बस्दा बाबुरामले भ्याएसम्मका मानिसलाई भेटे। टोल भेला, वडा र पालिका भेला राखेर जनताका चासो र सरोकार बुझ्ने प्रयास गरे। चुनावी शैलीमा उनले गरेको कार्यक्रम हेरेर अनेकन अड्कलबाजी हुन थालेको छ। 

के भट्टराईले आउँदो चुनावमा गोरखाबाट फेरि उठ्न खोजेका हुन्?

‘अहिले चुनावी राजनीति गरेको होइन, जनतालाई अप्ठेरो महसुस हुन नदिनु नेताको पहिलो काम हो,’ पोखरेलले भने।

माओवादी केन्द्रबाट बाहिरिएका भट्टराईले विभिन्न हण्डर खाए। माओवादीलाई भत्किएको घर भनेर बाहिरिएका उनी घुमिफिरी पुरानै ठाउँमा पुगेका छन्। तर, हिजो जस्तो न उनीसँग शक्ति छ, न उमेर नै।

त्यही भएर पूर्वमाआवादी घटकबीच एकता गर्ने र केहीबीच मोर्चा बनाएर जाँदा बलियो शक्ति हुन्छ भन्ने उनको विश्लेषण छ। 

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले समाजवादी मोर्चा बनाउने बाबुराम भट्टराईको जोडबल भए पनि कुनै ठोस निर्णयमा नपुगेको बताए।

‘अहिले हाम्रो पार्टीको कुनै बैठक बसेको छैन, त्यसैले मोर्चा गठनको विषय त्यति परिपक्व भइसकेको छैन,’ अर्यालले भने।

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले बुधबार दाङ पुगेर समाजवादी मोर्चा घोषणा छिट्टै बनाउने घोषणा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .