राजनीति


वकिलको बहस लम्बिएपछि न्यायाधीशले भने : अब त मैले हात उठाउन मात्रै बाँकी रह्यो

वकिलको बहस लम्बिएपछि न्यायाधीशले भने : अब त मैले हात उठाउन मात्रै बाँकी रह्यो

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १८:४२, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा मंगलबार एकजना अभियुक्त एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा १० जना वकिलहरुले प्रतिरक्षा बहस गरेका छन्।

गत बुधबारदेखि सुरु भएको प्रतिरक्षा बहस ६ दिन बितिसक्दा पनि जारी छ। तर मंगलबार बिहानदेखि भएको बहस लम्बिएपछि पूर्वगृहमन्त्री खाँणका वकिलहरुले अझै एक दिन समय मागेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा मंगलबार पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाँती र नेपाल बार एसोसियनसका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रतिरक्षा गरे।

तर, दुवैजनाले आफ्ना कुरा राखिनसकेपछि न्यायाधीश न्यौपानेसमक्ष बुधबार खाजा समयअघिसम्मको समय मागे। 

दुईजना वरिष्ठ अधिवक्ताले मंगलबार बहस नसकिएको भन्दै समय मागेपछि न्यायाधीश न्यौपानेले अब नसकिने कुरा राखे। 

खाँणका वकिलले आज बहस नसकेर भोलि पनि समय मागेपछि न्यायाधीश न्यौपानेले इजलासबाट भने, ‘मैले पनि नसक्ने भएँ यसरी त कामै गर्न नसकिने भयो।’

त्यसपछि पूर्वमहान्यायाधिवक्ता खाँतीले रुलिङ गर्न आग्रह गरे। ‘बहसका क्रममा कुरा दोहोरिएमा श्रीमानले रुलिङ गर्नुपर्यो’, उनले भने, ‘नयाँ कुरा आएन भने रोक्नुपर्यो, समय व्यवस्थापन गर्नुपर्यो।’

खाँतीलाई जवाफ दिँदै फेरि न्यायाधीश न्यौपानेले नयाँ कुरा केही पनि नआएको बताए। ‘नयाँ कुरा त केही पनि आएको छैन। आज पनि रमन श्रेष्ठले भनेको कुरा आएकै छ, दोहोरिएकै छ’, उनले भने।

लगत्तै नेपाल बारका अध्यक्ष घिमिरे र पूर्वमहान्यायाधिवक्ता खाँती दुवैले बुधबार ब्रेक समय अघिससम्म बहसका लागि चाहिने कुरा राखे। 

तर न्यायाधीश न्यौपानेले दिक्दारी मान्दै अदालत निरीह भए जस्तो भएको गुनासो सुनाए। ‘मैले अब हात उठाउन मात्रै बाँकी रह्यो। अदालत निरीह भए जस्तो भयो’, उनले फेरि भने।

त्यसपछि खाँतीले अब नदोहोरिने गरी कुरा राख्ने सुनाए। ‘हामी म्यानेज गर्छौँ दोहोरिँदैन, नयाँ कुरा आउँछ’, उनले भने।

जवाफमा न्यायाधीश न्यौपानेले, ‘ल त्यसो भए म तपाईंहरुको विद्वता भोलि हेर्छु’, भनेर बहसको समय बुधबार आधा दिनसम्मलाई दिए। 

त्यसक्रममा घिमिरेले बार र बेन्च एकै रथका दुई पांग्रा भएको चर्चा गर्दै यो मिलाएर जानुपर्ने, गर्नुपर्ने कुरा न्यायाधीशसमक्ष राखे। अन्तिममा न्यायाधीशले सबैलाई तयारी गरेर नदोहोरिने गरेर बहस गर्न आग्रह गरेपछि मंगलबारको इजालस उठेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .