राजनीति


गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्न सके नेपालकै गौरव : महर

गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्न सके नेपालकै गौरव : महर

नेपालखबर
जेठ २९, २०८० सोमबार १८:११, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य महरले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान  विश्वविद्यालय सञ्चालन गर्न सके नेपालको गौरवको विषय बन्ने धारणा व्यक्त गरे। गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण भए सुदूरपश्चिमका जनताले मात्र नभएर नेपालका साथै भारतका जनताले पनि उपचार पाउने बताए।

‘अहिले हाम्रा सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूले उपचारका लागि भारत धाउनु पर्ने अवस्था छ। हामीले विश्वविद्यालय निर्माण गरेर गेटामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके भारतका जनता पनि नेपाल आउने छन्। जसरी गेटा आँखा अस्पतालमा उपचार गर्न आउँछन्, त्यसरी नै त्यहाँ पनि आउने छन्। यसले यसै क्षेत्रको विकास हुने हो’ उनले भने।

यो मेडिकल पर्यटनका रूपमा पनि अगाडि बढ्ने उनको दाबी छ।

विश्वविद्यालय निर्माण भए आसपास प्रदेशका जनताको स्वास्थ्यवस्था सुधारिने, छिमेकी देश भारतबाटसमेत पढ्न आउने, उपचार गर्न आउने मानिसहरूको संख्या बढ्ने भएकाले सुदूरपश्चिमको आर्थिक अवस्था र स्वास्थ्य अवस्थामा सुधार हुने महरले बताए। सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला यो आन्दोलनमा आफ्नो समर्थन रहेको उनको भनाइ छ।

धेरै रोगहरूको सामान्य उपचार हुने भए पनि यहाँ विश्वविद्यालय भए मेडिकल हब हुने महरले बताए। गेटामा विश्वविद्यालय, कञ्चनपुर र डडेलधुराका अस्पताललाई मेडिकल कलेज बनाउनु पर्ने उनको धारणा थियो। सरकारले बारम्बार सुदूरपश्चिमका जनताको स्वास्थ्यमाथि खेलबाड गरेको महरको आरोप छ।

२०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेको र सानो घर पनि बनाएको स्मरण गराउँदै महरले भने, ‘शंकराचार्यले नै २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गर्नु भएको हो। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दिएको थियो।’

२०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरे पनि अहिलेसम्म ५ अर्ब ३३ करोड खर्च भइसकेको छ। गेटामा ५१ वटा भवन निर्माण भइसकेका छन्। यति हुँदा पनि सरकारले कहिले मेडिकल कलेज बनाउने, कहिले स्वास्थ्य विश्व विद्यालय त कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर जनतालाई अलमल्याउने कार्य गलत रहेको महरले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad