पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्दै देशमा गुण्डागर्दै सह्य नहुने चेतावनी दिएका छन्।।
देशमा गुण्डागर्दी गर्दै हिँड्ने इच्छा पूरा हुन नदिने उनले बताए।
‘हामी तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छौं। गुण्डागर्दी गर्ने काम बन्द गर। बन्द गर्दैनौ भने तिमीहरूका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि कार्यक्रम हुन दिँदैनौं,’ खनालले भने।
‘ज्ञानेन्द्र शाहले सुन्नुपर्ने कुरा हो यो, म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु। तिम्रा यी स–साना सेनालाई मैले भन्नुपर्ने छैन। तिनीहरुले टिट फर ट्याट पाउँछन्,’ उनले भने, ‘जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ। तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदी गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन।’
‘हिजो म एउटा कार्यक्रममा गएँ। त्यहाँ वामपन्थी नेताहरु भेला हुँदैछन्भ निएको थियो। म जाँदा कार्यक्रमको रुप अलि भिन्दै रहेछ। भिन्दै ढंगले सञ्चालन गर्ने कोशिस गरियो, जुन कुरासँग म सहमत छैन,’ खनालले स्पष्टीकरण दिँदै भने, ‘तर, जेसुकै भएपनि कार्यक्रममा केही मान्छेहरुले बोल्न मागे, बोल्न दिइयो। बोल्ने क्रममा तथानाम गाली गरे। मैले यस्तो बोलियो भनेर भन्न पनि नमिल्ने छारस्ट कुराहरु भए। सबै पार्टीकोविरुद्ध, नेताका विरुद्ध, विशेषगरी मेराविरुद्ध। मलाई विभिन्न आरोप लगाए।’
उनले त्यहाँ गुण्डाहरूको ग्याङ नै आफ्नो बदनाम गर्न उपस्थित भएको बताए।
‘यस्तो बोल्न पाइँदैन भन्दा त गुण्डा ग्याङ नै आएको रहेछ । त्यो ग्याङले नारा लगाउन थाल्यो। विभिन्न ढंगले ‘फलाना चोर देश छोड’ भनेर नाराहरु लगाइयो,’ खनालले भने, ‘हिजो पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुका बिरुद्ध त्यतिबेलाका मण्डलेहरु आक्रमण गर्थे। तिनै मण्डलेहरु ब्युँताउन कोसिस भएको छ।’
‘मैले केही दिनअघि राजा ज्ञानेन्द्रलाई, अहिले त राजा भन्न मिलेन, भूतपूर्व राजा ज्ञानेन्द्र, अहिलेको ज्ञानेन्द्र शाहलाई, जो अहिले विभिन्न क्षेत्रमा अनेक राजनीतिक गतिविधि गर्दैछन्, यसप्रकारले समाजमा भाँडभैलो मच्चाउन कोशिस गर्नुभन्दा राप्रपा भन्ने पार्टी छ, त्यसको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आए हुन्छ भनेको हुँ,’ उनले स्मरण गर्दै भने, ‘अहिले नै हिसावकिताव हुन्छ। नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखेको छ भने त्यो दिउँसै आकाशतिर हेरेको दिवास्वप्नबाहेक केही होइन। तपाईंलाई थाहा हुनुपर्छ। एकपटक जन्मिसकेको बालक फेरि गर्भमा पस्न सक्दैन।’
Shares
प्रतिक्रिया