राजनीति


ओलीको कटाक्ष : हामी गल्ती गर्नका लागि जन्मिएका कांग्रेस-माओवादी हो र?

ओलीको कटाक्ष : हामी गल्ती गर्नका लागि जन्मिएका कांग्रेस-माओवादी हो र?

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १६:३५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा गरिएको संसद विघटन सही भएको दाबी गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा कहीँ पनि विघटन गर्नु नहुने उल्लेख नभएको दाबी गरे। 

५ वर्ष विघटन हुन नहुने भन्ने संविधानमा कहीँ कतैपनि उल्लेख नभएको ओलीले दाबी गरे।

‘हामीले लिएको नीति र बाटो सही छ। सरकार राज्यको रक्षक, जनताकोे सेवक हुनुपर्छ। अझैपनि केही साथीहरूले बेकारको गनगन गर्न छाडिदिए हुन्छ,’ ओलीले भने, ‘महानता देखाउनुपर्ने कुनै आवश्यक्ता छैन। हामी गल्ती गर्नका लागि जन्मिएका कांग्रेस माओवादी हो र?’

उनले पार्टीभित्रका केही नेताहरू नेल्सन मण्डला बन्न खोजेको आरोप लगाए। ‘गल्ती भइहाल्यो भने सच्याउँछौं। पुस ५ गते विघटन गर्नु गल्ती नै थियो भनेर कोही कोही साथीहरु पण्डित बन्ने गर्छन। पार्टीभन्दा ऊ धेरै माथिको, नेल्सन मण्डलाभन्दा माथिको बन्न खोज्छन्,’ ओलीले भने। 

पुस ५ मा संसद विघटन गर्दा आफू दुई तिहाई बहुमतसहित प्रधानमन्त्री रहेको उनले स्मरण गरे। 

‘पुस ५ गते दुई तिहाई प्राप्त गरेको दलको नेता म थिएँ, अध्यक्ष म थिएँ। काम गर्न दिएनन्, हाम्रो पार्टीले त्यही अवस्थामा चलाउन सकेन,’ ओलीले भने, ‘दुई तिहाईले चलाउन नसकेपछि अरु केही विकल्प रहन्छ र? संसदीय प्रणालीमा एक तिहाई विकल्प हुन्छ र कहिले? दुई तिहाई मौजुद थियो त?

दुई तिहाई लगभग मत भएको प्रधानमन्त्रीले ताजा जनादेशमा नगई विकल्प खोज्नुपर्ने कुरा मुर्खता रहेको बताए। ‘दुई तिहाई लगभगको नेताले ताजा जनादेशमा जानुपर्छ भनेपछि अर्को विकल्प खोज्नुपर्ने कुरा मुर्ख कुरा हो,’ ओलीले भने।

विरोधीहरुले देशको समृद्धि र सुखबारे सुन्न नसकेको पनि उनले बताए। ‘देशको समृद्धि जनताको सुख जनताले बुझ्नेगरी भन्नुहोला। विरोधी सानो चित्तको छ, समृद्ध नेपाल भन्न सक्दैन, उसको मनले मान्दैन, सुखी नेपाली भन्न सक्दैन,’ ओलीले भने, ‘जब नेपाली जनताको सुख सुन्न तयार हुँदैन भने त्यसले कसरी काम गर्छ?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .