निजी क्षेत्रबाट सञ्चालित डोटीको शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरु गरेको छ।
सिलगढी नगरपालिका-४ पिपल्लामा रहेको अस्पतालले रगत अभावलाई अन्त्य गर्न यस्तो अभियान सुरु गरिएको जनाएको छ। रगत अभावका कारण अहिलेसम्म जिल्लामा चार जनाको अकालमा ज्यान गुमाएका छन्।
दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले शनिबार अभियानको शुभारम्भ गरेका छन्।
त्यस क्रममा मलासीले रक्तदान गर्न अति जरुरी भएको बताए। ‘हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ।’
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भएकाले रक्तदान गर्न पछि हट्न नहुने बताए। नेकपाका नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयौँ बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने बताए।
जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गणले रगत उपलब्ध गराउँदै आएका छन्। रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया