ad ad

राजनीति


केन्द्रमा जसपाका मन्त्री थपिएकै दिन मधेशमा माओवादीले जसपा नेतृत्वकै सरकार छाड्यो

केन्द्रमा जसपाका मन्त्री थपिएकै दिन मधेशमा माओवादीले जसपा नेतृत्वकै सरकार छाड्यो

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८० मंगलबार १५:३९, काठमाडौँ

मधेश प्रदेशको सरकारलाई लिएर सत्ता गठबन्धनमा गडबडी देखिएको छ। सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सत्तारोहण गराउँदा मधेशमा नेकपा माओवादी केन्द्र भने बाहिरिएको छ।

माओवादीले जनता समाजवादी पार्टीका नेता सरोज यादव नेतृत्वको मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेकै दिन संघीय सरकारमा भने जसपाबाट एकजना मन्त्री र एकजना राज्यमन्त्री थपिएका छन्।

संघीय सरकारमा सिरहबाट निर्वाचित डा. वीरेन्द्र महतो वन तथा वातावरण मन्त्रीमा वीरेन्द्रप्रसाद महतो नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त गरेका छन्। 

शिक्षामन्त्रीका रुपमा यसअघि नै जसपा संघीय परिषद् अध्यक्ष अशोककुमार राईले काम गरिरहेका छन्। उपप्रधानमन्त्री पद पाएकै अवस्थामा आफैं सत्तामा जाने दाउमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव यस पटक रोकिएका छन्। 

मंसिरमा सप्तरी २ मा पराजित उनी वैशाख १० मा बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा फर्किएका थिए। 

उपनिर्वाचत जित्नेबित्तिकै सत्तामा जाँदा आलोचना हुन सक्ने डरले यादव यस पटक महतोलाई पठाउने निर्णयमा पुगे। उपप्रधानमन्त्री नमिल्ने अवस्था आएपछि यादवले त्यसको बदलामा राज्यमन्त्री बनाएर प्रमिलाकुमारीलाई सरकारमा पठाए। 

जसपाले आफ्नो भागमा परेका सबै मन्त्री सरकारमा पठाएकै दिन मधेशमा भने गडबडी भएको छ। जहाँ मुख्यमन्त्री सरोज यादवले कांग्रेस र समाजवादीलाई सत्तामा ल्याउँदा मा‌ओवादीले आक्रोश पोखेको छ। 

यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै माओवादी मधेश प्रदेश संसदीय दलले मंगलबार नै सरकार छाड्ने निर्णय लिएको छ।

माओवादी मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद यादवले जसपा नेतृत्वको सरकारले चोर बाटोबाट सरकार विस्तार गरेको भन्दै बाहिरिने निर्णय लिएको सुनाए। 

‘हामीले आजै दलको बैठक राखेर सरकारबाट बाहिरिने निर्णय गरेका छौँ’, साहले भने, ‘जसपा नेतृत्वको सरकारले चोरबाटोबाट मन्त्रिपरिषद् विस्तारको निर्णय लिएको छ। त्यसको विरोधमा हामीले सरकार छाड्ने निर्णय लिइसकेका छौँ।’

मुख्यमन्त्री यादवले मंगलबार मात्रै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। 

मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारका क्रममा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रायको जिम्मेवारी दिएका छन्। 

यस्तै नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्दप्रसाद न्यौपानेलाई विनाविभागीयमन्त्रीको जिम्मेवारी दिइएको छ।

सरकार विस्तारका क्रममा माओवादीले सोमबार दुईवटा मन्त्रालयमा दाबी गरेको थियो। तर उसको दाबीअनुसार गठबन्धनमा भागबन्डा मिल्न सकेको थिएन। 

आफूहरुले मागेजति मन्त्रालय नपाउने निश्चित भएपछि माओवादीले सरकार नै छाडेको हो। 

मधेशमा माओवादीबाट सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्रीका रुपमा थिए। 

यहाँ माओवादीले अर्को पनि मन्त्रालय मागेका बेला मुख्यमन्त्री यादवले आफूहरूलाई थाहै नदिइ मन्त्रिपरिषद् विस्तार गरेको साहले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .