ad ad

राजनीति


खाँणको निलम्बनका विषयमा कांग्रेस दुई धारमा विभाजित

खाँणको निलम्बनका विषयमा कांग्रेस दुई धारमा विभाजित

फाइल तस्बिर


केशव सावद
जेठ ३, २०८० बुधबार २०:०, काठमाडौँ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि यसबारे नेपाली कांग्रेस दुई धारमा विभाजित देखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि खाँणलाई पार्टीले केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने र गर्न नहुने पक्षमा कांग्रेस नेताहरु विभक्त देखिएका हुन्। 

खाँणलाई पदबाट निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने अधिकांश कार्यकर्ताको चाहना भए पनि नेतृत्वमा रहेका र नेतृत्वमा रहिसकेका बहुसंख्यक नेताहरु भने अनुसन्धान परिपक्व हुँदासम्म निलम्बनका लागि हतार गर्न नहुने पक्षमा उभिएका छन्। 

पदाधिकारी र पूर्वपदाधिकारी बैठकहरुमा सहभागी हुँदै आएका नेताहरुमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यबाट खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन्। 

खाँण पक्राउ परिसकेपछि सभापति शेरबहादुर देउवाका निवासमा बसेका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहभागी भएका अन्य नेताहरु भने खाँणलाई निलम्बन गर्न नहुने अडानमा देखिन्छन्। 

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहभागी एक पदाधिकारीका अनुसार उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशरण महत, सहमहामन्त्रीहरु महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, जीवन परियार, बद्री पाण्डे, भीष्मराज आङ्देम्बे, फरमुल्लाह मन्सुर, डिना उपाध्याय, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलगायतका नेताहरु निलम्बनको विपक्षमा छन्। 

ती पदाधिकारी भन्छन्, ‘धनराजजी, गगनजी, विश्वप्रकाशजी तीन जना मात्रै हो निलम्बन गर्नुपर्छ भन्ने। उहाँहरु बाहेकका हामी सबै पदाधिकारी र पूर्वपदाधिकारीहरु आरोप पुष्टि नहुँदै खाँणजीलाई निलम्बन गर्न नहुने पक्षमा छौँ।’  

तत्काल निलम्बन गर्न नहुने पक्षमा रहेकाहरुको तर्क छ– भ्रष्टाचारको आरोप मात्रै लागेकालाई निलम्बन गर्ने परम्परा कांग्रेसमा छैन। यसकारण केन्द्रीय सदस्य खाँणलाई अदालतको अन्तिम फैसला नआउँदासम्म निलम्बन गरिनुहुन्न।

तर, महामन्त्री थापाले भने जिम्मेवार पदमा बसेका नेताहरुमाथि कुनै पनि आरोप लाग्दा निलम्बन गरिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। 

‘जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वाभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ,’ उनले मंगलबार वक्तव्य जारी गर्दै भनेका छन्, ‘परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनुपर्छ।’

काठमाडौंमा बुधबार आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशन सम्बोधनका क्रममा पनि महामन्त्री थापाले पार्टी परम्परा भनेर केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्न आनाकानी भइरहेकोप्रति आपत्ति जनाए।

‘केही साथीहरूले हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा नै छैन भनिरहेका छन्,’ उनले भने, ‘परम्पराका नाममा किन गलत कुरा बोकिरहने? तोड्ने हो।’

पार्टी भ्रष्ट नहुने र आबद्ध व्यक्ति भ्रष्ट हुने भएकाले पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने थापाको भनाइ थियो। 

‘कांग्रेसमा आबद्ध कोही कुहियो भने त्यसलाई निकालेर फाल्ने हो, अनि बल्ल पार्टी चल्छ,’ उनको भनाइ थियो, ‘आरोपितलाई पार्टीबाट तुरून्त निलम्बन गरेर अलग राख्नुपर्छ र अनुसन्धान यो प्रकरणको जरैसम्म पुग्नुपर्छ।’

सोही कार्यक्रममा सहभागी नेता डा. शेखर कोइरालाले भने खाँण निलम्बनबारे प्रसंग नै निकालेनन्। तर, नेपाली नागरिकलाई अनागरिक बनाउँदै विदेश पठाउने कार्य लज्जास्पद भएको उनको भनाइ थियो।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फस्नुभएको छ, फसाइएको छ, जेसुकै होला। त्यसले नेपाली कांग्रेसको मात्र होइन, हामी सबै नेपालीको शिर निहुरिएको छ,’ कोइरालाले भने, ‘यो लज्जास्पद र राष्ट्रघाती काम भएको छ।’

कुनै पनि बहानामा शरणार्थी प्रकरण ढाकछोप गर्न नहुनेमा उनको जोड थियो। 

‘कुनै बहानामा पनि यो प्रकरणलाई ढाकछोप गर्न हुन्न, ढाकछोपको कोसिस गर्यौँ भने कांग्रेसको अवस्था के हुन्छ? अप्ठ्यारो स्थिति हुन्छ। देशकै अवस्था पनि नाजुक भएर जान्छ,’ उनले भने।

पछिल्लो समय वैशाख २८ गते धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको छलफल खाँणबारे तत्काल कुनै निर्णय नलिने गरी टुंगिएको थियो। बैठकपछि सहमहामन्त्री परियारले खाँणबारे तत्काल कुनै निर्णय नलिइएको बताएका थिए। 

‘आज पनि हामीबीच नेता बालकृष्ण खाँणबारेमा कुनै छलफल भएन। हामीले कुनै किसिमको औपचारिक निष्कर्ष निकालेका छैनौँ,’ उनले पत्रकारहरुलाई भनेका थिए, ‘हामी कुनै व्यक्तिबारे प्रस्तुत हुनुभन्दा अनुसन्धानमा जोसुकै आउन सक्छन्, उनीहरुले सघाउनु पर्छ भन्ने हो। कोही नेता, मन्त्री वा मिडियाकै मान्छे पनि आउन सक्छ। जो आए पनि अनुसन्धानलाई सघाउनुपर्छ भन्ने हाम्रो छलफलको निष्कर्ष हो।’

वैशाख २७ गते बसेको पदाधिकारी बैठकपछि प्रवक्ता महतले खाँणलाई कारबाही गर्ने या नगर्ने भन्ने विषयमा अनुसन्धानलाई थप परिपक्व हुन दिने बताएका थिए। ‘टोपबहादुर रायमाझीको हकमा उहाँ उपस्थित नै नभएको अवस्था हो। पुर्जी काटिएको अवस्थामा पनि उहाँ फरार हुनुभयो भन्ने सन्दर्भमा (कारबाही) पनि होला। तर हाम्रो बालकृष्णजीको सन्दर्भमा उहाँ आफैँले गिरफ्तारी दिनुभा’छ र अनुसन्धानको प्रक्रियामा छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए। उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो।  

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते काठमाडौंकै पेप्सीकोलाबाट पक्राउ गरेको थियो। 

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १४ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका प्रतीक थापा र निरज राई फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .