ad ad

राजनीति


बैठक ‘बंक’ गर्न नदिन सांसदहरुका लागि ई-हाजिरीको तयारी

बैठक ‘बंक’ गर्न नदिन सांसदहरुका लागि ई-हाजिरीको तयारी

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८० आइतबार १४:१७, काठमाडौँ

संघीय संसदको कार्यव्यवस्था परामर्श समितिमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारे छलफल भएको छ।

आइतवार अपरान्ह ४ बजेबाट संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्नेबारेमा कार्य व्यवस्था परामर्श समितिको बैठक छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए। 

उनले सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भएको बताए।

उनले सांसदहरुको हाजिरी विद्युतीय हुनुपर्ने व्यवस्थाबारे पनि छलफल भएको बताए।

‘दोस्रो अधिवेशनलाई कसरी व्यवस्थित गर्न सकिन्छ, पहिलो अधिवेशनबाट प्राप्त शिक्षालाई लिँदै अब यसलाई व्यवस्थित बनाएर अघि बढ्नेबारे छलफल भयो। नयाँ कार्यक्रमबारे पनि कुरा भएको छ। अब सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भयो’, उनले भने। 

उनका अनुसार अब ई-हाजिरी लागू गरेर जानुपर्ने विषयमा पनि कुरा भएको छ। ‘सांसदहरुका लागि ई-हाजिरीको व्यवस्था गर्नेबारे कुरा भएको छ। संसद र समितिका कामहरु व्यवस्थित बनाउने, सदनलाई प्रभावकारी बनाउन सुझाव दियौँ। सरकारको सिद्धान्त र प्राथमिकताबारे कुरा भएको छ’, उनले  भने, ‘अधिवेशन ४ बजे भएकाले दुवै ठाउँमा सरकारका सिद्धान्त र प्राथमिकता रहनेछन्।’

बैठकपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिनेबारे पनि छलफल भएको बताए।

उनले बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारे छलफल भएको बताए।

‘सदनलाई प्रभावकारी बनाउने कुरामा छलफल भयो, सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति छ, यसलाई इ-हाजिरी गर्ने व्यवस्थाबारे कुरा भएको छ। बजेट अधिवेशनको बारेमा पनि छलफल भएको छ। संसदलाई प्रभाकारी बनाउन अनिवार्य रुपमा महिनाको एक पटक प्रधानमन्त्रीले आएर सभामा जवाफ दिनुपर्ने कुरामा छलफल गरेका छौँ’, उनले भने। 

सांसद खतिवडाले सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएकाले इलेक्ट्रिक हाजिरीको व्यवस्थाबारे बैठकमा छलफल भएको पनि जानकारी दिएका छन्। 

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा सांसदहरुको कम उपस्थितिलाई लिएर कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा उठाएका छन्। 

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरुसँगको बैठकका क्रममा सभामुख घिमिरेले सांसदहरुबारे जनगुनासो बढ्दै गएको बताएका हुन्। 

आफूले पनि संसद बैठकमा सांसदहरुको उपस्थिति कमजोर देखेको टिप्पणी सभामुख घिमिरेले बैठकमा गरेका छन्। 

‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ। सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ’, उनले बैठकलाई सम्बोधनका क्रममा भने,  ‘दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .