ad ad

राजनीति


पौडेल समूहका जिल्ला सभापतिलाई देउवाको प्रश्न : हारेकाले भेला बोलाउने, तपाईंहरु खुरुखुरु आउने?

पौडेल समूहका जिल्ला सभापतिलाई देउवाको प्रश्न : हारेकाले भेला बोलाउने, तपाईंहरु खुरुखुरु आउने?

नेपालखबर
पुस २४, २०७६ बिहिबार १०:२६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट समूहका जिल्ला सभापतिहरुसँग भेटवार्ता गरेका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुको तीनदिने भेला सम्पन्न भएको भोलिपल्टै सभापति देउवाले आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन्।

 महाधिवेशनको कार्यतालिका, भातृसंस्था र पार्टीका विभागलाई लिएर कांग्रेसमा पौडेल समूहले असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ। पौडेल समूहले वहिष्कार गरेकै बैठकबाट सभापति देउवा पक्षले यी तिनै विषयमा निर्णय गरेपछि निर्णय एकलौटी भएको भन्दै उनीहरुले पार्टी नेतृत्वविरुद्ध दबाब दिँदै आएका छन्।

पार्टीमा फरक विचार राख्नेलाई पेलेरै जान खोजेको भन्दै पौडेल समूहले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको थियो। सोही भेलामा आएका सभापतिहरुसँग बिहीबार बिहान सभापति देउवाले छलफल गरेका हुन्।

सभापतिहरुसँगको छलफलमा देउवाले चुनाव हारेकाहरुले पार्टी नेतृत्वविरुद्ध भेला राख्नु अवैधाननिक भएको गुनासो गरेका थिए। देउवाले भेलामा आफूलाई नबोलाएकोमा चित्त दुखाएको जुम्लाका सभापति दीप बहादुर शाहीले बताए। ‘मसँग हार्ने रामचन्द्र पौडेलले बोलाएर तपाईंहरु आउने? अनि त्यो बैठकमा आउँदै गर्दा मर्लाइ किन खवर गर्नुभएन?’, सभापति देउवाको भनाई उदृत गर्दै शाहीले भने, ‘भोलि तपाईंहरु विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईंहरुको के हालत हुन्छ?’

भेटमा सभापति देउवाले महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन दिएका थिए। छलफलमा जिल्ला सभापतिहरुले ‘जिल्ला सभापतिको परामर्श बैठक’का निष्कर्ष सुनाएका थिए। उनीहरुले सरकारका अलोकतान्त्रिक कदमका विरुद्ध सिंगो पार्टी एक भई सरकारमाथि दबाब सिर्जना गर्नुपर्ने अवस्थामा पार्टी बहुमत र अल्पमतका आधारमा चल्न नहुने भन्दै सहमतिको वातावरण कायम गर्न नेतृत्वलाई आग्रह गरेका थिए। सभापतिहरुले केन्द्रीय कार्यसमिति बैठकबाट यही पुस ११ गते बहुमतका आधारमा गरिएको निर्णय सच्याई सहमतिका साथ पार्टीको १४औँ महाधिवशेनको कार्यतालिका बनाउन माग गरेका थिए।

सभापतिहरुको सुझाब मनन गर्दै सभापति देउवाले महाधिवेशको मिति कुनै पनि हालतमा सार्न नसकिने प्रस्ट पारे। उनले पार्टीको बहुमत सदस्यले गरेको निर्णय परिवर्तन नहुने बताएका थिए। उनले मिति बाहेकक अरु कार्यतालिका कार्यतालिका मिलाउन र क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउन तयार रहेको बताएका थिए।

‘सभापतिजी, १४ औं महाधिवेशनको कार्यतालिका २०७७ फागुन ७ र समावेशी समानुपातिक कोटामा एकपटक भन्दा बढी अवसर दिनु नहुने भन्ने हाम्रो प्रस्ताव बाहेक अन्य विषय सच्याउन तयार हुनुभयो’, रोल्पाका जिल्ला सभापति अमरसिंह पुनले नेपालखबरसँग भने, ‘उहाँले नमानेका विषयलाई हामी देशभर छलफलमा लग्नेछौं।’ उनले सभापति देउवा पार्टी मिलाएर लानुपर्छ भन्ने भावमा प्रस्तुत भएको समेत बताए।

छलफलमा जिल्ला सभापतिहरुले केन्द्रले क्रमशः आफ्ना अधिकार कटौती गर्दै लगेको गुनासो समेत गरेका थिए। उनीहरुले सभापतिले नै भागवण्डाको राजनीति गर्न नहुने र सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउनुपर्ने सुझाब समेत दिएका थिए

कांग्रेसको विधान संशोधन गर्ने विषयमा उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काबीच विवाद समेत भएको थियो । गच्छदारले संविधान त परिवर्तन हुन्छ भने विधान विपरीत बनेका नियमावली खारेज गर्नुपर्छ भनेपछि महामन्त्री खड्काले त्यसको प्रतिवाद गरेको छलफलमा सहभागी एक जिल्ला सभापतिले नेपालखबरसँग भने।

छलफलपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले संवाद र सहमतिबाटै महाधिवेशनको मिति तय गरिनुपर्ने भन्ने भावना जिल्ला सभापतिहरुको रहेको बताए। अहिलेको अवस्थामा पार्टी एकमत भएर अगाडि बढ्न जरुरी रहेको जिल्ला सभापतिहरुको निष्कर्ष रहेको उनको भनाइ थियो।

नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेशन गर्ने, विभागहरुको संख्या ४७ पु याउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो। पौडेल समूहले संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाएको थियो। बिहीबार देउवा निवासमा भएको छलफलमा भने पौडेल पक्षका झण्डै एक दर्जन सभापति अनुपस्थित थिए भने केही संस्थापनपक्षीय जिल्ला सभापति समेत सहभागी थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .