ad ad

कारोबार


पाम तेलमा कडाइबारे नेपालले भारतसँग छलफल गर्ने

पाम तेलमा कडाइबारे नेपालले भारतसँग छलफल गर्ने

नेपालखबर
पुस २४, २०७६ बिहिबार १०:२८,

भारतले बुधबारदेखि अन्य देशबाट प्रशोधित पाम तेल आयातमा कडाइ गरेपछि सरकारले नै यसबारे पहल गर्ने भएको छ। नेपालले निर्यात गर्ने वस्तुमा पाम तेल मुख्य रहेको र भारतको पछिल्लो कदमले नेपाली निर्यात प्रभावित हुने देखिएपछि सरकारले भारतसँग कुरा गर्न लागेको हो।

यसबारे नेपाली व्यवसायीलाई सरकारले भारतसँग कुरा गर्ने आश्वासन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवराज ढकालले जानकारी दिए।

भारतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार प्रशोधित पाम तेल आयातमा कडाइ गरेको थियो। सोलगत्तै आज नेपालले आन्तरिक छलफल थालेको छ। भारतमा पाम तेल निर्यात गर्दै आएको नेपाललाई प्रत्यक्ष असर पुग्ने देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसँग बिहीबार छलफल गरेको हो।

छलफलमा पाम तेल उत्पादन तथा निर्यात व्यापार गर्ने व्यवसायी, नेपाल उद्योग वणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधि सहभागी थिए।

भारतले पूर्ण प्रतिबन्धभन्दा पनि पाम तेल आयातमा कडाइ गरेको हो। यसको मतलब अब भारतीय व्यवसायीले केन्द्र सरकारसँग अनुमति लिएर मात्र यसको आयात गर्न पाउनेछन्। डीजीएफटीले आयात कानुनमा संशोधन गरी यसअघि खुल्ला रुपमा आयात हुँदै आएको पाम तेललाई ‘आयात कडाइ’ अर्थात् ‘रेस्ट्रिक्सन’ श्रेणीमा राखेको हो।

indian pam policyभारतले संशाेधन गरेकाे व्यापार नीति

भारतको उक्त कदमसँगै सरकारले पनि यसलाई गम्भीर रुपमा लिएको र नेपालको निर्यात बढाउने वस्तुलाई भारतले आयात बन्देज गर्नसक्ने देखिएपछि नेपाली व्यवसायीलाई सान्त्वना दिन उद्योग मन्त्रालयको सक्रियतामा छलफल गरेको प्रवक्ता ढकालले बताए।

भारतको पहिलेदेखि नै चासो
नेपालबाट हुने पाम तेलको निर्यातमा भारतले पहिलेदेखि नै चासो व्यक्त गरिरहेको थियो। भारतले तीन पटक नेपालाई यसबारेमा चिठी समेत लेखेको वाणिज्य मन्त्रालयले जनाएको छ।

द्विपक्षीय व्यापार नीतिअनुसार कुनै पनि वस्तु तेस्रो मुलुकबाट आयात गरेर दोस्रो मुलुकमा निर्यात गर्दा ३० प्रतिशत भ्यालुएड हुुनुपर्ने व्यवस्था छ। यो प्रक्रिया नेपालले पूरा गरेको वा नगरेको बारेमा भारतले चासो व्यक्त गरेको थियो।

नेपालको पाम तेलको व्यापार अविकसित मुलुकले भन्सारमा पाउने सुविधाअनुसार त पाएको भन्नेमा भारतले चासो दिँदै आएको छ। अविकसित मुलुक नेपालले आयात गर्दा भन्सार सहुलियत पाउँछ तर भारतलाई त्यो सुविधा छैन। त्यसको फाइदा नेपालले लिएको हुनसक्ने भारतीय आशंका छ।

भारतको चासोअनुसार वाणिज्य मन्त्रालयले उद्योगीहरुलाई पनि सोबारेमा सोधखोज समेत गरेको थियो। वाणिज्य मन्त्रालयले उद्योगको समेत निरीक्षण गरेर ३० प्रतिशत भ्यालुएड भएको प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनसहित भारतलाई चिठीको उत्तर समेत पठाएको वािण्ज्य मन्त्रलयले जनाएको छ।

नेपाल दोधारमा
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले नेपालखबरसँग कुरा गर्दै ‘ब्यान’ र ‘रेष्ट्रिक्सन’ फरक भएको त्यसमा पनि नेपाल परे/नपरेको अझै दोधार रहेको बताए। भारतले मलेसियालाई केन्द्रित गरेर रेष्ट्रिक्सन ल्याएकोले नेपाल त्यसमा परे/नपरेको आधिकारिक जानकारी हुन बाँकी रहेको उनको भनाइ छ। त्यसबारे सरकारले नै आधिकारिक जानकारी लिनसक्ने उनले बताए। तर भारतले आयात नीतिमै कुनै मुलुक विशेष नतोकी संशोधन गरेकाले सबै पाम तेल आयातमा कडाइ गरेको छ।

भारतले कडाइ गर्नुको अन्तर्य मलेसियासँगकाे विवाद
भारतको आन्तरिक मामिलामा मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले अनावश्यक टिप्पणी गरेको भन्दै भारतले उक्त निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। इकोनोमिक टाइम्सका अनुसार काश्मिर विवाद र पछिल्लो नागरिकता ऐन संशोधनसम्बन्धी मामिलामा मलेसियाले निरन्तर भारतको आलोचना गरेकाले त्यहाँबाट प्रशोधित पाम तेल आयात रोक्न कडाइ गरेको हो।

नेपाललाई असर
तर त्यसको असर नेपाललाई पनि पर्ने भएको छ। नेपालले भारतमा प्रशोधित र कच्चा पाम तेल निर्यात गर्दै आएको छ। पाम तेल निर्यातकै कारण नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थाल्दा भारतको पछिल्लो निर्णयले केही समययता बढेको निर्यात व्यापारमा धक्का पुग्ने देखिएको हो।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले भारतमा ११ अर्ब ५२ करोडको पाम तेल निर्यात गरेको भन्सार विभागले जनाएको छ। उक्त अवधिमा नेपालले ११ करोड १७ किलोग्राम प्रशोधित पाम तेल निर्यात गरेको छ। यो अवधिमा नेपालले कच्चा पाम तेल पनि निर्यात गरेको छ। विभागको तथ्यांकअनुसार पाँच महिनामा २ लाख ६७ हजार किलोग्राम अर्थात् २ करोड ७२ लाखको कच्चा पाम तेल निर्यात गरेको छ।

भारतले मलेसिया, इन्डोनेसिया लगायतका देशबाट ठूलो परिमाणमा पाम तेल आयात गर्दै आएको छ। भारतले इन्डोनेसिया र मलेसियाबाट सबैभन्दा धेरै ९० लाख टन पाम तेल आयात गर्छ। बाँकी ६० लाख टन भटमास र सूर्यमुखी तेल आयात गर्छ। भारतले आयात गर्ने खाद्य तेलमध्ये ३० प्रतिशत पाम तेल मलेसियाबाट आउँछ। त्यस्तै ७० प्रतिशत पाम तेल इन्डोनेसियाबाट आउँछ। भारतले तेल प्रशोधन गर्ने कम्पनीलाई कच्चा पाम तेल इन्डोनेसियाबाट आयात गर्न पनि सल्लाह दिएको बुझिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .