ad ad

राजनीति


गठबन्धन बैठकमा चर्चाको विषय बन्यो माओवादीबारे माधव नेपालको अभिव्यक्ति

गठबन्धन बैठकमा चर्चाको विषय बन्यो माओवादीबारे माधव नेपालको अभिव्यक्ति

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख २०, २०८० बुधबार १८:५२, काठमाडौँ

बुधबार मात्रै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुर्खेतमा पुगेर नेकपा माओवादी केन्द्रले सरकारमा एकलौटी गरेको आरोप लगाए। 

सत्ताको नेतृत्व गरिरहेको दलप्रति उनले प्रकट गरेको सार्वजनिक असन्तुष्टिलाई लिएर गठबन्धनभित्र पनि चर्चा भएको छ।

बुधबार अपरान्ह बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सरकारबारे नेपालले पोखेको असन्तुष्टिबारे छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

उक्त बैठकमा सुर्खेतमा नेपालले पत्रकाररुमाझ दिएको अभिव्यक्तिबारे छलफल भएको रमेश पत्रकारहरुलाई बताए। 

‘माधव नेपालजीले सुर्खेतमा बोल्नुभएको विषयमा बैठकमा कुरा भयो। उहाँले कुन सन्दर्भमा किन बोल्नुभयो भन्ने कुरा भएको छ। त्यसले एकखालको स्पष्टता भएको छ’, उनले बैठकपछि भने, ‘नेताहले केही बोले पनि सत्ता गठबन्धनमा कुनै प्रतिकुल अवस्था आउँदैन, समस्या सिर्जना हुँदैन भन्ने हाम्रो निष्कर्ष रहेको छ।’

माधव नेपालले असन्तुष्टि पोखे पनि सत्ता गठबन्धनसँग प्रष्ट बहुमत रहेकाले अहिले नै सरकारलाई कुनै खतरा नरहेको उनको तर्क थियो। 

अध्यक्ष नेपालले सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली सरकारमा माओवादीले एकलौटी गरेको भन्दै आक्रोश पोखेका थिए। 

त्यसक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै घमण्डी नबन्न पनि चेतावनी दिएका थिए।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड बढ्दै गएको आरोप लगाएका थिए।

‘बजेटको बाँडफाँड गर्ने, अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ने ठान्ने! खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित हुनुहुन्छ’, नेपालले भनेका थिए, ‘म भन्न चाहन्छु-दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्को रावण जन्माउने काम नगर्नुस्। त्यसो हुनाले त्यो घमण्ड छोड्नुस्, समानताको व्यवहार गर्नुस्। मिलेर अगाडि बढ्नुस्।’

उनले घमण्डले गर्दा नै नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोप्पा खाएको बताएका थिए। 

‘होइन भने एकचोटि एउटाले घमण्ड गर्‍यो, उसले लोप्पा खायो। अर्कोले फेरि घमण्ड गर्‍यो, उसले पनि लोप्पा खायो। अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ,’ उनले भने, ‘थाहा होला नि–पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे,  फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .