राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माइतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीको धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता समेत व्यक्त गरेको हो।
त्यस अवसरमा लिङ्देनले देशका लागि सुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशबासीलाई अपिल गरे।
अध्यक्ष लिङदेनले सो आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे। उनले सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्नेगरी आन्दोलनको आँधिबेहरी सिर्जना गर्न पनि सिंगो देशबासीलाई आग्रह गरे।
अध्यक्ष लिङदेनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए।
उनले भने, ‘सरकार पक्षका मानिसहरुले आएर केही भ्रमपूर्ण कुराहरु पनि गरेजस्तो मैले बुझ्न पाएँ। यो त संसदले गर्नुपर्ने हो। मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो। यो काम एउटा प्रधानमन्त्रीले आएर भन्यो भने पुग्छ। संसदमा लैजानुपर्ने विषयहरु छैनन् यसमा।’
अध्यक्ष लिङदेनले देशको भविष्य र सन्ततिको भविष्यका लागि एक वैज्ञानिक पुनले राखेको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिए।
त्यस अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गरे। उनले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफूहरुले सो आन्दोलन गर्नु परेको पनि पटकपटक दोहोर्याए।
केन्द्रका संस्थापक पुनको अगुवाईमा सुरु भएको सो आन्दोलनमा वरिष्ठ चिकित्सक गोविन्द केसीलगायतले पनि आजै ऐक्यवद्धता जनाएका छन्।
Shares

प्रतिक्रिया