ad ad

राजनीति


प्रतिनिधिसभाका १० भन्दा धेरै बैठकमा आएनन् यी पाँच सांसद, कारण स्वास्थ्य

एमाले सांसद कोइरीलाई लिएर संसदमा विरोध
प्रतिनिधिसभाका १० भन्दा धेरै बैठकमा आएनन् यी पाँच सांसद, कारण स्वास्थ्य

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १८:२, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका १० वटाभन्दा धेरै बैठकमा अनुपस्थित हुने सांसदहरुको विवरण सार्वजनिक गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले १० वा त्यसभन्दा बढी बैठकमा अनुपस्थित ५ सांसदको नाम सुनाएका हुन्। 

तर सभामुख सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा फरार नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई बिरामी बिदाको सूचीमा राख्दा संसदमा तनाव भएको छ। 

स्वास्थ्यमा समस्या रहेको भन्दै कोइरीले दिएको निवेदनअनुसार घिमिरेले उनको  नाम बिरामी बिदाको सूचीमा राख्न खोजेका थिए। तर अन्य दलका सांसदहरूले फरार सांसदलाई बिरामी भनिएको भन्दै आलोचना गरे। 

कोइरीलाई बिरामी सूचीमा राखेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सबैभन्दा पहिले विरोधमा उत्रिए। फरार सूचीकालाई बिरामी भनेर झूटो कुरा गर्न नहुने उनको तर्क थियो। 

कोइरीको बिदालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि विरोधमा उत्रिए।

कोइरीले यसअघि नै आफू उपचारका क्रममा रहेको भन्दै बिरामी बिदाको व्यवस्था गरिदिन भन्दै सभामुख घिमिरेकहाँ निवेदन दिएका थिए।

शुक्रबार रातिदेखि संसदको चालु अधिवेशन अन्त्य गरिने भएपछि सभामुख घिमिरेले १० भन्दाबढी बैठकमा लगातार अनुपस्थित सांसदको नाम पढेर बिदा स्वीकृत गराउन खोजेका थिए। 

लगातार १० बैठकमा अनुपस्थित हुनेमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् सांसद वर्षमान पुन रहेका छन्। 

उपमहासचिव वर्षमान पुन स्वास्थ्योपचार गराउन गत फागुन २ गते चीन गएका थिए। श्रीमती ओनसरी घर्तीसहित उपचारका लागि चीन गएका उनी अझै फर्किएका छैनन्। 

वंशाणुगत जण्डिसबाट पीडित पुन समस्या बढेपछि उपचारका लागि चीन गएका थिए। उनी त्यसयता अझै पनि चीनमै उपचाररत छन्। 

त्यसैगरी नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी पनि लगातार १० वटा बैठकमा अनुपस्थित छन्। 

घरमै ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते उनलाई गत फागुन ४ गते थप उपचारका लागि भारतको मुम्बई लगिएको थियो। उनी अहिले पनि मुम्बईमै उपचाररत छन्। 

त्यसैगरी कांग्रेस अन्य दुई सांसदहरू विनाकुमारी थनैत र मनोरमा शेरचन पनि स्वोस्थ्योपचारका क्रममा छन्। उनीहरु पनि बिरामी भएकैले बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिएका छन्। 

सभामुख घिमिरेका अनुसार मंसिर ४ गतेको आम निर्वाचनपछि पहिलो बैठक पुस २५ गते बसेको थियो। शुक्रबारसहित २८ वटा बैठक बसेका छन्।

को कति दिन अनुपस्थित?
मनोरमा शेरचन–२९ दिन (स्वास्थ्य समस्या)
बिना कुमारी थनैत–२६ दिन (स्वास्थ्य समस्या)
लक्ष्मी महत्तो कोइरी–२१ दिन (स्वास्थ्य समस्या)
चन्द्रकान्त भण्डारी–१८ दिन (स्वास्थ्य समस्या)
वर्षमान पुन–२६ दिन (स्वास्थ्य समस्या)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .