राजनीति


परिवर्तन उल्टाउन ठूलो षड्यन्त्र भयो, असफल पार्नुपर्छ: गृहमन्त्री श्रेष्ठ

परिवर्तन उल्टाउन ठूलो षड्यन्त्र भयो, असफल पार्नुपर्छ: गृहमन्त्री श्रेष्ठ

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १९:५, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको बताएका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताए।

पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरे।

उनले कुनै भ्रममा नपरी गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिए। 'नेपालमा राजनीतिक पार्टीले युगान्तकारी परिवर्तनका लागि संघर्ष गरेका छन्,' उनले भने, 'संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, यसलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ।'

वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्न भइरहेको प्रयत्नलाई समेत बदनाम गर्न खोजिएको उनको भनाइ थियो।

उनले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्नेतर्फ दलहरुले पनि समीक्षा गर्नुपर्ने बताए।

'जसले यो परिवर्तन ल्याए, व्यवस्था ल्याए, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अवस्थामा परिवर्तन ल्याउन आजसम्म के गरे, के गर्न सकेनन्? भन्ने समीक्षा गरी आवश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आवश्यकता पूरा गर्नेगरी, समृद्ध नेपाल बनाउने तर्फ हामी अगाडि बढ्नुपर्छ,', उनले भने।

उनले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्नेसमेत बताए।

यसैगरी उनले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपतबाट हुने क्षतिलाई न्यूनीकरण गर्न योजना निर्माण गरिरहेको पनि बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .