ad ad

राजनीति


कांग्रेस आमसभाको फरक दृश्य :  मनमा घण्टी, मुखमा गोविन्द

कांग्रेस आमसभाको फरक दृश्य :  मनमा घण्टी, मुखमा गोविन्द

वाशुदेव मिश्र
बैशाख ७, २०८० बिहिबार ९:५८, तनहुँ

बुधबार।
चिसो बन्दीपुरमुनि राजनीतिक गरमागरमीले तातेको डुम्रे बजार।

तापमान ३० डिग्री हाराहारी थियो। निर्माणाधीन मुग्लिन—पोखरा सडक खण्डबाट उडेको धूलोका कारण मुख नछोपी हिँड्न मुश्किल सडकमा ट्यांकरबाट पटक–पटक पानी छर्किए पनि त्यो पर्याप्त थिएन।

राजमार्गमुनिको सडकमा सजधजसहितको मञ्च तयार थियो। आउँदो वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गोविन्द भट्टराईको प्रतिवद्धतासहितको पोस्टर टाँसिएको मञ्चमा बुधबार प्रधानमन्त्री प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्री आउँदै थिए। 

त्यसैले त रुख र हँसिया हटौडाअंकित झण्डासहितका मान्छेहरूको चहलपहल पनि बाक्लै थियो, हरेक पाँच कदममा सुरक्षाकर्मी तैनाथ थिए। ब्यानरसहित आएका बसहरूलाई नजिकैको बसपार्कमा व्यवस्थापन गरिएको थियो। आमसभा दिउँसो सवा २ बजेदेखि सुरु भयो।

नेपाली कांग्रेस, माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीलगायत दलका शीर्ष नेताहरूले सभालाई पालैपालो सम्बोधन गरे। उनीहरूले १० दलीय गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको व्यक्तित्व र योजनाबारे कम र प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेविरुद्ध विषवमनमा बढी समय खर्चिए।

स्वर्णिमलाई अवसरवादी, माटोले नचिनेको जस्ता आरोप नेताहरूले लगाए। नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठले त एउटै मट्याङ्ग्राले दुई शिकार गरे। तनहुँ क्षेत्र नम्बर २ रामचन्द्र पौडेलको लागि छाडेर आफू बाराबाट चुनाव लडेको प्रसंग जोड्दै उनले भने, 'म कसैको पेलाइले बारा गएको हैन, डाक्टर साब, दाजुभाउजुको पेलाइले पार्टी छाडेको भन्नुभयो, अहिलेका दाइभाउजु रिसाए कहाँ जानुहुन्छ?'

नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्र पाण्डेले स्वर्णिमलाई चटकेको संज्ञा दिए। यसअघि स्वर्णिमको प्रशंसा गर्ने डाक्टर बाबुराम भट्टराईले पनि स्वर्णिम सम्मिलित दललाई ‘विद्रोहको कुरा गर्ने तर आगो झोस्ने नियतले पछाडिपट्टी डिजेलको ग्यालिन लिएर हिँडेको समूह' भएको आरोप लगाए। 

प्रधानमन्त्री प्रचण्डसहित तीनजना पूर्वप्रधानमन्त्री  र दर्जनभन्दा बढी नेताहरू सम्मिलित सभामा उपस्थित कार्यकर्ताको मुड भने फरक थियो। भानु ४ बाट चुनावी सभामा आएकी विना थापाले सुरुमा माटोले चिनेको गोविन्दलाई मत दिने बताइन्।

कुराकानीको क्रममा भने उनी खुल्दै गइन्। उनका एउटा छोरा इञ्जिनियरिङ पढाइ सकेर अष्टेलिया गएका रहेछन्। छोरी नेपालमै डिग्री पढ्दैछिन्। पढ्दै काम पनि गर्ने सोच बनाए पनि उनले जागिर पाएकी छैनन्। कान्छो छोरा पनि डिप्लोमा पढ्दै गरेको बताउँदै उनले भनिन्,‘देशमै रोजगारी भएको भए, मेरा छोराहरू किन विदेश जाँदा हुन्?’ उनले रोजगारी सिर्जना नहुनको दोष पुराना राजनीतिक दल भएको बताइन्।

‘मैले अक्षर चिनेको छैन, दुःख गरेर छोराछोरीलाई पढाएँ तर उनीहरूले जागिर पाएनन्। चुनाव जितेका नेताहरूले केही गरेनन्,हामीलाई परिवर्तन चाहिएको छ,’ उनले भनिन्।

उनीसँगै आमसभामा आएकी भानु ४ तिलाहारकी पुष्पा राना अगाडि सर्दै भनिन्,‘परिवर्तन खै त? परिवर्तन भनेको रोजगारी हो, देशमै रोजजारी भएको भए मैले श्रीमानलाई किन विदेश पठाउनुपर्थ्यो?’

उनले रवि लामिछानेले राम्रो काम गर्न खोजेको तर दलहरूले खुट्टा तानेको दाबी गरिन्।

राम्रो काम गर्नेलाई काम गर्न नदिएको गुनासो उनको थियो। पुष्पाले पनि समर्थनमा बोलेपछि विनाले छोराछोरीले नयाँलाई भोट हाल्न भनेकाले आफूले स्वर्णिमलाई नै भोट दिने बताइन्। उनले भनिन्, ‘पढेलेखेका(छोराछोरी)ले भनेको त मान्नुपर्‍यो नि, उनीहरूले कुरा बुझेका छन्, अक्षर चिनेका छन्।’

उनले छोराछोरीले रास्वपालाई मत दिनु भनेकाले घण्टीमै भोट हाल्ने बताइन्।

आमसभा कांग्रेसको, चासो घण्टीको

सोलुखुम्बुबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहेकी पूजा फुँयाल पनि चुनावी सभामा सहभागी थिइन्। कांग्रेसको १४ औँ महाधिवेशनमा देशकै कान्छी महाधिवेशन प्रतिनिधि बनेर चर्चामा आएकी पूजा तीन दिनदेखि प्रचारप्रसारका लागि तनहुँमा छिन्।

गोविन्दको प्रचारमा लागे पनि उनले रास्वपालाई नजरअन्दाज भने गर्न सकेकी थिइनन्।

आमसभामा नेताहरूले भाषण गर्दैगर्दा उनी मोबाइल स्क्रोल गर्दै थिइन्। एक ठाउँमा टक्क रोकिइन्, मोबाइलमा रवि लामिछानेको चितवनमा चलिरहेको भाषणको लाइभ आइरहेको थियो।

हामीले आमसभामा उल्लेख्य सहभागिता नहुनुको कारण सोध्यौँ। तर उनले कांग्रेसको माहोल तनहुँ १ मा राम्रो भएको बताइन्। उनले आमसभामा सहभागी कतिपय आफ्ना भोटर नभएको पनि स्वीकार गरिन्। युवाहरूको आकर्षण रास्वपाप्रति भएको स्वीकारोक्ति उनको थियो।

दमौली रानीगाउँकी कांग्रेस नेतृ शोम वडुको भनाइ भने फरक थियो। कांग्रेस दमौली नगर उपसभापतिसमेत रहेकी उनले कांग्रेसको मत नघटेको र गोविन्दले सहजै जित्ने बताइन्। ‘हिजो भोट नदिनेले अहिले पनि दिँदैनन् ,हामी ५ हजार मतले यत्तिकै अगाडि छौं, यो हल्लाले केही फरक पार्दैन,’ उनले भनिन्।

तर कांग्रेसको आमसभामा स्थानीयको सहभागिता कम थियो। हामीले यही प्रश्न उनलाई सोध्यौँ। उनले चैतेधान रोपाइँको बेला भएकाले उपस्थिति कम भए पनि भोट कांग्रेसलाई दिने उनले बताइन्।

शोभाको बुझाइजस्तो तनहुँका पाका नेता जनकराज भट्ट भने ढुक्क थिएनन्। पहिले तनहुँ १ को भानु चोकस्थित चिसापानीमा बस्ने उनी पछिल्लो समय लमजुङ राइनासमा बसाइँ सरेका छन्। उनका धेरै आफन्त तनहुँमै छन्।

कांग्रेस इकाइ सभापतिसमेत रहेका उनले आफन्तहरूबाट भोट आउने हो कि होइन भन्नेमा अन्योल रहेको बताए।

‘बर्बाद बनाएछन्,चोकतिर भोट त घण्टीमा हाल्नुपर्छ भनेर मेरै दिदीबहिनी र आफन्तलाई भड्काइसकेछन्, पढेको मान्छे घण्टीको उम्मेदवार छ भनेर हल्ला चलाएछन्,' उनले भने, 'घण्टी भन्दै हिँड्नेले बर्बाद पार्ने भए भन्ने फोन आउन थाल्यो। मैले फेरि दिदीबहिनीलाई सम्झाएर एक माहोल बनाएको छु, तर पनि सोचेजस्तो सहज अवस्था भने छैन।'

‍चुनावी सभामै भेटिएका दमौलीका रेशमलाल पौडेलले गोविन्दले चुनाव जित्ने आधार भएको बताए। भूगोल चिनेको र गाउँमै भिजेकाले स्थानीयले उनैलाई भोट दिने आकलन उनको थियो। 

‘उहाँको व्यक्तित्व शालीन छ, राजनीतिक इतिहास छ, बाहिरबाट आएकालाई यहाँकाले राम्रो त भन्लान् तर भोट दिँदैनन्,’ उनले भने। तर कांग्रेसकै भोटर रास्वपाप्रति आकर्षित भएको उनको भनाइबाट झल्किन्थ्यो। ‘एक-दुई ठाउँमा माहोल बिग्रिएको भए पनि अन्तिमसम्म मिल्छ,' उनले भने।

चुनाव आउन अब २ दिन बाँकी छ। चुनावी नतिजा कस्तो आउनेछ भन्ने त त्यो पर्खाइकै विषय हो। तर गठबन्धनको आमसभामा पनि रास्वपाप्रति आकर्षण भने कम थिएन।

तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ जना मतदाता छन्। निर्वाचन आयोगले ६९ वटा मतदान स्थलका १५२ मतदान केन्द्रबाट मतदानको तयारी गरिरहेको छ।

प्रतिस्पर्धामा रहेका ९ जना उम्मेदवार घरदैलोमा छन्। तर, चर्चा गोविन्दसँगै रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनालको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .