ad ad

राजनीति


शीतल निवास पसे लगत्तैदेखि राष्ट्रपति पौडेलको स्वास्थ्यमा कसरी आयो समस्या?

फोक्सोमा जमेको सबै पानी निकाल्न नसकिएपछि लगियो दिल्ली
शीतल निवास पसे लगत्तैदेखि राष्ट्रपति पौडेलको स्वास्थ्यमा कसरी आयो समस्या?

फाइल तस्बिर


समृद्धा केसी
बैशाख ६, २०८० बुधबार २१:४६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि बुधाबर भारतको दिल्ली लगिएको छ। 

१८ चैतमा पेटमा समस्या देखिएपछि पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षणमा भर्ना गरिएको थियो। त्यसबेला उनी पाँच दिन लामो उपचारपछि डिस्चार्ज भएका थिए। 

७९ वर्षीय राष्ट्रपति पौडेल औँलामा गन्न सकिने स्वस्थ नेतामध्ये एक हुन। तर गत मंसिर ४ को प्रतिनिधि सभा चुनावदेखि उनको स्वास्थ्यमा समस्या सुरु भयो। 

‘सम्माननीयज्यू बिरामी भइरहने मान्छे होइन। तर, मंसिरको चुनावमा एक्कासि बिरामी हुनुभयो। ज्वरो आउने, ढाड दुख्ने र श्वास फेर्न गाह्रो भयो। त्यसबेला केही दिनमै सन्चो हुनु भयो’ शीतल निवास स्रोतले भन्यो, ‘त्यसयता बिरामी हुनु भएको थिएन। तर शीतल निवास छिरेसँगै उहाँको स्वास्थ्यमा समस्या देखिन थाल्यो।’

राष्ट्रपति पौडेल यही सोमबार नियमित फलोअपका लागि त्रिवि शिक्षण अस्पताल गएका थिए। यस पटक फोक्सोमा जमेको ८० मिलिलिटर पानी निकालिएको उपचारमा संलग्न डाक्टरले बताए। 

‘एक्सरे गर्दा फोक्सोको तल्लो भागतर्फ पानी नसुकको देखिएपछि त्यति नै बेला सुईले तानेर पानी निकालिएको थियो’, उनले भने, ‘तर फोक्सोको सबै पानी निकाल्न सम्भव भएन।’

सोमबार फोक्सोबाट पानी निकालेपछि पनि पौडेलको समस्या बढ्यो। मंगलबार बिहान श्वास फेर्न गाह्रो भएपछि फेरि त्रिवि अस्पतालमा भर्ना गरियो। 

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगिँदै

सुईले निकाल्न नसकेर फोक्सोमा बाँकी रहेको पानीले संक्रमण फैलिएको अस्पतालले जनाएको छ। शिक्षण अस्पतालमा पाइप हालेर पानी निकाल्ने प्रविधि नभएकाले भारत लगिएको शीलत निकास स्रोतले जनाएको छ। 

समस्या बढ्दै गएपछि त्रिवि शिक्षण र दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूबीच परामर्श भएको थियो। दुई अस्पतालका चिकित्सकको छलफलले अवस्था गम्भीर बनेको निष्कर्ष निकालेपछि पौडेललाई उपचारका लागि दिल्ली लगिएको हो। 

त्रिवि शिक्षण अस्पतालले पौडेललाई दिल्ली लान उपयुक्त हुने राय दिएको थियो। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत चिकित्सकसँग परामर्श गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले आफ्नै पहलमा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली पठाएको बताएका छन्। 

नेपालमा स्वास्थ्य गम्भीर भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले पनि एक पटक सुविधासम्पन्न ठाउँमा लैजान भनेकाले राष्ट्रपतिलाई भारत पठाइएको दाहालले बताए। 

'राष्ट्रपति अस्वस्थ हुनु भएको हो तर अवस्था धेरै गम्भीर होइन। आजै बिहान पनि सुधार हुँदै थियो', उनले भने, 'तर डाक्टरहरुबाट राम्रो उपकरण भएको ठाउँमा जाँच्दा ठीक हुन्छ भन्ने सुझाव आयो।'

राष्ट्रपति पौडेलले पनि नेपालमै उपचार गरेर निको हुने इच्छा राखेको उनले सुनाए। 

'उहाँ (राष्ट्रपति) ले म यहीँ निको हुन्छु भन्नु भएको थियो', उनले भने, 'तर डाक्टरले जे भन्छन् मान्नुपर्छ भनेका थियौँ। छिट्टै उहाँ स्वास्थ्य लाभ गरेर आउनु हुन्छ।'

दुवै देशका चिकित्सक र प्रधानमन्त्री प्रचण्डको समेत परामर्शमा एम्स अस्पताल लगिएको हो। राष्ट्रपति पौडेलका प्रेस सचिव किरणकुमार पोखेलले दिल्लीमा पहिले पनि उपचार भएको चिकित्सकको सल्लाहमा त्यहीँ लगिएको बताएका छन्। 

अहिले पौडेलको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) को आइसीयूमा राखेर उपचार भइरहेको राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बलमे बताएका छन्। 

एम्समा भर्ना गरिएपछि त्यहाँका चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा गरिएको उपचार विधि पनि अध्ययन गरेका थिए। राष्ट्रपतिको स्वास्थ्य अवस्थाअनुसार त्रिवि शिक्षण अस्पतालको पनि उपचार विधि राम्रो रहेको एम्सका चिकित्सकहरुले बताएका छन्। 

दिल्ली जाने क्रममा विमानस्थलमा राष्ट्रपति
‘तपाईंहरुले गर्नुभएको उपचार विधि उत्कृष्ट थियो। हाम्रो अस्पतालको नियम र प्रोटोकलअनुसार हामी सबै कुराको परीक्षण आफ्नै ढंगले गर्छौँ। माइक्रो लेबलमा विश्लेषण गर्छौँ। २/३ दिनमा नर्मल बेडमा सार्न सकिन्छ’, एम्सका चिकित्सकको भनाइ उधृत गर्दै राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भने।

पौडेलको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ।

एक महिनापहिले नै थाहा भएपछि राष्ट्रपति पौडेलले त्यहीबेलादेखि फोक्सोमा जमेको पानी सुकाउने एन्टिबायोटिक खाइरहेका थिए। त्यो औषधिले पनि पौडेल निकै कमजोर भएका थिए। उनको तौल पनि अस्वभाविक घटेको थियो। 

करिब आठ वर्षअघि पौडेलको पाइलस र प्रोस्टेटको शल्यक्रिया एकै पटक गर्ने तयारी थियो। तर दुवै शल्यक्रिया एकै पटक गर्दा जोखिम हुने निष्कर्षसहित उनलाई एम्स नै लगिएको थियो।

त्यसपछि पौडेल समय समयमा फलोअपका लागि एम्समै जाने गरेका थिए। यस पटक पनि स्वास्थ्य गम्भीर बनेपछि परिवारको समेत सल्लाहमा उनलाई एम्स लगिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .