ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद : नेविसंघको निर्वाचित अध्यक्ष बने, कांग्रेसमा लोकप्रिय मत ल्याए

परराष्ट्रमन्त्री साउद : नेविसंघको निर्वाचित अध्यक्ष बने, कांग्रेसमा लोकप्रिय मत ल्याए

तस्बिर : सरोज बैजु/नेपालखबर


केशव सावद
बैशाख ३, २०८० आइतबार १५:५०, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतलनिवासमा पद तथा गोपनियताको शपथ खुवाएका छन्। 

कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी साउद यसअघि २०७० मा सिंचाईमन्त्री र २०५६ मा शिक्षा राज्यमन्त्री बनेका थिए। उनी २०५१ देखि नै संसदीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिन सुरु गरेका नेता हुन्। 

शिक्षा राज्यमन्त्री हुँदा उनले देशभरका सामुदायिक विद्यालयहरुमा सीटीईभीटी अन्तर्गत एनेक्स कार्यक्रम लागू गरेका थिए। २०७० मा सिचाईंमन्त्री हुँदा देशभरका किसानहरुलाई सहज सिंचाईको प्रबन्ध मिलाउन प्रयोग हुने डिप ट्युबवेल प्राप्त गर्नका लागि अनिवार्य रूपमा जग्गा प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान हटाएर भूमिहीन किसानका पक्षमा निर्णय गरेका थिए। 

साउदले २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा कञ्चनपुरबाट संसदीय निर्वाचनमा प्रतिष्पर्धा गरिसकेका छन्। २०५१ मा पहिलो पटक संसदीय निर्वाचनमा पराजय व्यहोरेका साउद २०५६ मा विजयी भएका थिए। 

२०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा दोस्रो पराजय भोगेका उनी २०७० मा सम्पन्न दोस्रो संविधानसभामा निर्वाचित भएका थिए। यस्तै २०७४ मा प्रतिनिधिसभा निर्वाचन हारेका साउद गत मंसिरमा सम्पन्न निर्वाचनमा कञ्चनपुर–२ बाट विजयी भएका हुन्। 

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै गर्दा उनले विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए। पञ्चायती शासन व्यवस्थामा विद्यार्थीहरुमाझ लोकप्रिय उनी बेलाबेला प्रहरीको पहिलो निशानामा पर्ने गर्थे। 

कञ्चनपुरमा दैनिकजसो पञ्चायती शासनविरुद्ध आन्दोलनहरु हुने गर्थे, ती आन्दोलनहरुको अग्रमोर्चामा हुन्थे साउद। त्यही दौरान उनी घर र विद्यालयमा कम अनि प्रहरी हिरासत र सडक आन्दोलनमा बढी भेटिन्थे। 

पञ्चायती शासनको आदेश बेवास्ता गर्दै कञ्चनपुरको विद्यार्थी आन्दोलनको अग्रमोर्चामा भेटिने साउद २०३६ सालमै महेन्द्रनगर माध्यामिक विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाइ सचिव भएका थिए। 

२०३६ सालमा पञ्चायती शासनले विद्यार्थी राजनीतिमाथि लगाएको प्रतिवन्ध हटाएपछि भएको स्ववियुको निर्वाचनमा उनी आईएस्सी पढ्दै गर्दा महेन्द्रनगरकै सिद्धनाथ विज्ञान क्याम्पसमा सचिवमा चुनिएका थिए। 

२०४१ सालमा नेविसंघको केन्द्रीय सदस्यमा चुनिएका उनी यसबीच पनि प्रजातन्त्र पुनस्र्थापनाका लागि भइरहेका विभिन्न आन्दोलनहरुको अग्रभागमै भेटिन्थे। २०४८ असोजमा सम्पन्न नेविसंघको छैटौं महाधिवेशनमा साउद २६ वर्षको उमेरमा अध्यक्षमा निर्वाचित भएका थिए। 

नेविसंघको इतिहासमा निर्वाचनमार्फत् चुनिएको साउद नेतृत्वको केन्द्रीय कार्यसमिति दोस्रो थियो। त्यसअघि पार्टी नेतृत्वले आफ्ना विश्वासपात्रलाई नेविसंघको अध्यक्ष बनाउने परम्परा थियो। 

नेविसंघ अध्यक्षको कार्यकाल सकिएपछि उनी पार्टी राजनीतिमा लागेका थिए। २०५९ शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित हुँदा उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य भएका थिए। 

कांग्रेस प्रजातन्त्रिकको ११औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद २०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा केन्द्रीय सदस्य थिए। एकीकरणपछिको १२औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। 

१३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य भएका साउदले १४औं महाधिवेशनमा महामन्त्रीमा दाबी गरेका थिए। तर, टिकट नपाएपछि उनी केन्द्रीय सदस्यमै उठेका थिए। 

साउद १४ औँ महाधिवेशनमा बीपीपुत्र डा. शशांक कोइरालापछि सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए। उनले २ हजार ९३७ मत पाएका थिए। 

कांग्रेसभित्रैका विभिन्न राजनीतिक विवाद समाधानका लागि मध्यस्थकर्ताको भूमिका खेल्ने साउदलाई कांग्रेसकै नेताहरुले कुशल संगठक र सहजकर्ताको रुपमा चित्रण गर्छन्। संगठनलाई भत्कन नदिन प्रयत्नरत साउदले देउवाका हरेक संकटमा काँध थाप्दै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .