ad ad

राजनीति


‘दुई करोड टेप प्रकरण’पछि रक्षात्मक बने रवि : लिँदैछन् अराजक अभिव्यक्तिको सहारा

‘दुई करोड टेप प्रकरण’पछि रक्षात्मक बने रवि : लिँदैछन् अराजक अभिव्यक्तिको सहारा

केशव सावद
चैत २९, २०७९ बुधबार १७:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्ना सांसदले ‘मन्त्री बन्न दुई करोड मागेको टेप प्रकरण’ पछि रक्षात्मक देखिएका छन्। समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडिओ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बाहिर ल्याइदिएपछि उनी रक्षात्मक देखिएका हुन्।
 

टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा पत्रकारभन्दा पनि प्रहरी, अदालत र न्यायाधीश बन्दै पत्रकारिताको मूल्यमान्यताविपरीत गतिविधि गर्दै भीडलाई भावनात्मक ‘ब्ल्याकमेलिङ’ गरेका लामिछाने अहिले चुनावी मैदानमा छन्। 

परम्परागत राजनीतिक दल र नेताहरुको चर्को आलोचना गर्दै राजनीतिक छलाङ लगाएका लामिछाने उनै पुराना राजनीतिक दलको खुट्टा समातेर सत्ता र शक्ति हातमा लिन गरेको प्रयास ताजै छ। 

उनले थिति बसाल्ने कुरा गरिरहँदा नागरिकता मुद्दामा अनुसन्धान गर्ने मुख्य जिम्मेवार निकाय गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै स्वार्थ बाझिने काम गरेको पनि बिर्सिए। आफू मन्त्री हुन नपाएपछि पार्टीको ‘पावर सेन्टर’ विभक्त हुने भन्दै अन्य मन्त्रीहरुलाई फिर्ता बोलाएको कुरा पनि अहिले सम्झिने मुडमा लामिछाने छैनन्।

यति मात्र नभएर सांसद पद गुमिसकेपछि गैरसांसदकै हैसियतमा ६ महिनाका लागि गृहमन्त्री बनाइदिन गरेको अनुनय–विनय पनि बिर्साउने प्रयास गरिरहेकै छन्। 

विगतमा जसलाई गाली गर्दै उनले राजनीतिक बाटो तय गरे, अहिले उनीहरुकै साथ खोजिरहेको पनि उनका गतिविधिहरुले देखाएको छ। मन्त्री बनाउन पैसा माग्न लगाएको अडिओ बाहिरिएपछि त लामिछाने अराजक अभिव्यक्ति दिइरहेका छन्। जसले उनको खस्किँदो राजनीतिक मनस्थितिलाई पनि झल्काउँछ। 

उक्त अडिओ कपुरबोट टीभी नामक युट्युब च्यानलमार्फत् सार्वजनिक भएपछि उनले नेपालको संविधानले नै बन्देज गरेको ‘नरबलि’ को सहारा लिएका छन्। ‘दुई करोड टेप प्रकरण’ ले संघीय राजधानीको राजनीतिक वातावरण गर्माएका बेला उनी उपनिर्वाचनको प्रचार–प्रसारका लागि बारा–२ मा थिए। 

‘हाम्रो पार्टीभित्र प्रश्न उठेपछि त्यो प्रश्नको निराकरण हुन्छ। यो ७२ घण्टाभित्र छानबिन रहुन्जेल उहाँ सांसदको रुपमा वा साधारण सदस्यको रुपमा हाम्रा सांसद डाक्टर ढाकाकुमार श्रेष्ठलाई हामीले कहीँ पनि पठाउने छैनौँ, कार्य गर्न दिने छैनौँ,’ उनले बारामा भनेका थिए, ‘र, मैले ७२ घण्टाको अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो, ७० घण्टा बाँकी छ। ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बलि दिनुहोला।’

सभापति लामिछानेले श्रेष्ठ र प्रसाईंबीच भएको भनिएको अडिओमा उल्लिखत पैसा माग्ने ‘कोर टिम’ बारे पनि बोल्न भ्याए। 

‘त्यो अडिओमा भनिएको छ मेरा वरपरका मान्छेहरुले मागेका रहेछन् भनेर। ती मेरा वरपरका माग्ने मान्छेहरु को रहेछन्?’ उत्तेजित हुँदै उनले भने, ‘तिनलाई तपाईंको आँगनमा, सडकमा घिसारेर ल्याउन सकिनछु भने फेरि पनि मलाई तपाईंले भनेको सजाय दिनुहोला ७० घण्टाभित्र। घडी हेर्नु होला कति बज्यो, गन्दै गर्नु होला। काउन्टडाउन बिगिन्स नाउ!’

सभापति लामिछानेले भनेको ७० घण्टा बितिसकेको छ। तर, उनले न त सांसद श्रेष्ठमाथि कारबाही गरेका छन् न ‘कोर टिम’ माथि नै कुनै कदम चालेका छन्। 

सभापति लामिछाने यतिबेला उल्टै अडिओ बाहिर ल्याइनुको कारणबारे प्रश्न उठाइरहेका छन्।

‘चुनावका मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको त्यो अडिओ रेकर्डिङ किन ल्याइयो थाहा छैन,’ चितवनको एक चुनावी सभामा उनले भनेका छन्, ‘तर, मेरो धन्यवाद छ। यो तीन महिनाअगाडि नै ल्याइदिएको भए मैले अर्कै मान्छेलाई सांसदको रुपमा राख्न सकिन्थ्यो, प्रमाणित भइदिएको भए।’ 

श्रेष्ठ–प्रसाईंबीचको अडिओ प्रकरणपछि उनी अत्तालिएका देखिन्छन्। उनले आफ्नो चुनावी माहोललाई बिग्रिन नदिने कुरालाई केन्द्रमा राखेर जतिसक्दो विषयान्तरको प्रयास गरिरहेका छन्। 

कुनै पनि व्यक्तिको अनुहारमा कालो पोत्ने काम पनि नेपालको कानुनले बर्जित गरेको छ। तर, उनले आफूलाई कालो पोत्न पनि अपिल गरेका छन्। उनले ‘दुई करोड टेप प्रकरण’ मा संलग्नता भए आफूले अनुहारमा कालो पोतेर हिँड्ने समेत भनिरहेका छन्। पार्टी सभापति भएकाले पार्टीका नेता–कार्यकर्ताहरुले गर्ने गल्तीको नैतिक जिम्मेवारी लामिछानेको हुन्छ नै।

तर, उनी उल्टै नाम पोल्दैमा आफू दोषी ठहरिने भए देशमा भएका सबैलाई फसाइदिने धम्की दिइरहेका छन्।

‘मेरो संलग्नता कहीँ छ भने म आफ्नै अनुहारमा कालो पोतेर हिँड्ने छु। यो अनुहार देखाउने छैन। निर्धक्क हुनुहोला। मैले बेइमानी गरेको छैन,’ लामिछानेको भनाइ छ, ‘मैले कसैसँग पनि कुनै किसिमका सम्झौता गरेको छैन। मेरो नाम लिएर कसैले भजाएछ भने त्यसको भार मेरो टाउकोले बोक्दैन। मेरो नाम लिँदैमा त्यो मैले खाएको हुने भए म यो देशमा भएभरका सबलाई फसाइदिन सक्छु।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी ‘दुई करोड टेप प्रकरण’ मा जोडिएपछि उनले आफूलाई पैसाको कमी नभएको अभिव्यक्ति पनि दिइरहेका छन्। विगतमा उनीमाथि टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा पैसा उठाएर अमेरिका पठाउने गरेको आरोप लाग्ने गरेको थियो। तर, अहिले भने लामिछानेले अमेरिकामा मासिक एक लाख डलरको जागिर छोडेर आफू नेपाल आएको भन्दै भ्रम फैलाइरहेका छन्। 

उनीमाथि उनकै सहकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दा लाग्दा पनि पैसाको लेनदेनमा कुरा नमिलेको आरोप लागेको थियो। लामिछाने अहिले मतदातामा भ्रम फैलाएर मन्त्री बन्न पैसा मागेको विषयलाई बंग्याउने प्रयास गरिरहेका छन्। 

‘मैले अमेरिकामा काम गर्दा हन्ड्रेड थाउजेन्ड, एक लाख डलर महिनाको आम्दानी गरेको काम छोडेको हो। अहिले निरन्तर लागेको भए यस्ता करोडकरोड भन्दा म आफ्नै आम्दानीले करोडौंमा त नभनौं अमेरिकामा रहेका नेपालीमध्ये टप फाइभ धनी मान्छेका रुपमा हुन्थेँ,’ सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा भाइरल भिडिओ क्लिपमा उनले भनेका छन्, ‘करोड–अर्ब मात्र होइन यो पृथ्वीभरिका सारा बैंकको सम्पत्ति खन्याए पनि मेरा लागि तुच्छ....।’

अहिले दुई वटा राहदानी एकसाथ प्रयोग गरेको विषयमा अदालतमा मुद्दा विचाराधीन छ। नेपालको कानुनले एकसाथ दुईवटा राहदानी राख्न वर्जित गरेको छ। तर, उनले भने आफूले दुरुपयोग नगरेको भन्दै पन्छिने गरेका छन्। 

खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाइसक्दा पनि उनी पुरानो नागरिकताको बचाउमै देखिन्छन्। 

‘तिनै कागजपत्रहरु हिजो मैले बस्ती बनाउँदा ठीक थिए। गरिबको बस्ती बनाउँदा तिनै कागज ठीक थिए। दुर्गममा अस्पताल बनाउँदा तिनै कागज ठीक भए। गरिबको आँसु पुछ्दा तिनै कागज ठीक थिए। चेलिबेटी उद्धार गरेर ल्याउँदा तिनै कागज थिए, सबै ठीक थिए। आपत परेको जनताको आवाज बोल्दा तिनै कागजपत्र सब ठीक थिए,’ लामिछाने भनिरहेका छन्, ‘तर, जब राजनीतिमा आउँछु र फोहोर सफा गर्छु भनेँ केही ठीक भएन, सबै खराब म भएँ। मानौँ यो देश मेरै कारणले बिग्रिएको छ, यसको सबैभन्दा ठूलो दुश्मन म नै रहेछु भन्ने जस्तो देखिएको छ।’

भ्रष्टाचारका पुराना फाइल खोल्न राजनीतिमा लागेको बताउने सभापति लामिछानेकै नागरिकता, राहदानीका ‘फाइल’ खुलेपछि आफूमाथि पीर–व्यथा आइपरेको भनेर समर्थन बटुल्न खोज्दैछन् उनी।

‘राजनीतिमा जान्छु। भ्रष्टाचारका पुराना फाइल खोल्छु। जनतालाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत कुराहरुमा काम गराउँछु। नीतिहरु बनाउँछु। थिति बसाल्छु। यो मुलुकलाई राम्रो केही गर्छु भनेर निस्किएँ,’ उनले चितवनको एक चुनावी सभामा भने, ‘त्यसपछि बाधा–अड्चन, पीर–व्यथाहरु सबै आए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .