ad ad

राजनीति


सांसद श्रेष्ठलाई कारबाहीबारे निर्णय लिन रास्वपा बैठक जारी

सांसद श्रेष्ठलाई कारबाहीबारे निर्णय लिन रास्वपा बैठक जारी

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०७९ बुधबार १६:४३, काठमाडौँ

झापाका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन वसुन्धरास्थित केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसिरहेको छ।

दिउँसो २ बजे बस्ने भनिएको बैठक सभापति रवि लामिछाने चितवनबाट आउन समय लागेपछि केहीबेरअघि सुरु भएको हो।

सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रचार प्रसारलाई स्थगित गरेर स्थलमार्गदेखि काठमाडौं आइपुगेका हुन्। 

उनी स्थलमार्गबाट काठमाडौं आइपुग्न ढिला भएपछि दिउँसो साढे ३ बजेदेखि बैठक बसेको हो। रकम मोलमोलाई प्रकरणमा श्रेष्ठले लिखित  स्पष्टीकरण र मौखिक बयान पनि दिइसकेका छन्।

डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचरण समितिले ढाकाको लिखित स्पष्टीकरण र मौखिक बयान पनि समावेश गरेर उनलाई कारबाही चलाउनुपर्ने सिफारिस सभापति लामिछानेसमक्ष गरिसकेको छ।

उक्त सिफारिसअनुसार श्रेष्ठमाथि कारबाही गर्ने नगर्ने निर्णय लिन अहिले रास्वपा बैठक बसिरहेको छ।

बैठक बस्नुअघि नै रास्वपा समानुपातिक सांसदसमेत रहेका ढाका पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन्। सुटमा सजिएर पुगेका उनी पत्रकारहरुमाझ मुस्कुराए तर केही बोलेनन्।

उनले पार्टी केन्द्रीय कमिटी बैठकअगाडि केही नबोल्ने बताएका छन्। पार्टीले आफ्नोबारेमा ठोस निर्णय लिइसकेपनि आफूले पनि मुख खोल्ने प्रतिक्रिया उनले दिएका छन्।

प्रसाईसँगको संवादको अडियो आफ्नो नभएको बताएका उनीमाथि रास्वपाले कारबाही गरी सांसद पद पनि खोस्न सक्ने सम्भावना छ। 

यदि आफूमाथि कारबाही हुने अवस्था आएमा प्रसाईसँगको लेनदेन प्रकरणमा जोडिएका कोर टिमका सदस्यहरुको सबै पोल खोलिदिने चेतावनी उनले दिएका छन्। 

ढाका पार्टी कार्यालयमा पुगेको केही बेरमा सभापति रवि पनि प्रवेश गरेसँगै बैठक सुरु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .