ad ad

राजनीति


बागी र कारबाहीमा परेकाहरुले सघाउने भएपछि उपनिर्वाचनमा चितवन कांग्रेस उत्साही

बागी र कारबाहीमा परेकाहरुले सघाउने भएपछि उपनिर्वाचनमा चितवन कांग्रेस उत्साही

केशव सावद
चैत २७, २०७९ सोमबार २०:२२, काठमाडौँ

पार्टी संरचनाभन्दा बाहिर रहेका नेताहरु उपनिर्वाचनको संघारमा उम्मेदवार जितनारायण श्रेष्ठको पक्षमा खुलेपछि नेपाली कांग्रेस चितवनमा उत्साह थपिएको छ। 

अघिल्लो निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिएका र ‘बागी’ उम्मेदवारको पक्षमा लागेपछि कारबाहीमा परेका नेताहरु स्वतःस्फूर्त रुपमा श्रेष्ठको पक्षमा खुल्न थालेका हुन्।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा विद्रोह गरेर चितवन–३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइराला र स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा ‘बागी’ उम्मेदवारी दिएका जगन्नाथ पौडेलको समर्थनमा लागेपछि कारबाहीमा परेका नेताहरु पार्टीले कारबाही फुकुवा नगरे पनि कांग्रेसको पक्षमा खुलेर लागेका छन्। 

भरतपुर महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई कांग्रेसले समर्थन गरेपछि पौडेलले बागी उम्मेदवारी दिँदा पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले साथ दिएका थिए। 

पौडेल ‘बागी’ उम्मेदवार बनेपछि सापकोटा, श्रेष्ठ र खरेल पार्टीको कारबाहीमा परेका थिए। यस्तै मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन–३ मा स्वतन्त्र उम्मेदवार बनेपछि केन्द्रीय कोइरालाले पनि कारबाही भोग्नु परेको थियो। 

कांग्रेसले चितवन–२ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि पूर्वसभापति श्रेष्ठलाई उम्मेदवार बनाएपछि निलम्बित केन्द्रीय सदस्य कोइरालासँगै सापकोटा, श्रेष्ठ र खरेलले संयुक्त वक्तव्य जारी गरेर कांग्रेसका लागि मत माग्न सुरु गरेका छन्। 

‘मुलुकका गम्भीर समस्याहरुको समाधानका लागि नेपाली कांग्रेसमा समग्र एकता हुन आवश्यक छ भने देशको समग्र नेतृत्व नेपाली कांग्रेसको हुन आवश्यक छ। नेपाली कांगे्रसलाई बलियो र सुदृढ बनाउनु आज देशको आवश्यकता हुन गएको छ,’ चार जनाको संयुक्त वक्तव्यमा भनिएको थियो, ‘कांग्रेसको हित सोची हिजो हाम्रो अभियानमा साथ दिनुहुने सबैमा हार्दिक धन्यवाद दिँदै नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारको विजयका लागि नेपाली कांग्रेसका समस्त कार्यकर्ता तथा शुभचिन्तकहरुलाई एकढिक्का बनेर लागिपर्न पनि आह्वान गर्दछौँ।’

उपनिर्वाचनको संघारमा पूर्वसभापति विकास कोइरालालाई केन्द्रीय कार्यसमितिले कारबाही फुकुवा गरेपछि चितवन कांग्रेस थप हौसिएको छ। उनलाई चैत १९ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो। 

उनले तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधान सभा चुनावमा विकासले बागी उम्मेदवारी दिएका थिए। सभापतिविरुद्ध बागी बनेपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै उनलाई कारबाही गरेको थियो। १२ औं महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित विकास २०६७–०६९ सम्म चितवन कांग्रेसको नेतृत्वमा थिए। 

लामो समय पार्टीमा योगदान पुर्याएका र विगतका निर्वाचनमा पार्टी संरचनाभन्दा बाहिर रहेका नेताहरुले सामूहिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएर चुनावी कार्यक्रमहरुमा सहभागी हुन थालेपछि परिस्थिति सकारात्मक बनेको कांग्रेस चितवनको भनाइ छ।  

‘विशिष्ट तहमा रहनुभएका र लामो योगदान पुर्याएका नेताहरु विगतका निर्वाचनमा पार्टीको संरचनाभन्दा बाहिर रहनुभएको थियो,’ कांग्रेस चितवनका सभापति राजेश्वर खनाल भन्छन्, ‘सबै जना अहिलेको अवस्थामा समेटिनुभएको छ। सामूहिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएर कोणसभामा सम्बोधन गरिसकेको अवस्थामा परिस्थिति अत्यन्तै सकारात्मक बन्दै गएको छ।’ 

जिल्लाको नेतृत्व गरिसकेका, केन्द्रीय सदस्य रहिसकेका, मन्त्री भइसकेका र समाजिक अभियानमा जोडिएका नेताहरु पार्टी संरचनाभन्दा बाहिर रहँदा विगतका निर्वाचनमा मतदातामा रहेको द्विविधा अहिले मेटिएको उनको दाबी छ।  

‘कतिपय साथीहरु बाहिर हुनुभएका कारण विगतमा मतदाताहरुमा द्विविधाको अवस्था थियो। अहिले त्यो हटेर गयो। एकढिक्का भएर अगाडि बढ्ने अवस्था सिर्जना भएको छ,’ खनाल भन्छन्, ‘चितवनको माटोसँग जोडिएको उम्मेदवार भएका कारण हामीलाई झनै सहज भएको छ।’

पाँचै जना नेताहरु पार्टीभन्दा बाहिर रहँदा विगतको निर्वाचनमा कांग्रेसले चितवनमा कठिनाइको सामना गर्नुपरेको उनले स्मरण गरे।

‘उहाँहरु बाहिर भएका कारणले अत्यत्नै कठिन थियो। पार्टीका साथी र मतदाताहरु विभाजित हुनुहुन्थ्यो,’ सभापति खनाल भन्छन्, ‘कतिपय साथीहरु भौतिक रुपमा उहाँहरुको अभियानमा जोडिन नसकेता पनि मत उहाँले भनेको ठाउँमा दिनेहरु हुनुहुन्थ्यो। जसले गर्दा हामीलाई अत्यन्तै अप्ठ्यारो थियो। अहिले त्यसका ठीक विपरीत अवस्था आएको छ।’ 

पूर्व जिल्ला सभापति सापकोटा पार्टीको अभियानमा जोडिएसँगै बाग्लुङ, म्याग्दी, पर्वतबाट बसाइँ सरेर चितवन–२ मा बसोबास गर्दै आएका मतदातामा राम्रो प्रभाव पर्ने स्थानीय नेताहरुको बुझाइ छ। 

‘कृष्णलाल सापकोटा संस्थापक नेताजस्तै हुनुहुन्छ। जिल्ला सभापति भएर काम गरिसक्नुभएको छ। बाग्लुङ, म्याग्दी, पर्वत कम्युनिटीमा राम्रो प्रभाव छ,’ एक नेता भन्छन्, ‘त्यो कम्युनिटीका अतिरिक्त हामी कांग्रेसका कार्यकर्ताहरु अधिकांशजसो उहाँकै उत्पादन भएका कारणले सार्थक सन्देश दिएको छ।’

ती नेता पूर्वमन्त्री श्रेष्ठका कारण भरतपुर महानगरको बजार क्षेत्रमा पार्टीका पक्षमा मतदाता आकर्षित गर्न सकिने बताउँछन्। 

‘भीमबहादुर (श्रेष्ठ) दाइ वामपन्थी राजनीतिबाट आफूलाई स्थापित गरेर अब अरु कुनै पार्टी विकल्पका रुपमा छैनन् भनेर कांग्रेसमा आउनुभएको छ,’ उनले भने, ‘बजार क्षेत्रमा रहनुभएको र नेवार कम्युनिटीको अत्यन्त अग्रज र सम्मानित व्यत्तित्व भएका कारण त्यस क्षेत्रलाई प्लस भएर जान्छ।’ 

महासमिति सदस्यबाट निलम्बित नेतृ खरेल समाजिक अभियन्ता भएकाले उनले कांग्रेसका लागि मत थप्नेमा कांग्रेसका नेताहरु ढुक्कजस्तै देखिन्छन्। पूर्वसभापति कोइराला आफूले माग गरेअनुसार कारबाही फुकुवा भएपछि पार्टीको अभियानमा जुटिसकेका छन्। 

‘विकास दाइले मागे अनुसार नै पार्टीले कारबाही फुकुवा गरेपछि उहाँ चुनावी अभियानमा जुटिसक्नुभयो,’ कांग्रेस चितवनका एक जिल्ला सदस्य भन्छन्, ‘चितवन कांग्रेस एक नाराका साथ एकढिक्का भएर अगाडि बढेको छ। जसका कारण कांग्रेसप्रति आकर्षण बढेको छ।’ 

पूर्वसभापति कोइरालामाथिको कारबाही फुकुवाले चितवन कांग्रेसमा थप उत्साह बढेको जिल्ला सभापति खनाल बताउँछन्। 

‘पूर्वसभापति कोइराला भिजन दिन सक्ने नेता हो। उहाँको संगठनमा छुट्टै खाले पहिचान रहेका कारणले गर्दा हामीमा उत्साह थपिनु स्वाभाविक हो,’ उनले भने, ‘यस्ता किसिमका व्यक्तिको आगमनले नेपाली कांग्रेसलाई मत थप्ने मात्रै होइन, चितवनमा छुट्टै किसिमको संरचना बनेर जान सक्ने पृथक र बलियो नेपाली कांग्रेस बन्न सक्ने अवस्था छ।’ 

सभापति खनाल जनतामा देखिएको उत्साहले निर्वाचन परिणाममुखी बनाउन सक्नेमा विश्वस्त देखिन्छन्।  

‘के कारणले गर्दा हामी चितवनमा उपनिर्वाचन लड्दै छौँ? यो हुनुको पछाडिको मुख्य कारण के हो? त्यसका बारेमा पनि मतदाता सचेत भइसकेका छन्,’ उनले भने, ‘तनहुँमा एउटा नेता राष्ट्रपति हुँदा र बारामा उपराष्ट्रपति हुँदा उपनिर्वाचन हुँदैछ। तर, चितवनको निर्वाचन त्योभन्दा फरक ढंगबाट गलत चरित्रका कारणले हुन लागेको छ। जनतामा देखिएको उत्साहले निर्वाचन परिणाममुखी बनाउन सक्छौँ भन्नेमा विशवस्त छौं।’ 

कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका  १, २, ३, ४, ५, ७, १०, ११, १२, २९ नम्बर वडाको भूगोल समेटेर चितवन निर्वाचन क्षेत्र नम्बर २ निर्धारण गरिएको छ। यहाँ कांग्रेसका तर्फबाट पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै एमालेका तर्फबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उम्मेदवारी दिएका छन्।  

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा ४९ हजार ३ सय मतका साथ लामिछाने विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता उमेश श्रेष्ठले १४ हजार ९८८ र एमाले नेता कृष्णभक्त श्रेष्ठले १४ हजार ६५२ मत पाएका थिए। तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन हुन गइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .