राजनीति


नेकपा-राजपा मिलनले प्रदेश २ मा तरंग, सरकार परिवर्तनकाे संकेत

नेकपा-राजपा मिलनले प्रदेश २ मा तरंग, सरकार परिवर्तनकाे संकेत

शैलेन्द्र महतो
पुस २१, २०७६ सोमबार ५:२५,

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा आइतबार अप्रत्यासित दृश्य देखियो। त्यो थियो- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी  (राजपा) नेपालको संयुक्त जुलुस। जुन जुलुस देख्नेलाई अचम्मित तुल्यायो। किनकि केही दिनअघिसम्म मधेसविरोधी पार्टी भन्दै नेकपाको नामसमेत सुन्न नचाहने राजपाका नेता-कार्यकर्ता उसैका नेता-कार्यकर्तासँग काँधमा काँध मिलाउँदै आफ्नो पार्टीको झण्डासहित जनकपुरमा नारा जुलुस गर्दै थिए।

सम्भवतः मधेसको इतिहासमै त्याे नेकपा र राजपाको पहिलो मिलन जुलुस थियो। आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि नेकपा र राजपाले २ बुँदे सहमति गरेका छन्। प्रदेश २ मा ४ पदका लागि हुने राष्ट्रियसभा चुनावका लागि यी दुई दलले २-२ पद भागबन्डा गरी तालमेल गरेका हुन्। त्यही सहमतिअनुसार उनीहरूले आइतबार संयुक्त रूपमा जुलुस प्रदर्शन गर्दै जनकपुरस्थित निर्वाचन कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका हुन्।

nekapa rakapa4

त्यति मात्र होइन, निर्वाचन कार्यालयमा नेकपा र राजपाका नेताहरूले सामूहिक फोटो सेसनसमेत गरे। उनीहरूबीच देखिएको यस्तो मिलनले यतिबेला प्रदेश २ को राजनीति तरंगित भएको छ। यसले प्रदेश २ सरकारलाई संकट पर्ने संकेत गरेको छ। अर्थात् सरकार राजपाको समर्थनमा रहेको समाजवादी पार्टीका नेता लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकार ढल्ने र नयाँ समिकरणमा सरकार बन्नसक्ने चर्चासमेत सुरु भएको छ।

उसो त गएको पुस २ गते नेकपा र राजपाले प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका लागि गरेको सहमतिदेखि नै लालबाबु राउत नेतृत्वको सरकार ढल्ने चर्चा सुरु भइसकेको हो। तर आगामी फागुन ३ गतेपछि प्रदेश २ सरकार ढल्ने र त्यसपछि राजपा नेपालको समर्थनमा नेकपाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई जनकपुरमा यी दुई दलको संयुक्त जुलुसले झनै प्रबल बनाएको हो।

केन्द्रीय सरकारको नेतृत्व गरिहेको नेकपाले दुईबुँदे सहमति गर्दै राजपा नेपालसँग नजिकिएपछि नैतिक दबाबमा परेको समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिसकेको छ। यसपछि प्रदेश २ मा पनि सत्ता घटक समाजवादी पार्टी र राजपा नेपालको सम्बन्ध चिसिँदै गएको छ।

तर राजपा नेपालका नेताहरू भने राष्ट्रियसभामा आफ्ना २ सिट बचाउन मात्र नेकपासँग सहमति गरेको तर्क गर्दै प्रदेश २ मा सरकार ढल्ने र नेकपा नेतृत्वमा बन्ने कुनै सम्भावना नरहेको दाबी गर्छन्। राजपा नेपाल प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले राष्ट्रियसभा चुनावका लागि मात्र नेकपासँग गठबन्धन गरेको दाबी गरे। तर थप केही बोलेनन्।

नेकपा र राजपाबीच भएको सहमतिको दोस्रो बुँदामा ‘दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामायिक विषयमा नियमित रूपमा छलफल गर्ने र सहकार्य प्रक्रियालाई अघि बढाउने’ उल्लेख हुनुले राजपाको आगामी मनसायबारे धेरै कुरा संकेत गर्छ।

यसै सन्दर्भमा राजनीतिक विश्लेषकहरूले मधेसको कोरस्थल जनकपुजस्तो ठाउँमा नेकपा र राजपाको संयुक्त जुलुस हुनुलाई अर्थपूर्ण ठानेका छन्। राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ एकअर्काको नामै सुन्न नचाहने दुई पार्टीले जनकपुरजस्तो ठाउँमा गरेको संयुक्त जुलुस प्रदेश २ सरकार परिवर्तनको संकेत मान्छन्।

‘जनकपुरमा सूर्य छाप र छाता छाप दुवै पार्टीको उत्साहजनक संयुक्त जुलुसले प्रदेश २ को सरकार परिवर्तनको संकेत गरेको छ। नेकपा र राजपा जुन दिशासमा अघि बढिरहेका छन्, त्यसले पनि प्रदेश २ मा सरकार परिवर्तनको सम्भावना प्रबल छ,’ उनले भने, ‘सुरुमा राजपा नेता राजेन्द्र महतो वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जति आक्रामक हुनुहुन्थ्यो, २०७४ को चुनावयता हुनुहुन्न। महतो धनुषा क्षेत्र नं ३ मा उम्मेदवारी दिएकै बेलादेखि ओलीप्रति नरम हुनुहुन्छ। जितेपछि राजपाले संघीय सरकारलाई समर्थन दियो। पछि समर्थन फिर्ता लियो। फेरि राजपाले २ बुँदे सहमति गरेर राष्ट्रियसभाको चुनावमा तालमेल गर्‍याे।’

लाभले थपे, ‘यति हुँदाहुँदै जनकपुरजस्तो ठाउँमा नेकपा र राजपा दुवै दलले संयुक्त जुलुस नै गर्‍यो। यी घटनाक्रमले राजपा पहिलेजस्तो रहेन। उसले सुरक्षित अवतरण खोजिरहेको छ। राजपाले पुनः २-३ बुँदे सहमति गरेर संघीय सकारमा जान सक्छ र प्रदेश २ मा पनि सरकार परिवर्तन हुन सक्छ भन्ने कुरा बुझ्न सकिन्छ।’

नेकपाका नेताहरू भने राजपा नेपाल केन्द्र सरकारमा सहभागी हुने र अगामी फागुनपछि प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार बन्ने कुरामा ढुक्क देखिन्छन्।

दुईबुँदे सहमतिपश्चात् नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले आगामी फागुन ३ गतेसम्म मुख्यमन्त्री लालबाबु राउतले नैतिकताका आधारमा राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गरेर सरकार ढाल्ने अभियव्यक्ति दिइरहेका छन्।  ‘राजनीतिमा कुनै पनि कुरा असम्भव भन्ने हुँदैन,’ उनले भने।

यता नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेल पनि राजपा नेपाल केन्द्रीय सरकारमा सहभागी हुनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘त्यसको असर स्वाभाविक रूपमा प्रदेश २ मा पनि पर्नेछ।’

संसदीय व्यवस्थामा चुनावमा मिलेर जानु भनेकै सरकारमा जान सक्ने एउटा संकेत भएको उनको तर्क छ।

‘प्रदेश २ को सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा छ। प्रदेश २ सरकारका गतिविधिप्रति हामी सन्तुष्ट छैनौं,’ उनी भन्छन्, ‘त्यसैले सरकार परिवर्तनको आवश्यकता पनि छ । यदि सरकार बन्यो भने नेकपाको नेतृत्वमा बन्ने सम्भावना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad