ad ad

राजनीति


ढाकाकुमार : एक्कासि उदय, एकाएक भिरको डिलतिर!

ढाकाकुमार : एक्कासि उदय, एकाएक भिरको डिलतिर!

वाशुदेव मिश्र
चैत २६, २०७९ आइतबार १५:४८, पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अस्तित्वमा आउनासाथ मेडिकल डाक्टर ढाकाकुमार श्रेष्ठले सक्रिय राजनीति रोजे।

गएको साउन ८ गते पोखरामा भएको स्वतन्त्र पार्टीको भेलाबाट ढाकाकुमार श्रेष्ठलाई अध्यक्ष बनाइयो।

केही समय पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका तथा पछिल्लो समय आफ्नै मेडिकल सञ्चालन गरिरहेका ढाकाकुमारलाई पोखराका अन्य जोसिला युवाहरुले साथ दिएका थिए।

नयाँ पार्टी चुनावी अभियानमा होमियो। ढाकासहितका युवाहरु प्रचारमा जुटे। मंसिर ४ को आम चुनावमा पार्टीले ढाकालाई जनजातितर्फबाट समानुपातिकको उम्मेदवार बनायो। दलिततर्फबाट कास्कीकै शिव नेपाली पनि समानुपातिक सांसदको लिस्टमा चढे। 

चुनावमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेभन्दा बढी सिट ल्यायो। एकाएक राष्ट्रिय पार्टीको रुपमा उदाएको रास्वपाबाट ढाकाकुमार र शिव नेपाली दुवै संघीय सांसद बने।

कतिसम्म भने, संघीय सांसद चुनिएपछि मात्र उनीहरु को हुन् भन्नेबारे पोखरामा सोधखोज सुरु भयो। त्यो उपक्रमले सांसदको लागोसहित माननीय हुँदा पनि दुवैलाई छाडेन।

‘उहाँहरुको सार्वजनिक परिचय थिएन, सांसदकै रुपमा कार्यक्रममा पुग्दा पनि हाम्रा माननीयहरुलाई अरु दलका माननीयहरुले नचिन्ने अवस्था पछिसम्मै कायम रह्यो,’रास्वपाका एक प्रदेशस्तरीय नेताले भनेका थिए,‘विद्युतीय छनोट प्रणाली भनेर समानुपातिकमा सांसद छान्दा उहाँहरु पर्नुभयो, हामी उहाँहरुलाई चिनाउँदै हिँड्ने अवस्थामा पुग्यौँ।’  

सांसद भएसँगै ढाकाकुमारको सक्रियता अझ बढ्यो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने रास्वपाको निर्णयसँगै उनले मन्त्रीमा आँखा लगाए।

रास्वपाले स्वास्थ्य मन्त्रालय लिने कुरा आउनासाथ त्यसमा दाबेदारी पेश गरे। आफू मेडिकल क्षेत्रबाट आएकाले दाबी स्वभाविक भएको उनले त्यतिबेला सार्वजनिक कार्यक्रमहरुमा बताउने गर्थे।

पछि पार्टीले उनलाई हैन, डा. तोसिमा कार्कीलाई स्वास्थ्यमन्त्री बनायो। ढाकाकुमार सांसदकै रुपमा रहीरहे। 

अहिले उनीमाथि मन्त्री बन्ने उपक्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको आरोप लागेको छ। रास्वपाले उनको सदस्यता निलम्बन गरेको छ। घटनाक्रम हेर्दा उनको जसरी उदय भयो, त्यसरी नै अवनति सुरु भएको आकलनलाई बल पुगेको छ। 

रास्वपा गण्डकीका एक नेता भन्छन्, ‘नयाँ पार्टीमा कहाँ कस्तो व्यक्ति आइपुग्छ भन्ने थाहा नहुनु स्वभाविक हो। तर ढाका दाइको अडियो प्रकरणले हामीलाई अप्ठेरोमा पारेको छ। यसको छानबिन हुन्छ।’ 

छानबिन त पार्टीले थालेको छ। तर, यो प्रकरणले ढाकाकुमारसँग जोडिएर यसअघि नै सार्वजनिक भएको सहकारी प्रकरणको पनि पुनः स्मरण थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .