ad ad

राजनीति


सीके राउतको त्रासले एक ठाउँमा उभिए महन्थ र उपेन्द्र

सीके राउतको त्रासले एक ठाउँमा उभिए महन्थ र उपेन्द्र

नेपालखबर
चैत २५, २०७९ शनिबार ७:२०, काठमाडौँ

बारा–२ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ। अध्यक्ष ठाकुरले बिहीबार (२३ चैत) पार्टीका मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनललाई पार्टीको तर्फबाट प्रतिनिधि तोक्दै यादवलाई जिताउने जिम्मेवारी सुम्पेका हुन्। 

जसपा र लोसपा वर्तमान सत्ता गठबन्धनमा आवद्ध छन्। आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको बताउँदै अध्यक्ष ठाकुरले जसपा अध्यक्ष यादव लगायत गठबन्धनमा सामेल अन्य दलहरुसँग समन्वय गर्न सोनललाई निर्देशन दिएका छन्। 

‘आगामी वैशाख १० गते बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा पार्टीले ५ दलीय गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गरेको सर्वविदितै छ,’ ठाकुरले सोनललाई पठाएको पत्रमा भनिएको छ, ‘यसै अनुरुप बारा क्षेत्र नं २ का उम्मेदवार जसपा नेपालका अध्यक्ष श्री उपेन्द्र यादवजी, गठबन्धनका दलहरु एवं लोसपा नेपालका जिल्ला तथा क्षेत्रका समस्त पार्टी पंक्तिसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सफल एवं परिणाममुखी बनाउने उदेश्यका साथ पार्टीको तर्फबाट तपाईं श्री जितेन्द्र सोनललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको जानकारी गराइन्छ।’ 

सत्ता गठबन्धनका कारण निकटता 
बारा–२ मा हुने उपनिर्वाचनमा लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि उम्मेदवारी दिने घोषणा गरेका थिए। तर, लोसपाले महतोलाई उम्मेदवारी दर्ताको स्वीकृति दिएन। एउटै गठबन्धनमा रहेको जसपाका अध्यक्ष यादवविरुद्ध उम्मेदवारी दिँदा अन्यथा अर्थ लाग्ने भन्दै लोसपाले महतोलाई उम्मेदवारी दर्ता गर्ने स्वीकृति नदिएको हो। 

२०७४ को आम निर्वाचनमा यी दुवै पार्टीले मधेशी गठबन्धन निर्माण गरी प्रतिस्पर्धा गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मधेशवादी दलहरुलाई विभाजन गर्न खोजेपछि दुवै दलबीच एकता नै हुन पुग्यो।

तर, नेतृत्वमा यादव र ठाकुरबीचको प्रतिद्वन्द्विताका कारण त्यो एकता लामो समय टिक्न सकेन। 

गत स्थानीय तह निर्वाचनमा जसपा र लोसपाले एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए। आम निर्वाचनमा पनि यी दलले फरक–फरक गठबन्धन रोजे। जसपाले एमालेसँग चुनावी तालमेल गर्यो, लोसपाले कांग्रेस–माओवादीसहितको गठबन्धन रोज्यो। 

निर्वाचनलगत्तै फेरि जसपा कांग्रेस–माओवादी गठबन्धनमा मिसिन आइपुग्यो। 

तर, पहिलो प्रधानमन्त्री को बन्ने भन्ने विषयलाई लिएर कांग्रेस–माओवादी गठबन्धन टुट्यो, एमाले–माओवादीसहितका दलहरुको गठबन्धन बन्यो। त्यसपछि यादव फेरि यही गठबन्धनमा सामेल हुन पुगे। 

लोसपाले भने कांग्रेससहितको गठबन्धन छाडेन। 

राष्ट्रपति निर्वाचनका बेला फेरि कांग्रेस–माओवादीसहितको गठबन्धन पुनर्जीवित भयो। माओवादी केन्द्रसँगै जसपा पनि यही गठबन्धनमा सामेल हुन आइपुग्यो। 

यसरी अनेक घुम्ती पार गर्दै जसपा र लोसपा यतिबेला एउटै गठबन्धनमा सामेल हुन आइपुगेका छन्। यही कारण लोसपाले जसपा अध्यक्ष यादवलाई उपनिर्वाचनमा सघाउने निर्णय गरेको छ जबकि यी दुई पक्षबीच मधेशको राजनीतिमा सहकार्यभन्दा प्रतिस्पर्धाको इतिहास लामो छ। 

जनमत पार्टी सिर्जित दबाब 
२०७४ बाहेक २०६४ यताका सबै निर्वाचनमा यादव नेतृत्वको दल र ठाकुर नेतृत्वको दलबीच प्रतिस्पर्धा हुँदै आएको छ। 

तर, यसपटकको उपनिर्वाचनमा बारा–२ मा लोसपाले जसपा अध्यक्ष यादवलाई सघाउने निर्णयमा पुग्नुको मुख्य कारण मधेश प्रदेशमा सीके राउतको जनमत पार्टीले यी दुवै दलमाथि सिर्जना गरेको दबाब हो। 

गत आम निर्वाचनमा समानुपातिकतर्फको मतपरिणामको दृष्टिले जनमत पार्टी सबैभन्दा ठूलो मधेशवादी दल बन्न सफल भयो। जसपा अध्यक्ष यादव समेत जनमत पार्टीका अध्यक्ष राउतसँग सप्तरी–२ मा पराजित हुन पुगे।

मधेश प्रदेशमा जनमत पार्टीको अप्रत्याशित उदय दुवै मधेशवादी पार्टीका लागि चुनौती बन्यो। यो नयाँ राजनीतिक माहोलसँगै पुराना मधेशवादी दल जसपा–लोसपा र नयाँ दल जनमत पार्टीबीच राजनीतिक पानी बाराबार सुरु भयो। 

जस्तोः एमाले–माओवादीसहितको गठबन्धनमा रहे पनि जसपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी थिएन। जबकि गत निर्वाचनमा जसपाले एमालेसँग तालमेल गरेको हो। जनमत पार्टी प्रचण्ड नेतृत्वको सरकारबाट अलग भएपछि भने दुवै दल सरकारमा सामेल हुन पुगेका छन्।

उपराष्ट्रपति निर्वाचनअघि जनमत अध्यक्ष राउतले जसपालाई एक्ल्याउन लोसपा सहितको मोर्चा बनाउन खोजेका थिए। यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत भएको थियो। तर, मतदानका बेला भने लोसपाले जसपा उम्मेदवार यादवको पक्षमा मतदान गर्यो। 

बारा–२ मा हुने उपनिर्वाचनमा जसपाले शिवचन्द्रप्रसाद कुशवाहालाई उम्मेदवार बनाएको छ, जो गत निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारका रुपमा निकटतम प्रतिद्वन्द्वी थिए। 

लोसपा स्रोतका भनाइमा उपनिर्वाचनमा जनमतका उम्मेदवार विजयी भए आफूमाथि समेत थप दबाब सिर्जना हुने भएकाले लोसपाले आफ्ना चिर प्रतिद्वन्द्वी जसपा अध्यक्ष यादवलाई यसपटक सघाउने निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .