ad ad

राजनीति


‘राजनीतिक विश्राम’ मा रहेका सिटौलाको के छ शक्तिमा फर्किने योजना?

‘राजनीतिक विश्राम’ मा रहेका सिटौलाको के छ शक्तिमा फर्किने योजना?

केशव सावद
चैत २४, २०७९ शुक्रबार २०:१५, काठमाडौँ

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाको ३ नम्बर निर्वाचन क्षेत्रमा चिरपरिचित प्रतिद्वन्द्वी राजेन्द्र लिङ्देनसँग दोस्रो पटक पराजित हुन पुगे। 

राजतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गणतन्त्रका हिमायती सिटौलालाई यसअघि २०७४ को निर्वाचनमा पनि पराजित गरेका थिए। 

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको साथ पाउँदै आएका ‘राजावादी’ लिङ्देनसँग उक्त निर्वाचनमा ‘गणतन्त्रवादी’ सिटौलाले झण्डै साढे १३ हजार र मंसिरको निर्वाचनमा ३ हजारभन्दा केही बढी मतले पराजय बेहोर्नुपर्यो। 

लगातार दुई पटक राप्रपा अध्यक्ष लिङ्देनसँग पराजय भोग्नु परेपछि कांग्रेस नेता सिटौला सार्वजनिक समारोहमा कतै पनि देखिएनन्। यद्यपि, उनी तत्कालीन सत्ता गठबन्धन र पुस १० पछि कांग्रेसका शीर्ष नेताहरुको छलफलमा भने सहभागी हुन्थे। 

फागुन २५ मा राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि भने उनी राजनीतिक वृत्तमा गुमनाम जस्तै छन्। कांग्रेसबाट राष्ट्रपतिमा आकांक्षा राखेर आफ्नो पक्षमा ‘माहोल’ बनाउने प्रयासले सार्थकता नपाएपछि सिटौला सार्वजनिक समारोहमा कतै पनि देखिएका छैनन्। 

तर, उनीनिकट पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य तारामान गुरुङ यसलाई ‘काकताली’ भन्न रुचाउँछन्। 

‘उहाँ कहिल्यै निराश नहुने नेता हो। बिरामी पनि हुनुहुन्थ्यो। काकताली मिलेको मात्र हो,’ उनले नेपालखबरसँग भने, ‘खै के मिल्यो भने झैँ शंका गर्ने ठाउँ मिलेको मात्र हो। उहाँ गुमनाम हुनुभएको होइन।’ 

निकटस्थहरुका अनुसार सिटौला यतिबेला ‘पोलिटिकल रेस्ट’ मा भएका कारण सार्वजनिक समारोहमा नदेखिएका हुन्। उनले मंसिर ४ को निर्वाचन प्रतिकूल बनेपछि यो सालका लागि ‘पोलिटिकल रेस्ट’ लिएको निकटस्थहरु बताउँछन्। 

‘कृष्ण दाइ पोलिटिकल रेस्टमा हुनुहुन्छ,’ नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वमहामन्त्री बलदेव तिमल्सिना भन्छन्, ‘त्यही भएर सार्वजनिक समारोहमा नदेखिनुभएको हो।’ 

सिटौला पार्टी र भ्रातृ संगठनहरुले आयोजना गर्ने सार्वजनिक समारोहमा नदेखिँदा कांग्रेसमा उनको शक्ति क्षयीकरण हुँदै गएको विश्लेषण पनि हुने गरेको छ। तर, उनको समूहमा रहेका नेताहरु यसको खण्डन गर्छन्। 

‘गुटको भेला गरेपछि शक्तिमा रहेको देखिने र नगरे नदेखिने हो भने त केही भन्नु छैन,’ सिटौला समूहमा रहेका एक नेता भन्छन्, ‘संसदीय चुनाव र संसदीय दलको चुनावको बीचमा हामीसँग उहाँले यो वर्ष पार्टीका कार्यक्रमहरुमा सहभागी हुन्नँ भन्नुभएको थियो।’

ती नेताले सार्वजनिक रुपमा देखिने गरी कार्यक्रमहरु नगरे पनि सिटौलाले ‘पोलिटिकल रेस्ट’ र ‘पोलिटिकल एक्सरसाइज’ एकसाथ गरिरहेको बताउँछन्। 

‘गुटको भेला नगरेको हो। तर, उहाँ अहिले झन धेरै साथीहरुसँग छलफल गर्दै आउनुभएको छ,’ उनले भने, ‘कृष्ण दाइको सबै कुरा देखिने गरी हुँदैन। पोलिटिकल रेस्ट र एक्सरसाइज सँगसँगै छ।’ 

सिटौला समूह निकट एक विद्यार्थी नेता पनि नेता सिटौला अहिले ‘राजनीतिक विश्राम’ लिएर बसेका बताउँछन्। ‘हामीले कार्यक्रमहरुमा आइदिन पर्यो भनेर दाइलाई आग्रह गरेका थियौं,’ उनले भने, ‘यो वर्ष मलाई नभन। एक्जाम दिन गएको थिएँ, फेल भएँ। जनताले नै रेस्ट गर् भनेका छन्। जितेकालाई बोलाउनू भन्नुभएको थियो।’ 

भित्रभित्रै निकटस्थको व्यवस्थापन
मंसिर ४ को निर्वाचनपछि सिटौला सार्वजनिक रुपमा गुमनाम जस्तै देखिए पनि आन्तरिक रुपमा आफूनिकटका नेता–कार्यकर्ताहरुको भने व्यवस्थापनमा लागेको देखिन्छन्। पछिल्लो समय उनी काठमाडौँ–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन प्रयासरत थिए।  

सिटौलाले सभापति शेरबहादुर देउवालाई भेटेरै पौडेललाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए। ‘पब्लिक इमेज’ भएका र दुवै महामन्त्रीले सिफारिस गरेकालाई मन्त्री बनाउँदा पार्टीले युवालाई अवसर दिएको सन्देश जाने भनेर उनले देउवासँग पौडेलका लागि ‘लबिइङ’ गरेका थिए।  

‘तनहुँमा टिकट दिनुभएन। काठमाडौँ आएर एमालेका वरिष्ठ नेतालाई हराउँदै सांसद बनेका छन्। जनमानसमा पनि राम्रो छ। फेरि महामन्त्रीहरुले सिफारिस नै गरेका छन्,’ सिटौलाले देउवासमक्ष राखेको कुरा उद्धृत गर्दै उनीनिकट नेता भन्छन्, ‘पार्टीले युवालाई अवसर दिएको देखिनुपर्छ। प्रदीपजस्ता नेतालाई रिवार्ड गर्नुपर्छ।’  

नेता सिटौलाले सभापति देउवासमक्ष पार्टीबारे चिन्ता व्यक्त गर्दै पार्टीको भविष्यका लागि पनि युवा पुस्ता नेतृत्वमा आउनुपर्नेमा जोड दिएका ती नेताको भनाइ छ। 

‘म त सानै ठाउँबाट संगठन गरेर दुःख गरेर आएको मान्छे, मलाई त पार्टीको चिन्ता छ,’ सिटौलानिकट स्रोतले देउवासँगको कुराकानीबारे जानकारी दिँदै भन्यो, ‘पार्टीको भविष्यका लागि यस्ता मान्छे नेतृत्वमा आउनुपर्छ। प्रदीपजस्ता युवालाई अघि सार्दा पार्टीलाई नै फाइदा गर्छ। तपाईंले उनलाई मन्त्री किन बनाउनुहुन्न?’ 

सिटौलाले त्यसअघि गृहप्रदेश कोशी (तत्कालीन प्रदेश नम्बर १) मा कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकमा आफूनिकट नेतालाई बनाएका थिए। उनले पार्टीको प्रदेश कार्यसमिति सभापतिसमेत रहेका प्रदेशसभा सदस्य उद्धव थापालाई दलको नेता र प्रदेश महासचिव रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईलाई प्रमुख सचेतक बनाएका थिए। 

सिटौलाले केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेलाई बागमती प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा व्यवस्थापन गरेका छन्। उनी गण्डकी प्रदेशमा अब बन्ने कांग्रेस नेतृत्वको सरकारमा आफूनिकट प्रदेशसभा सदस्य जित शेरचनलाई मन्त्री बनाउने तयारी गरिरहेका छन्। 

उनले भ्रातृ संगठनमा रहेका आफूनिकटका कार्यकर्ताहरुलाई आफैँ ‘स्पेस’ बनाउन भनेका छन्। ‘आफ्नो तरिकाले एक्टिभिटीहरु बढाऊ। संगठनहरुमा स्पेस बनाऊ,’ सिटौलाको भनाइ उद्धृत गर्दै नेविसंघको राजनीतिबाट पार्टीको राजनीतिमा लागेका एक युवा भन्छन्, ‘तिमीहरुले स्पेस बनाइसकेपछि भाग माग्ने ठाउँमा हामीले कुरा गर्ने हो।’ 

नयाँ वर्षदेखि राजनीतिक सक्रियता
सिटौलानिकट नेता–कार्यकर्ताहरु नयाँ वर्षबाट उनको राजनीतिक सक्रियता बढ्ने बताउँछन्। उनी आफूनिकटका नेता–कार्यकर्ताहरुसँग नयाँ वर्षमा राजनीतिको नयाँ स्वरुप बन्ने र राजनीतिक सक्रियता बढाउने बताउने गर्दछन्। 

पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि नयाँ वर्षबाट सिटौलाको सक्रियता बढ्ने बताउँछन्। ‘नयाँ वर्षपछि बोल्छु। हिँड्छु भन्नुभएको छ,’ उनले नेपालखबरसँग भने। 

नेता सिटौला सधैँ पार्टीलाई मजबुत र एकजुट बनाउने विषयमा चिन्तित रहने गरेको केन्द्रीय सदस्य गुरुङ बताउँछन्। 

‘उहाँ देशभर पार्टीलाई कसरी मजबुत र एकजुट बनाएर लैजाने भन्ने बारेमा सधैँ चिन्तित हुनुहुन्छ,’ उनले भने, ‘यसमा सबैले चिन्तित हुनपर्छ।’ 

संसदीय निर्वाचनमा पराजित हुँदैमा सिटौला गुमनाम बस्ने नेतामा नपर्ने गुरुङको भनाइ छ। नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिलाएर गुमाएको सत्तामा पार्टीलाई पुर्याउने नेतालाई गुमनाम भन्न नमिल्ने उनको जिकिर छ।  

‘गिरिजाबाबु र सुशील कोइरालालाई सफल बनाउने नेता हो। जंगलमा बसेका माओवादीलाई सहर भित्र्याउनेदेखि अन्तराष्ट्रिय जगतलाई मिलाउने पनि उहाँ नै हो,’ गुरुङ भन्छन्, ‘एमालेको सहयोगमा प्रधानमन्त्री हुँदा प्रचण्डजीलाई पार्टीले विश्वासको मत दिनु पर्छ भनेर पार्टीमा लबिइङ गर्नुभयो। त्यसपछि के भयो थाहै होला। कसरी गुमनाम भन्न मिल्छ?’   

कांग्रेसको १३ औँ महाधिवेशनमा देउवालाई सघाएका सिटौलाले १४ औँ महाधिवेशनमा पनि साथ दिएका थिए। उनले १४ औँ महाधिवेशनमा देउवालाई साथ दिँदै युवा नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएर आफू उम्मेदवार बनेका थिएनन्। 

१३ औँ महाधिवेशनमा देउवा र रामचन्द्र पौडेलसँग सभापति भिडेका सिटौलाले दोस्रो चरणमा निर्णायक भूमिका खेलेका थिए। सभापतिमा सिटौला प्रतिस्पर्धामा उठेकै कारण पहिलो चरणमा कसैले पनि बहुमत हासिल गरेका थिएनन्। 

कांग्रेस केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री उमाकान्त चौधरी, प्रदीप पौडेल, केशवकुमार बुढाथोकी, तारामान गुरुङ, कुन्दनराज काफ्ले, रुपा विक, सुशीला थिङ, सुशीला शर्मा ढकाल, धना खतिवडा, गोमा भट्टराई, भीम पराजुली नेता सिटौला निकट मानिन्छन्। १४ औँ महाधिवेशनमा उम्मेदवार नबनेका सिटौलालाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .