जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपालमा बसेर चीन बिरुद्ध साइबर अपराधमा संलग्न १ सय २२ जना चिनियाँ नागरिकलाई जनही १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले आईतबार अभद्र ब्यवहार मुद्दामा उनीहरुलाई जरिवाना भराउने फैसला गरेको हो। अभद्र ब्यवहारको मुद्दाको न्यायीक अधिकार जिल्ला प्रशासन कार्यालयलाई हुन्छ।
प्रमुख जिल्ला अधिकारी दाहालले नेपालखबरसँगको कुराकानीमा अभद्र ब्यवहारको आरोप पुष्टि भएकाले जरिवाना भराउने फैसला गरेको बताए। उनले प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजनपछि आफुलै अन्तिम फैसला गरेको बताए।
अभद्र ब्यवहारको अभियोग अन्तिम किनारा लागेसँगै उनीहरुलाई अब अध्यागमन कसुर अनुसारको कारबाही प्रक्रियामा लैजाने तयारी प्रहरीले गरिरहेको छ।
काठमाडाैं प्रहरीका प्रवक्ता डीएसपी हाेविन्द्र बाेगटीले हिरासतमा रहेका एक सय २२ जनालाई अध्यागमन विभागमा बुझाउने तयारी भइरहेकाे बताए। उनका अनुसार अभद्र ब्यवहार मुद्दा किनारा लागेसँगै उनीहरुलाई आजै अध्यागमन विभागकाे जिम्मा लगाउन लागिएकाे छ।
प्रहरीले काठमाडौँका मनमैंजु, बाँसबारी र बुढानिलकण्ठबाट पक्राउ परेका चिनियाँ नागरिकमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सकेर मुद्दा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासनमा बुझाएको थियो। उनीहरुलाई प्रहरीले यही पुस ७ गते पक्राउ गरेको थियो।
याे पनि : साइबर अपराधी पक्रन चीनका गृह-निर्देशक नै काठमाडौंमा
कम्बोडिया, भियतनामबाट फुत्केर नेपाल आएका थिए साइबर अपराधमा पक्राउ परेका चिनियाँ

प्रतिक्रिया