स्वतन्त्र उम्मेदवारी दिएपछि कारबाहीमा परेका चितवनका नेता दिनेश कोइरालाले चितवन–२ का नागरिकलाई नेपाली कांग्रेसको पक्षमा उभिन आग्रह गरेका छन्।
उपनिर्वाचनका लागि मनोनयन दर्ता हुने दिन सोमबार वक्तव्य जारी गरेर उनले चितवन–२ का नागरिकलाई कांग्रेसको पक्षमा उभिन आग्रह गरेका हुन्।
‘आज उम्मेदवारी दर्ता हुँदैछ। आजैबाट नेपाली कांग्रेस र रुखको पक्षमा आम नागरिकले उभिन आवश्यक छ,’ कोइरालाले वक्तव्यमा लेखेका छन्, ‘देश सञ्चालन आवेगले होइन विवेकले गर्ने हो, जनताले अब उत्तेजना र तिलस्मी कुराको पछाडि लाग्न हुँदैन।’
चितवन–२ का आम नागरिकले विवेक र बुद्धिमताको पक्षमा जनता उभिनुपर्नेमा जोड दिँदै उनले सबैबाट यही अपेक्षा गरेको पनि उल्लेख गरेका छन्।
नेपाली जनता प्रयोगशालामा परीक्षण गरिने ‘गिनी पिग’ नभएको जिकिर गर्दै कोइरालाले जनतालाई ‘गिनी पिग’ जसरी प्रयोग गर्न नहुनेमा जोड दिएका छन्।
‘जनताले पनि हामी गिनी पिग होइनौं भनेर प्रमाणित गर्नुपरेको छ,’ उनले भनेका छन्, ‘त्यसैले पौने शदीदेखि देशको वैचारिक नेतृत्व गर्दै आएको नेपाली कांग्रेसको रुख चिन्हमा जनमत प्रस्तुत हुन आवश्यक छ।’
कोइरालाले मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएपछि केन्द्रीय सदस्य रहेका उनलाई कांग्रेसले कारबाही गरेको थियो।
Shares
प्रतिक्रिया